१४ भदौ २०८३, आइतबार | August 30, 2026

प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनी



दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो ।

माध्यमिक तह अध्ययन सकेपछि प्राविधिक शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यसका लागि गाउँपालिकाले वडा नम्बर २ ढकालटारमा रहेको विद्युत् प्राधिकरणको अलपत्र भवन प्रयोगका लागि तयारी गर्ने जनाएको छ । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको उक्त भवनमा गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको उनले बताए ।

अध्यक्ष चुमानले भने, “एकातिर स्थानीय जनताको प्राविधिक विषय पढ्ने चाहना हुँदाहुँदै पनि जमिन अभावका कारण गाउँपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने निर्णय गरेर पनि प्राविधिक शिक्षालय स्थापना गर्न सकेको छैन । अर्कोतिर गाउँपालिकामा रहेको जमिन र सो जमिनमा निर्माण भएको संरचना अलपत्र अवस्थामा रहनु विडम्बना हो ।”

ढकालटारमा जीर्ण अवस्थामा रहेको भवन संरक्षण तथा उपयोगका लागि गाउँपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग अनुमति माग गरेको छ । कित्ता नम्बर १७५ को क्षेत्रफल ६-१३-३ र कित्ता नम्बर १७४ को क्षेत्रफल ६-७-०-१ को जमिन संरक्षण तथा उपयोगका लागि गाउँपालिकालाई अनुमति दिन माग गरिइएको हो ।

मस्र्याङ्दी जलविद्युत् केन्द्र निर्माणको समयमा कामदारलाई आवास व्यवस्थापनका लागि स्थानीयबाट अधिग्रहण गरी संरचना निर्माण गरिएको छ । विद्युत् प्राधिकरणले तालिम केन्द्र सञ्चालन गर्ने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । पछि तत्कालीन सङ्कटकालको बेलामा नेपाली सेनाले उपयोग गरेको उक्त जग्गामा विगत लामो समयदेखि नेपाली सेनाले उपयोग गर्न छाडे पनि संरक्षण अभावमा सो जमिन र संरचना खण्डहरमा परिणत भएका छन् ।

अध्यक्ष चुमानले ऊर्जा मन्त्रालयले त्यसको संरक्षण र प्रयोगका लागि गाउँपालिकालाई अनुमति दिएमा त्यहाँ प्राविधिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए । उनले भने, “ऊर्जामन्त्रीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।”

गाउँपालिकाभित्र रहेका आधारभूत तथा माध्यमिक तह अध्ययनपश्चात् विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउन गाउँपालिकाले आफ्नै प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको छ । “प्रविधिक शिक्षा अध्ययनका लागि पोखरा, चितवन, काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्न पालिकाभित्रै प्राविधिक शिक्षालय स्थापना गर्न पहल गरेका छौँ, वार्षिक नीति तथा कार्यक्रममा नै यसलाई समावेश गरिसकेका छौँ”, उनले भने, “त्यसका लागि जग्गा व्यवस्थापनमा पहलसँगै स्थापना, व्यवस्थापन कार्यमा अगाडि बढेका छौ ।”

प्रयोगविहीन जीर्ण भवनलाई पालिकाले मर्मत गरेर सञ्चालनमा ल्याउने अध्यक्ष चुमानले बताए । “भवन यत्तिकै राख्नुभन्दा त्यसको प्रयोग पनि हुने, पालिकालाई पनि सहज हुने भएकाले उक्त भवन उपयुक्त छ भन्ने लागेको छ”, उनले भने ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : ३६ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति