२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कोरोना महामारीका कारण वैदेशिक लगानीका अधिकांश सडक योजना ठप्प



काठमाडौं । कोभिड–१९ र सरकारले जारी राखेको बन्दाबन्दीका कारण वैदेशिक लगानीका अधिकांश सडक योजना ठप्प बनेका छन् ।

वैदेशिक लगानी र निर्माणको जिम्मेवारी विदेशी कम्पनीलाई नै दिइएको योजनामा कम्पनीका अधिकांश कर्मचारी आआफ्नो देश फर्किएकाले निर्माण ठप्प बनेको हो । गत चैतको पहिलो साता रोकिएका योजना तत्काल सञ्चालन गर्ने अवस्था नरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । सरकारले तत्काल अन्तरराष्ट्रिय उडान खुलाउने अवस्था नभएकाले आफ्नो देश फर्किएकाहरु नेपाल आउन नसक्ने महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो ।

त्यसो त नेपालमा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले उनीहरु आफैँ पनि निर्माणका लागि नेपाल नआउन सक्छन् । उहाले भन्नुभयो, ‘सङ्क्रमण कम भएर अवस्था सामान्य नहुँदासम्म काम शुरु नहुन सक्छ ।’ हाल नेपालमा वैदेशिक सहयोगमा कतिपय योजना निर्माणाधीन छन् भने कतिपय अध्ययनका क्रममा र कति अध्ययन सकिएर ठेक्का प्रक्रियामा जाने अवस्थामा छन् ।

सबै अवस्थामा रहेका योजनामा बन्दाबन्दीको प्रभाव परेको छ । नागढुङ्गा सुरुङमार्ग, नौबिसे–नागढुङ्गा सडक विस्तार, काठमाडौं चक्रपथ सडक विस्तार (कलङ्की–चाबहिल खण्ड), स्याफ्रुबेंसी सडकलगायतका योजना बन्दाबन्दी कारण प्रभावित बनेका हुन् । सरकारले गत चैत ११ मा बन्दाबन्दी घोषणा गरेसँगै देशभरका अधिकांश सडक योजनासहितका वैदेशिक सडक योजनाको पनि निर्माण रोकिएको थियो ।

सरकारले अन्तरराष्ट्रिय उडान बन्द गर्नु पहिले निर्माणस्थलमा रहेका विदेशी आआफ्नो देश फर्किएको प्रमुख थापाले बताउनुभयो । उहाले भन्नुभयो, ‘यहाँ भएका कम्पनीले पनि काम शुरु गर्न सकिरहेका छैनन् ।’ बन्दाबन्दीको कही सातापछि सरकारले कृषि, उद्योगसँगै विकास निर्माणलाई निरन्तरता दिने निर्णय गरेको थियो । सम्बन्धित जिल्ला प्रशासनसँगको समन्वयमा निर्माण शुरु गरिए पनि विरोधका कारण निरन्तरता दिन नसकिएको उहाले बताउनुभयो ।

बन्दाबन्दीसँगै निर्माण कम्पनीले स्थानीय कामदारलाई सम्बन्धित जिल्लामा पुर्‍याएको थियो । बन्दाबन्दीमै सरकारले निर्माण जारी राख्ने निर्णयसँगै उनीहरुलाई निर्माणस्थलमा फर्काइएको प्रमुख थापाले बताउनुभयो । कामदारको आरडिटी विधिबाट कोभिड–१९ परीक्षण भए पनि स्थानीय तहले निर्माण जारी राख्दा सङ्क्रमण फैलने भन्दै त्यसको विरोध गरेका थिए । उहाले भन्नुभयो, ‘स्थानीय तह र स्थानीयवासीले हुँदैन भनेकाले काम शुरु गर्न सकिएको छैन ।’

चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरेको चीन सरकारले दोस्रो खण्ड बिस्तारका लागि अध्ययन गरिसकेको छ । पहिलो खण्डमा संरचना हटाउँदै निर्माण अघि बढाउँदा समयभन्दा केही ढिलाई भएको थियो । दोस्रो खण्डमा भने सरकारले सडक निर्माणस्थल खाली गरेपछि मात्रै निर्माण शुरु गर्ने चिनियाँ पक्षसँग सहमति भएको थियो । सरकारले निर्माणस्थल खाली गरेर चिनियाँ पक्षलाई हस्तान्तरण गरेभन्दा पहिले नै कोभिड–१९ को त्रासका कारण उनीहरु चीन फर्किएका थिए ।

आगामी आवमा सो सडकमा चिनियाँ पक्षले काम शुरु गर्ने उहाको भनाइ छ । उहाले भन्नुभयो, ‘सामान्य अवस्था भएपछि उनीहरु आएर काम शुरु गर्नेछन् ।’ जापान सरकारको सहयोगमा निर्माण शुरु भएका र अध्ययन भइरहेका योजना पनि अघि बढेका छैनन् । काठमाडौ‌ उपत्यकाको सबैभन्दा बढी जाम हुने जडिबुटीमा फ्लाई ओभर वा सुरुङमार्ग निर्माणका लागि जापान सहयोग नियोग (जाइका) ले अध्ययन गरिरहेको थियो ।

त्यस्तै तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जाइकासँग सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागिसमेत सरकारसँग छलफल भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं भित्रने मुख्य नाका नागढुङ्गाको सडक चापको समस्या समाधानको उपायका रुपमा अघि बढाइएको नागढुङ्गा सुरुङमार्ग निर्माण पनि अहिले ठप्प छ । जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माणाधीन सो सुरुङमार्ग निर्माण शुरु भएको केही महिनामा नै रोकिएको छ । अहिले पनि थोरै व्यक्ति त्यहाँ कार्यरत रहेका प्रमुख थापाले बताउनुभयो ।

विश्व बैंकको सहयोगमा नौबिसे–नागढुङ्गा सडक विस्तारका लागि अध्ययन भइसकेको छ । उहाले भन्नुभयो, ‘यो सडकमा आगामी आवमा ठेक्का सम्झौता भएर काम अघि बढाइनेछ ।’ सरकारले निर्माण गरिरहेका सडकमा समेत बन्दाबन्दीको प्रभाव परेको छ । सङ्घीय सरकारले निर्माण गरिरहेका अधिकांश सडक र पुल निर्माण अपेक्षानुसार अघि नबढेको सडक विभागले जनाएको छ ।

हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तर–दक्षिण करिडोरलगायतका राष्ट्रिय गौरवका आयोजनामा निर्माण जारी राख्ने सरकारले निर्णय गरे पनि थोरै स्थानमा मात्रै निर्माण शुरु गरिएको आयोजना निर्देशनालयले जनाएका छन् ।

सरकारको आर्थिक सर्वेक्षणअनुसार सङ्घीय सरकारले गत फागुनसम्ममा ५५९ किमी सडक कालोपत्र, ६५७ किमी ग्राभेल र २५२ किमी कच्ची सडकको निर्माण गरेको छ । चालू आवको गत फागुनसम्ममा नै १५७ किमी सडक आवधिक मर्मत भएको थियो । रासस

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : १२ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा