१७ बैशाख २०८१, सोमबार | April 29, 2024

संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा साक्षात्कार तथा धन्यवाद दिन आज आयोजित समारोहमा पौडेलले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहन्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने प्रण गर्दछु ।” आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै उनले नेपालमा स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा सबैमा बधाई तथा धन्यवाद ज्ञापन गरे ।

“यस महत्वपूर्ण घडीमा मुलुकलाई यहाँसम्म ल्याउन अहम् भूमिका खेल्ने सहिद तथा अग्रजप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । संविधानको पालना र संरक्षण गर्ने विषय अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ भन्ने प्रष्ट पार्न चाहन्छु । गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु र भविष्यमा पनि रहनेछु”, उनले भने ।

राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने राष्ट्रपति पौडेलले प्रण गरे । संविधानले नेपालका तमाम जनतालाई असिम अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले यसको जगेर्ना गर्दै राष्ट्रलाई स्थायित्व दिन सबैको परम कर्तव्य भएको बताए । पटकपटकका नयाँनयाँ प्रयोग नेपालले भोग्न सहज नहुने उनको भनाइ थियो ।

निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म तथा भावनालाई अगीङ्कार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने कुरामा सबै सचेत हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड थियो । लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्था बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने, व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ सबै सजग रहन जरुरी छ भन्नेमा आफू दृढ रहेको उनले बताए ।

उनले प्राप्त राजनीतिक उपलब्धिलाई सदुपयोग गर्दै तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ सबै गम्भीर हुन आवश्यक रहेको उल्लेख गरे । राष्ट्रपति पौडेलले अबको बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ सङ्घीय सरकार तथा सङ्घीय संसद् र प्रदेश सरकार तथा प्रदेशसभाका सदस्यको सकारात्मक भूमिकाको अपेक्षा गरे । उनले सङ्घ, प्रदेश र स्थानीय तहका साथै निजी क्षेत्रकोसमेत सहकार्यमा उच्चतम् प्रतिफल प्राप्त गरी प्राप्त प्रतिफलको समुचित वितरणबाट जनताको इच्छा र आकाङ्क्षा सम्बोधन गर्नुपर्नेतर्फ सबैको ध्यान जाने विश्वास व्यक्त गरे ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री, सङ्घीय सांसद, प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका सदस्यलगायत सहभागी थिए । सो अवसरमा राष्ट्रपति पौडेलले आमन्त्रण अतिथिको सम्मानमा चियापान समारोह आयोजना गरेका हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ११ : ४६ बजे

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना