१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव



पाँचथर । करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स-साना पोखरी । सबैका आ-आफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले मन तानिरहने । बीच-बीचमा चौँरी र गाईको चरन रहेका हरिया फाँट । चौँरी र गाईका गोठबाट निस्कने धुँवा र घन्टीको आवाजको माधुर्यता पनि उस्तै । जताजता र जति घुमे पनि उत्तिकै आनन्द लागिरहने पोखरी, गुराँस, जङ्गल र चौरहरूको सङ्गम हो याङवरक गाउँपालिका-१ स्थित लामपोखरी सुकाधाप क्षेत्र ।

नेपाल-भारत सीमावर्ती क्षेत्रभन्दा करिब पाँच किलोमिटरमुनि रहेको यो क्षेत्र पर्यटकले भ्रमण नगरेको बताइएको छ । यहाँ लामपोखरी, सुकापोखरी, हिलेपोखरी, जलजले पोखरी, गुन्टेपोखरी र झ्याउपोखरी गरी छवटा पोखरी रहेका छन् । प्रशस्तै खोज र अनुसन्धान नभए पनि ३२ प्रकारका लालीगुराँस पाइएको बताइने यो क्षेत्र दुर्लभ वन्यजन्तु रातोहाब्रे (रेडपाण्डा)सहित भिरमौरी, चरीबाघ, कस्तुरी, मृगलगायतको बासस्थानका रूपमा परिचित छ ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको याङवरक गाउँपालिकास्थित च्याङथापू बजारबाट कच्ची सडक वा पैदलयात्राबाट पुग्न सकिने यो स्थान अहिले थरिथरिका गुराँस फुलेर निकै आकर्षक बनेको छ । कतिपयले गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रसँग तुलना गर्ने यो स्थान प्रचार-प्रसारको अभाव तथा पूर्वाधारको कमीका कारण पर्यटकको नजरमा पर्न सकेको छैन ।

महोत्सवको निरन्तरता

धेरै गुराँस पाइने भएका कारण एक दशकअघिबाट यस क्षेत्रमा लालीगुराँस महोत्सव आयोजना गर्न थालिएको थियो । लामपोखरी क्षेत्रको विकास र संरक्षणमा सक्रिय संस्थाले आयोजना गर्ने महोत्सवले निरन्तरता नपाएसँगै चर्चामा आउन लागेको यो स्थान पुनः गुमनाम हुँदै गएको थियो । तर यस वर्षबाट याङवरक-१ को कार्यालयले महोत्सव आयोजना गर्न थालेको छ ।

नयाँ वर्ष २०८० को अवसर पारेर शुक्रबार आयोजित महोत्सवमा जिल्लाको याङवरक र फालेलुङबाट उल्लेख्य सङ्ख्यामा पर्यटक पुगेका थिए । आन्तरिक पर्यटक विशेषतः प्राकृतिक सुन्दरता, गुराँस, चिमल र चाँप फुलेको नियाल्न तथा पोखरीमा रमाउन यहाँ पुगेको भेटिन्थे । महोत्सवलाई निरन्तरता दिइएकामा उनीहरू उत्साहित र खुसी थिए ।

महोत्सवको अवसर पारेर वडा कार्यालयले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका स्थानीय नेता, गाउँपालिकाभित्रका सरोकारवालालाई यस क्षेत्रको स्थलगत भ्रमण गराएको छ । झन्डै तीन घन्टामा पोखरीको एकसरो भ्रमण सकिने यहाँ पर्यटन विकासमा ठूलो लगानी आवश्यक नरहेकाले आवश्यक सहयोग गर्न तथा सहयोग जुटाउन गाउँपालिकालाई माग गरिएको वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताए ।

महोत्सवका अवसरमा उक्त क्षेत्रको अवलोकनपछि याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या, उपाध्यक्ष बाबा मेन्याङ्बोसहितका जनप्रतिनिधिले यस क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । हजारौँ रोपनी क्षेत्रफलमा रहेको घना जङ्गल, गुराँस, चिमल र चाँपका प्रजाति, वन्यजन्तु तथा जडीबुटी आदिको अध्ययन गर्ने, यहाँ रहेका पोखरीलाई संरक्षण गर्ने र समग्र क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी तथा वडाले राखेको मागलाई कार्यान्वयन गर्ने अध्यक्ष योङ्याले प्रतिबद्धता व्यक्त गरे ।

“वातावरणीय र जैविक विविधताका हिसाबले यो क्षेत्रमा निरन्तर क्षति भइरहेको, पोखरी सुकिरहेको पाइयो”, अध्यक्ष योङ्याले भने, “यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाई स्थानीयवासीको आम्दानीको स्रोत बनाउनेमा हाम्रो ध्यान जानेछ ।”

लामपोखरी-सुकाधाप क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरी प्रचार-प्रसार गर्ने, यहाँसम्म पुग्ने सडकको स्तरोन्नति तथा फाक्लुङ-फालोट मोटरबाटो निर्माण गर्ने यहाँको वातावरण, पर्यावरण, भूगोल र जैविक विविधताको अध्ययन गरी स्थानीय पाठ्यक्रममा यी विषयलाई समावेश गर्ने, उक्त क्षेत्रलाई संरक्षित बनाउने, याङवरक-६ कालापानीबाट चरिभञ्ज्याङ-सातथुम्की-सुकाधाप-लामपोखरी-तोरीफूले-चिवाभञ्ज्याङ पदमार्ग निर्माण गरी पर्यटन सर्किट घोषणा गर्ने, होमस्टे तथा गोठस्टे निर्माण गर्ने, चौँरी, गाई र भेडापालक कृषकलाई पर्यटनमा जोड्ने, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको यस क्षेत्रका नागरिक अगुवा नरबहादुर गुरुङको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ३७ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको