२० मंसिर २०८२, शनिबार | December 6, 2025

सहिदको चिहानमा आफन्त पुग्दा…….



बागलुङ । सबराज छन्त्याल ३९ वर्षका भए । एक्काइस वर्ष पहिले छन्त्यालका बुवा टीका पनि ३९ वर्षकै थिए । जनयुद्धको रापताप चलेको थियो । देशमा सङ्कटकाल घोषणा भयो । यो विसं २०५८ फागुन आखिरीतिरको कुरा हो ।

युद्धरत माओवादीलाई आश्रय दिएको आरोपमा सरकारी सुरक्षा फौजले बागलुङको देवीस्थानका टीकासहित रोशनध्वज मल्ल र डोरबहादुर छन्त्याललाई नियन्त्रणमा लियो । साता दिन यातना शिविरमा राखेपछि सुरक्षाकर्मीले उनीहरूलाई चैत १ गते हेलिकोप्टरबाट ताराखोला पु¥याए ।

अहिलेको ताराखोला गाउँपालिका–२ अर्गल, गयार भन्ने ठाउँमा तीनै जनाको सामूहिक हत्या गरेर एकै चिहानमा गाडे । उक्त आतातयी घटना भएको २१ वर्षपछि बुवाको चिहान खोज्दै सबराज र उनका भाइ भीषण बुधबार अर्गल पुगेका थिए।

रोशनध्वजकी धर्मपत्नी गौमला, छोराहरु गामु, सुगम, डोरबहादुरकी धर्मपत्नी फूलमाया र छोरी सपना पनि सँगसँगै गएका थिए । घटना भएकै दिन पारेर उनीहरु निसीखोलाको देवीस्थानदेखि ताराखोलाको अर्गल पुगेका हुन् ।

“घटना भएकै ठाउँमा सानो शोकसभा ग¥यौँ, बुवाको स्मृतिमा धुपबत्ती बाल्यौँ”, सबराजले भने, “सहिद परिवारका हिसाबले पहिलोपटक त्यहाँ पुग्दा हामी सबै भावुक पनि भयौँ, नरमाइलो अनुभूति पनि भयो ।” परिवारजनले सहिदको चिहान भएको ठाउँमा पहिलेदेखि नै जाने इच्छा देखाएका थिए ।

यसपालि बेला जु¥यो । वार्षिक पुण्यतिथि पारेर उनीहरू गयार पुगे । निरापराध मारिएका आफ्ना प्रियजनको चिहान छेउ उभिएर मौनधारण गरे, सहिदको सम्मानमा श्रद्धाका फूल चढाए र पार्टीको झण्डा गाडे । सहिदको स्मृतिलाई चीरस्थायी बनाउन गयारमा केही गर्ने सङ्कल्प पनि लिए ।

“परिवारजनका तर्फबाट त्यहाँ स्मृति स्तम्भ या अरु कुनै संरचना बनाउने सोच बनाएका छौँ”, सबराजले भने, “गाउँपालिकाले पनि गयारमै सहिद उद्यान बनाउन थालेको रहेछ, त्यो सुखद् कुरा हो ।” उनले युद्धमा आफन्त गुमाएका परिवारले न्याय र उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरे ।

गाउँकै मान्छेले माओवादीका सुराकी भनेर गलत सूचना दिएपछि रोशनध्वज, टीका र डोरबहादुर सुरक्षाकर्मीको निशानामा परेका थिए । माओवादीको सहयोगी बनेको आरोपमा ज्यानै गुमाउन पुगेका उनीहरू खासमा भने राष्ट्रिय जनमोर्चामा आबद्ध थिए ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेलले रोशनध्वज तत्कालीन जिल्ला सदस्य र अन्य दुई सक्रिय कार्यकर्ता रहेको बताए । “माओवादीलाई खाना, बास दिएको भन्ने शङ्कामा निर्मम यातना दिएर उहाँहरूको हत्या गरिएको थियो”, सचिव पोखरेलले भने ।

हेलिकोप्टरबाट भातखाने डाँडामा ओरालेपछि सुरक्षाकर्मीले कुट्दै गयार भन्ने ठाउँमा लगेर हत्या गरी गाडेको उनले बताए । ताराखोलाको केन्द्र भातखाने डाँडाबाट अझै उकालो चढेपछि गयार आइपुग्छ । गयारलाई युद्धताका माओवादी जनमुक्ति सेनाले तालिम केन्द्रका रूपमा प्रयोग गरेको थियो ।

त्यहाँ एकैसाथ मारिएका तीनै जनालाई माओवादी र जनमोर्चा दुवैले सहिदका रूपमा सम्मान दिँदै आएका छन् । सहिद रोशनध्वजकी धर्मपत्नी गौमला र टीकाका छोरा सबराज निसीखोलाको कार्यपालिका सदस्यसमेत रहेका छन्।

जनमोर्चाका कार्यकर्ता भए पनि जनयुद्धका सहिदकै रूपमा सूचीकृत गरिएको नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे बताए । “उहाँहरूको हत्या भएको ठाउँमै गाउँपालिकाले सहिद उद्यान बनाइरहेको छ, पार्टीले पनि त्यसमा पहल लिइरहेको छ”, उनले भने, “त्यसबेला जनमोर्चामा सक्रिय रहे पनि माओवादी आन्दोलनप्रति उहाँहरुको सदासयता र समर्थन थियो ।”

युद्ध पर्यटनको नमूना योजनाका रूपमा गयारको सहिद उद्यानलाई अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत उद्यानमा पूर्वाधार निर्माणको काम भइरहेको छ । यसअघि त्यहाँ गण्डकी प्रदेश सरकारको बजेटबाट पदमार्ग, पोखरी र प्रतिक्षालय निर्माण गरिएको थियो । संरचना बनाउँदा स्थानीय सीप र प्रविधिको प्रयोग गरिएको छ । पदमार्गमा गाउँकै ‘स्लेट’ राखिएको छ । प्रतिक्षालय काठ र ढुङ्गाको बनाइएको छ ।

लामीडाँडा सामुदायिक वन क्षेत्रको एक हजार दुई सय ९१ वर्गमिटरमा उद्यानका संरचना बन्नेछन् । उद्यानमा सहिदका सालिक स्थापना, बगैँचा, विश्रामस्थल, धारा, शौचालयसहित अरु पूर्वाधार बन्न बाँकी नै छ ।

बजेटको स्रोत जुटाएर जतिसक्दो चाँडो उद्यान निर्माणलाई पूर्णता दिने योजनामा गाउँपालिका छ । जनयुद्धमा ताराखोला क्षेत्रबाट सहिद बनेका २१ जनाको सालिक उद्यानमा राखिनेछ । ताराखोला जनयुद्धबाट बढी प्रभावित ठाउँ हो । उद्यानमा युद्धकालीन समयलाई झल्काउने कलात्मक मूर्ति र नमूना युद्ध सामग्री पनि राखिने जनाइएको छ । युद्धबाट उठेको गाउँलाई पर्यटनका माध्यमबाट चिनाउन सहिद उद्यानले सघाउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ९ : १४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल