काठमाडौं । संसदको अवरोध खुलाउन बसेको तीन ठूला दलका शीर्ष नेताको बैठक सकिएको छ ।
सिंहदरबारमा बसेको बैठकमा निरन्तर अवरुद्ध हुँदै आएको बैठकलाई संचालन गर्ने विषयमा कुरा भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक बसेको हो ।
बैठकमा प्रधामन्त्री प्रचण्डले आफुले दिएको अभिव्यक्तिबारे संसदमा बोल्ने र प्रतिपक्षी दलले पनि संसद खोल्ने सहमति भएको छ । यस्तै सहमति हिजो पनि भएको थियो । तर प्रधानमन्त्रीका सल्लाहकारले जारी गरेको विज्ञप्ति ठिक नभएको भन्दै एमालेले पुनः संसद खोल्न अस्वीकार गरेको थियो ।
तर आज सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भएको छलफलमा संसदको अतिरोध अन्त्य गर्न सहमति जुटेको हो ।
बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओली सहमतिबारे सदनमै थाहा हुने प्रतिक्रिया दिए । प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको बताए ।
तीन शीर्ष नेताको बैठकपछि संसदको ल्होत्से हलमा एमाले संसदीय दलको बैठक बसेको छ । बैठकमा अध्यक्ष ओलीले आफ्ना सांसदहरुलाई तीन नेताबीच भएको छलफलबारे ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्रीले राष्ट्रहित विपरित अभिव्यक्ति दिएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।
प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभाको बैठक भने भोलिसम्मका लागि स्थगित भैसकेको छ ।



















प्रतिक्रिया