१० भदौ २०८३, बुधबार | August 26, 2026

मेची पारिको विद्यालय बन्द हुँदा…



झापा । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छिन् ।

सडक, सञ्चार, खानेपानी, सुरक्षालगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार नपुगेको ‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर वडा नं १५ को ग्वालाबस्ती र सिसौडाँगीका धेरै बालबालिका लख्खीले जस्तै दिनहुँ सीमा पार गर्ने चुनौती खेप्दै पढ्नका लागि भारतीय विद्यालय जाने गर्छन् ।

सिसौडाँगीका २० वर्षीय कमल बाँस्के पढाइ छाडेर अहिले खेतीपाती र चिया मजदुरीमा लागेका छन् । ग्वालाबस्तीको मेची प्राथमिक विद्यालयमा कक्षा २ पढेपछि मेची तरेर नेपालतिरकै कालिका आधारभूत विद्यालयमा कक्षा ३ उत्तीर्ण गरेका उनले मेची नदीको बाढीमा कुनबेला बगिएला भन्ने डरले पढाइ नै छाडिदिएको सुनाए ।

डेढ सय जनसङ्ख्या भएको ग्वालाबस्ती र सिसौडाँगी मेची नदी पारिको नेपाली भूभाग हो । जहाँ विकासका कुनै पूर्वाधार पु¥याउन सकिएको छैन । स्थानीयवासीले दशकौँदेखि सडक, पुल, शिक्षा, स्वास्थ्य, सुरक्षा र कृषिमा अनुदान माग गर्दै आएका छन् तर उनीहरुको आवाजको सुनुवाइ भएको छैन ।

ग्वालाबस्तीमा नेपाल चिनाउने एउटा निशानीको रुपमा विसं २०५७ मा मेची प्राथमिक विद्यालय स्थापना भएको थियो । कुनै समय चार जनासम्म शिक्षकले पठनपाठन गराउने सो विद्यालय हाल बन्द भएको छ । विद्यालयको दुई ब्लकमध्ये पहिलो ब्लकको एउटा कोठालाई कार्यालय बनाइएको छ । अरु तीन कक्षा कोठा हुन् । चारवटै कोठा बन्द गरेर ताला लगाइएको छ ।

“शिक्षक आउँदैनन्, अनि विद्यार्थी पनि आउन छाडे”, विद्यालयका लागि पाँच कठ्ठा जग्गादान गरेको दाता परिवारका सदस्य कुमार राजवंशीले भने, “नियमित विद्यालयमा आउनुहोस् भनेर धेरैपटक शिक्षकलाई सम्झायौँ तर, उहाँहरु मन लागे आउने र नलागे नआउने गर्नुहुन्थ्यो । अहिले त विद्यालय नै बन्द भयो ।”

उनका अनुसार सो विद्यालयमा विगतदेखि बाल कक्षा, कक्षा १ र कक्षा २ को मात्र पढाइ हुँदै आएको थियो । पढाइ नियमित नभएपछि पढिरहेका विद्यार्थीले पनि विद्यालय छाडे । जसमध्ये कोही भारतीय विद्यालयतिर पढ्न गइरहेका छन् भने अधिकांश खेतीपातीतिर लागेको उनले जानकारी दिए ।

विद्यालय सञ्चालनको समयमा हरेक दिन विद्यार्थीले राष्ट्र गान गुञ्जाउँथे । अहिले बन्द रहेको कार्यालय कोठामा बाल कक्षाका विद्यार्थीलाई पकाएर खुवाउने एउटा थोत्रो ग्यास चुलो, प्लास्टिकका भाडाकुँडा र एउटा स्टीलको दराज माकुराको जालोभित्र छोपिएको छ । कक्षा कोठामा डेक्स र बेञ्च एउटा पनि छैनन् ।

मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति लोकबहादुर दाहालले विद्यार्थी आउन छाडेपछि मेची प्राथमिक विद्यालयको पठनपाठन प्रभावित भएको स्वीकार गरे । उनले सेवा सुविधा धेरै पाइन्छ भन्दै विद्यार्थी भारतीय स्कुलमा जाने गरेको बताए ।

गत वर्षको अभिलेखअनुसार सो विद्यालयमा १६ विद्यार्थी पढ्थे । पढाउने एक जना शिक्षक भवराज जोशी काज सरुवा लिएर कालिका आधारभूत विद्यालयमा गए । अर्का बाल शिक्षक रेवती राजवंशीले शिक्षा आयोगको परीक्षा उत्तीर्ण गरेर आदर्श माध्यमिक विद्यालयमा गए । शिक्षा शाखाले विद्यालय नेतृत्वविहीन नहोस् भनेर मेची वारीको कालिका आधारभूत विद्यालयका शिक्षक युवराज ढकाललाई मेची प्राथमिक विद्यालयको प्रधानाध्यापक तोकेको छ । कालिकामा नियमित अध्यापन गराइरहेको ढकाल मेची प्राथमिक विद्यालय जान्नन् ।

शिक्षक एकपछि अर्को गर्दै बाहिरिए पछि विद्यालयको सम्पूर्ण रेखदेख कर्मचारी राजेश राजवंशीले गर्दै आएका थिए । उनी पनि मेची वारी भिन्डीबस्तीमा घर भएकाले मेची नदी तरेर नियमित विद्यालय नजाने गरेको स्थानीयको दावी छ ।

विसं २०७० तिर मेची प्राथमिक विद्यालयमा ५० विद्यार्थीले पढ्ने गरेको र विकासका कुनै पूर्वाधार नबनेपछि स्थानीयले गाउँ नै छाडेर बसाई हिँड्दा विद्यार्थी घटेको विद्यालयका कर्मचारी राजेश राजवंशीले बताए । उनले भारतीय सीमा सुरक्षा वल ९एसएसबी०को दस्ता विद्यालयमै आएर ‘यो स्कुल नेपालको कि भारतको ?’ भनेर सोध्ने गरेको बताउँछन ।

मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति दाहालले ग्वालाबस्ती र सिसौडाँगी नेपालकै भूभाग हो भनेर चिनाउनसमेत त्यहाँको एकमात्र विद्यालय बन्द गर्न नहुने धारणा व्यक्त गरे । बरु विद्यालयलाई कसरी सुविधासम्पन्न बनाउन र विद्यार्थीलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर सोच्नुपर्ने उनी बताउँछन ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : ०६ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ