काठमाडौं । अमेरिकाको हवाई यातायात नियन्त्रण (एयर ट्राफिक कन्ट्रोल) प्रणालीमा सञ्चारसम्बन्धी प्राविधिक समस्या आएपछि देशभरका विमानस्थलबाट हुने उडानमा अस्थायी रोक लगाइएको छ। अमेरिकी संघीय उड्डयन प्रशासन FAAले शुक्रबार (नोभेम्बर १३) सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै देशव्यापी रूपमा उडान रोक्ने आदेश जारी गरेको हो।
अमेरिकामा सेप्टेम्बर ११, २००१ को आतंकवादी हमलापछि देशव्यापी रूपमा सबै विमानस्थलका उडान रोक्नुपरेको यो दोस्रो घटना हो। यसअघि सन् २०२३ जनवरीमा पनि FAA को सूचना प्रणालीमा प्राविधिक खराबी आएपछि देशभरका आन्तरिक उडान रोकिएका थिए।
अमेरिकी अधिकारीहरूका अनुसार सञ्चार प्रणालीमा आएको समस्याका कारण देशका विभिन्न क्षेत्रीय एयर ट्राफिक कन्ट्रोल केन्द्रहरूबीचको समन्वय प्रभावित भएको थियो। त्यसपछि हवाई सुरक्षालाई ध्यानमा राख्दै उडान भर्न लागेका विमानलाई रोक्ने निर्णय गरिएको थियो।
अमेरिकाका गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले घटनामा कुनै बाह्य आक्रमण वा राष्ट्रिय सुरक्षामाथिको खतरा देखिएको प्रारम्भिक संकेत नरहेको बताएका छन्।
उनले ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै यो घटना अर्को ९/११ नभएको स्पष्ट पारे। उनका अनुसार आकाशमा रहेका सबै विमानको अवस्थाबारे जानकारी प्राप्त भएको थियो र कुनै पनि यात्रुको जीवन जोखिममा परेको थिएन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रारम्भिक रूपमा यो समस्या साइबर आक्रमण वा कृत्रिम बौद्धिकता (एआई) का कारण भएको जस्तो नदेखिएको बताएका थिए।
सञ्चार प्रणालीको नेटवर्क अपडेटपछि समस्या
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार एयर ट्राफिक कन्ट्रोल प्रणालीलाई जोड्ने निजी दूरसञ्चार नेटवर्कमा गरिएको प्राविधिक अपडेटपछि समस्या उत्पन्न भएको हो।
सीबीएसले विभिन्न स्रोतलाई उद्धृत गर्दै नेटवर्क अपडेटपछि प्रणाली रिबुट भएको र त्यसपछि सञ्चार नेटवर्कमा गम्भीर अवरोध आएको जनाएको छ।
उक्त नेटवर्क सञ्चालन गर्ने कम्पनी एलथ्रीह्यारिस (L3Harris) रहेको बताइएको छ। यो कम्पनीले हवाई क्षेत्र व्यवस्थापन, रक्षा प्रणाली तथा कमान्ड एन्ड कन्ट्रोल प्रविधिका लागि सञ्चार प्रणाली उपलब्ध गराउँदै आएको छ।
यद्यपि, प्राविधिक समस्या उत्पन्न हुनुको वास्तविक कारणबारे अमेरिकी अधिकारीहरूले अनुसन्धान जारी रहेको बताएका छन्। नेटवर्क अपडेट नै समस्याको अन्तिम कारण हो भन्ने आधिकारिक पुष्टि भइसकेको छैन।
गृह सुरक्षा मन्त्री मुलिनले अघिल्लो दिन माइक्रोसफ्टको सेवामा देखिएको प्राविधिक समस्यासँग पनि यस घटनाको सम्बन्ध नरहेको बताएका छन्।
एयर क्यानडाका उडानसमेत प्रभावित
अमेरिकाभर उडान रोकिएपछि अन्तर्राष्ट्रिय हवाई सेवासमेत प्रभावित भएका थिए।
एयर क्यानडाले अमेरिका र क्यानडाबीचका उडान प्रभावित भएको जनाएको थियो। अस्ट्रेलियाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकातर्फ प्रस्थान गर्ने उडानसमेत अस्थायी रूपमा रोकिएको थियो।
अमेरिकाका विभिन्न विमानस्थलमा यात्रुहरू लामो समयसम्म प्रतीक्षामा बस्नुपरेको थियो। उडान रद्द तथा ढिलाइ हुँदा यात्रु, विमान कम्पनी र कार्गो सेवासमेत प्रभावित भएका थिए।

शुक्रबार राति उडान रोक हटाइयो
प्राविधिक समस्या समाधानका लागि अमेरिकी उड्डयन अधिकारीहरूले काम अघि बढाएपछि शुक्रबार राति FAA ले देशव्यापी ग्राउन्ड स्टप आदेश हटाएको एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।
यद्यपि, आदेश हटेपछि पनि हवाई सेवा तत्काल सामान्य अवस्थामा फर्किन सकेन। विमान तथा चालक दल विभिन्न विमानस्थलमा अलपत्र पर्नुका साथै उडान तालिका प्रभावित भएकाले थप ढिलाइ र रद्द हुने क्रम जारी रहने अधिकारीहरूले बताएका छन्।
एपीका अनुसार शुक्रबार साँझसम्म कम्तीमा ८२७ उडानलाई अन्यत्र मोड्नुपरेको थियो। साँझ ४ बजेपछि उडान गर्ने तालिका रहेका करिब ११ हजार उडान र १५ लाखभन्दा बढी यात्रु यस घटनाबाट प्रभावित हुने अवस्था बनेको थियो।
सन् २०२३ मा पनि रोकिएका थिए उडान
अमेरिकामा यसअघि सन् २०२३ जनवरी ११ मा पनि FAA को नोटिस टु एयर मिसन्स (NOTAM) प्रणालीमा प्राविधिक खराबी आएको थियो।
हवाई सुरक्षासँग सम्बन्धित सूचना विमान चालक तथा विमान कम्पनीलाई उपलब्ध गराउने उक्त प्रणालीमा समस्या आएपछि अमेरिकी अधिकारीहरूले सबै आन्तरिक उडान अस्थायी रूपमा रोक्नुपरेको थियो।
उक्त अवरोध करिब एक घण्टा ५२ मिनेटसम्म कायम रहेको थियो। त्यसबेला करिब ९ हजार ५०० उडान ढिलाइ भएका थिए भने झन्डै १ हजार ३०० उडान रद्द गर्नुपरेको थियो।
यसपटकको घटना भने हवाई यातायात नियन्त्रण केन्द्रहरूबीचको सञ्चार प्रणालीमा आएको समस्यासँग सम्बन्धित छ।
विमानस्थल तथा हवाई यातायात व्यवस्थापनका लागि अत्याधुनिक प्रविधिमा निर्भर अमेरिकामा समेत सञ्चार प्रणालीको एउटा प्राविधिक समस्याले देशव्यापी हवाई सेवा प्रभावित हुन सक्ने घटनाले अमेरिकी हवाई पूर्वाधारको आधुनिकीकरण र प्रणालीगत सुरक्षाबारे पुनः प्रश्न उठाएको छ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट
















प्रतिक्रिया