६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू



गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको  ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ ।

निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो । व्यावसायिक उडानको क्रममा पहिलो यात्रुका रुपमा आएका रेसुङ्गा नगरपालिका–१ का अखिलेश्वर पाण्डेले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाएको बताए ।

त्यसैगरी गुल्मीदरबार गाउँपालिका–२ की पार्वती भुजेलले पनि काठमाडौँबाट केही समयमै गुल्मी आउन पाएको बताइन् । हवाई सेवाले गुल्मी र राजधानीलाई नजिक बनाएको अनूभूति आफूले गरेको उनले सुनाइन् ।

आज बिहान ६ः३० बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले ७ः१५ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ ।

“परीक्षणका क्रममा विमानस्थलको अवस्था हेरेर बिहानी समयमा उडान गरेका हौँ”, क्याप्टेन विष्टले भने, “हाललाई शुक्रबार मात्र उडान हुन्छ, पछि मङ्गलबार पनि उडान भर्ने हाम्रो तयारी छ ।” रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौँमै गई लामो समय प्रयास गरी नेपाल एयरलाइन्सले नियमित उडान गरेको बताए ।

“गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका थियौँ”, उनले भने, “नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ ।” उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो । निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो । फर्किँदा पनि १४ यात्रु लिएर जहाज फर्किएको हो । पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु रु छ हजार तीन सय भाडादर कायम गरिएको छ ।

रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कूल रु ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १ : ३६ बजे

इरानबाट पछि हट्ने ट्रम्पको संकेत

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट पछि हट्ने ट्रम्पको

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर

त्रिशूली । नुुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा

आज पनि घट्यो सुनचाँदीकोे मूल्य

काठमाडौ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५