१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा



म्याग्दी । पूर्व-पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडक ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ । तर पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा सडक निर्माण रोकिएको छ ।

भौगोलिकरूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीनरूपमा राष्ट्रिय महत्व राख्ने भए पनि आवश्यक बजेट र पहुँचको अभावमा यो सडक ओझेलमा परिरहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनका अनुसार काठमाडौं र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो । बेनीबाट मुना हुँदै खोरियासम्म ५० किलोमिटर सडकको मार्ग खुलिसकेको र ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको अध्यक्ष पुनले बताए ।

“बेनीबाट दरवाङ-मुना-जलजला-ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ”, उनले भने, “पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।”

म्याग्दीको धवलागिरि गाउँपालिका-२ खोरियामा तीन वर्षअघि पुगेको सडक निर्माणको काम पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा रोकिएको छ । १९ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वीरुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पूर्वीरुकुमका जनप्रतिनिधिसँग छलफल र पहल थालेका छन् ।

“भू–बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने हो”, उपाध्यक्ष पुनले भने, “तत्कालीन समयमा केन्द्रीय पहुँच नपुगेकै कारण लोकमार्गबाट म्याग्दीलाई हटाउँदा सिङ्गो जिल्लालाई नै अन्याय भएको छ ।”

बेनी-दरबाङ-धारापानी-ताकम-मुनासम्मको सडक कालोपत्र गर्ने र मुनाबाट जलजला हुँदै ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिइने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए । सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उनको भनाइ छ ।

“म्याग्दी हुँदै ढोरपाटन पुगेर बुर्तिवाङ हुँदै लुम्बिनी र पोखरा पुग्ने पर्यटनमार्ग पनि बन्ने भएकाले यो सडकलाई प्रदेशको महत्वपूर्ण योजनामा समेट्छौँ”, उनले भने “बेनीबाट दरवाङ हुँदै धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडक कालोपत्र गर्ने र ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिन्छौँ ।”

प्रदेश सरकारमार्फत बेनीबाट मङ्गला गाउँपालिका-२ सिमसम्म १२ किलोमिटर पाँच सय मिटर सडक कालोपत्र भइसकेको छ । सिमबाट लाम्पाटा चार किलोमिटर र लाम्पाटा-दरवाङको आठ किलोमिटर सडक कालोपत्र गर्न सञ्चालित योजना निर्माणले तीव्रता पाएको छ । दरवाङबाट धारापानीसम्म सात किलोमिटर सडक ग्राभेल गर्ने योजनाको काम जारी छ ।

दरवाङ-मुना जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न रु एक करोड ६६ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन तयार भएको धवलागिरि गाउँपालिकाले जनाएको छ । विसं २०६४ मा मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी-दरवाङ सडक २०७४ सालदेखि स्तरोन्नतिको काम थालिएको थियो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडकखण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : ५० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित