इस्लामले संरक्षण गरेको हिन्दु र बौद्ध संस्कृति

राजन पौडेल
१० श्रावण २०७७, शनिबार

इस्लामिक गणतन्त्र पाकिस्तान । नेपालको मित्रराष्ट्र । पाकिस्तानसँग नेपालको सम्बन्ध सधैंभर मैत्रिपूर्ण रहँदै आएको छ । यी दुई मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएसँगै समानता, भ्रातृत्व र भावनात्मक एकताको सम्बन्ध रहँदै आएको छ । पञ्चशीलका सिद्धान्तमा आधारित कुटनीतिक सम्बन्ध, व्यापारिक सम्बन्ध शैक्षिक सम्बन्ध आज पनि आआफ्नो हैसियत अनुसार जारी छ ।

दुई मुलुक एक आपसमा नजोडिएपनि पाकिस्तानसँग नेपालको अर्को सम्बन्ध भनेको सांस्कृतिक र धार्मिक सम्बन्ध पनि हो । हुन त धेरैलाई लाग्नसक्छ, पाकिस्तान इस्लामिक मुलुक भएका कारण मुस्लिमका लागि मात्रै हो, तर पाकिस्तानले अल्पसंख्यक हिन्दु र बौद्ध संस्कृति जोगाउनका लागि पनि पछिल्ला केही दशकयता मेहनत गरेको छ । भारत र पाकिस्तान विभाजन हुनुपूर्व रहेका धार्मिक सभ्यताहरुको पुनर्निर्माणको क्रम पाकिस्तानमा जारी छ । र, यसको कडी नेपालसम्म जोडिएको छ । बहुसंख्यक हिन्दुधर्मावलम्बी भएको नेपालसँग साइनो राख्ने केही हिन्दु र बौद्ध धर्मसँग जोडिएका सम्पदाहरु पाकिस्तानमा अहिले पनि सुरक्षित राखिएका छन् । केही सम्पदाहरु पुनर्निमार्णका लागि पहल भैरहेको छ ।

कृष्ण मन्दिर निर्माणका लागि शिलन्यास हुँदै

पछिल्लो केही समय पाकिस्तानको राजधानी इस्लामावादमा हिन्दु मन्दिर निर्माणको विषयले निकै चर्चा पायो । हिन्दु मन्दिर बनाउन रोक लाग्यो भनेर पाकिस्तानको विरोधमा नारा लाग्यो । केही अतिवादी इस्लामिक समुहले इस्लामावादमा कृष्ण मन्दिर बनाउन नदिन सरिया कानुनको सहारा लिन खोजे, नियमित अदालतको सहारा समेत लिन खोजे । मुद्दा दायर गरे, निर्माणमा अवरोध पुर्याए । तर, मन्दिर निर्माणको कामलाई अवरोध पुर्याउन खोजिए पनि त्यहाँको अदालतले समेत निर्माणको कामलाई सदर गरिसकेको अवस्था छ । मन्दिर निर्माणका लागि पाकिस्तान सरकारले १० करोड रुपैयाँ निकासा गरेको छ ।

गल्फ न्यूजका अनुसार पाकिस्तान सरकारले देशभर ४०० वटा हिन्दु मन्दिर पुनर्निर्माणको योजनालाई अघि बढाएको छ । सिलायकोटमा रहेको जगन्नाथ मन्दिर र पेशावरमा रहेको एकहजार वर्ष पुरानो शिवालयको पुनर्निर्माण सुरु भैसकेको गल्फ न्यूजले जनाएको छ ।

त्यसो त, लाहौरमा रहेको शिख समुदायको पवित्र तीर्थस्थल करतारपुर मा भारतसँग जोडिने कोरिडोर खुल्दा पाकिस्तान र भारतका लाखौं शिख समुदाय हर्षित बने । दुश्मनीपूर्ण सम्बन्ध रहेका पाकिस्तान र भारतको बीचमा करतारपुर कोरिडोरले मित्रताको कोरिडोर बनाउन सक्छ कि भन्ने झिनो विश्वास अझै पनि दुई मुलुकका शान्तिप्रेमी जनतामा बाँकी नै छ ।

क्वेटामा रहेको २०० वर्ष पुरानो गुरुद्वाराको पुनर्निर्माण समेत सुरु भएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अल्पसंख्यकहरुको धर्म, संस्कृति र अधिकारको संरक्षणका लागि पहल गरेका छन् । यद्यपी, पाकिस्तानबारे नेपालमा खासै समाचार सुनिँदैन । पाकिस्तानबारे बोल्ने भारतीय संचारमाध्यम हुन । उनीहरुबाट कस्तो प्रकाशित प्रसारित हुन्छन् भन्ने तथ्य नेपालसम्बन्धी हालैका घटनाक्रमले समेत देखाएकै छ । यसकारण नेपालको मैत्रिपूर्ण सम्बन्ध रहेको मित्रराष्ट्र पाकिस्तानबारे नेपालले स्वतन्तपूर्वक विचार बनाउनका लागि नेपालकै आफ्नै स्रोतको उपयोग गरिनु वाञ्छनीय देखिन्छ ।


नेपाल–भारत–पाकिस्तान धार्मिक साइनो

पाकिस्तानको रावलपिण्डीमा रहेको तक्षशिलाको साइनो नेपालको लुम्बिनीसँग रहेको छ । इस्लामावाद–लाहोर राजमार्ग आसपासमा रहेको कटासराज क्षेत्र हिन्दु धर्मावलम्वीका लागि अमृत धरोहर रहेको छ । त्यसो त, धार्मिक भाइचारासम्बन्ध सुधारकै लागि करतारपुर कोरिडोर खुला गरिएको छ । भारतीय तिर्थयात्रीहरू पाकिस्तानका धार्मिक सम्पदास्थलमा पुग्छन् । दुई मुलुकबीच राजनीतिक स्तरमा सम्बन्ध सुधार हुने हो भने, यी सम्पदाहरूको अझ बढी प्रचारप्रसार हुने देखिन्छ ।

भारत पाकिस्तान सम्बन्ध सुधारको बाछिटा नेपालमा अवश्य पर्छ नै । दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध रहे पनि कनेक्टिभिटीका कारण निकै टाढा छन् नेपाल–पाकिस्तान । सीधा हवाई यात्रामा अढाई घण्टामा पुगिने इस्लामावाद यतिबेला कम्तिमा १८ घण्टा टाढा रहेको छ । सिन्धु नदी आसपासदेखि ब्रम्ह्पुत्र आसपाससम्म फैलिएको सभ्यताको विकासले नेपाल-भारत-पाकिस्तान जस्ता मुलुकको जनस्तरको सम्बन्धलाई राजनीतिक सम्बन्धले अलग गर्न नसक्ने देखिन्छ । यद्यपी, अहिलेको भूराजनीतिक जटिलताले भने यो विषय परिकल्पना जस्तै लाग्छ ।

पाकिस्तानमा संरक्षण गरेर राखिएका दुई पुरातात्विक स्थल कटासराज र तक्षशिलाको सम्बन्ध भने नेपालसँग समेत सिधै जोडिएको छ ।


कटासराज

पाकिस्तानका केही हिन्दु धार्मिकस्थलहरू मध्ये एक स्थल हो कटासराज । इस्लामावाद–लाहोर राजमार्गमा पर्ने साल्ट रेन्जका प्रसिद्ध पहाडी छेडोमा रहेको कटासराज चकवाल शहरबाट ३० किलोमिटरको दुरीमा मात्र पर्दछ ।


पौराणिक मान्यता

कटासराज हिन्दु धर्मावलम्बीका लागि पवित्र धाम हो । कटासराज क्षेत्रबारे शिव पुराणमा उल्लेख गरिएको छ । महाभारत कथामा कटासराजको व्याख्या गरिएको छ । कटासराज शब्दको उत्पत्ति संस्कृतको कटाक्षबाट भएको पनि मानिन्छ । जसको अर्थ हुन्छ, अश्रुधारा । शिव पुराण अनुसार परमप्रिय सती देवीको अग्नी समाधिपछि शिव भावविह्ल हुँदा अश्रुधारा बगेको थियो । शिवको एउटा आँखाबाट बहेको अश्रुधाराबाट कटासराजमा कुण्ड बनेको थियो । अर्को आँखाबाट बहेको आँशुबाट अजमेरमा कुण्ड बनेको थियो भनेर विश्वास गरिन्छ । यो कुण्डलाई आजपर्यन्त हिन्दु समाजले अमृत कुण्डको रुपमा श्रद्धा गर्दछन् ।

कटासराज मन्दिरमा एक विश्वविद्यालय पनि थियो । जहां दर्शनशास्त्र र बौद्ध अध्ययनको ठूलो केन्द्र थियो । नाथ सम्प्रदायका संस्थापक गोरखनाथ एवं चिनिया प्रसिद्ध यात्री ह्वान साङ समेत यो विश्वविद्यालयमा पुगेका थिए ।

यस्तै, कटासराजको कथा महाभारतकालमा पनि जोडिन्छ । कौरवहरूले हस्तिनापुरको राज्य हरण गरेपछि पाण्डवहरूले चारवर्ष यही स्थानमा बसेका थिए भन्ने जनविश्वास रहेको छ । एक दिन पाण्डवहरूलाई तिर्खा लागेपछि पानी लिन कुण्डमा जाँदा ऋषि यक्षले सोधेका प्रश्नको उत्तर दिन नसकेर सहदेव, भीम, अर्जुन र नकुल पालैपालो मुर्छित भएका थिए । पानी लिन गएका सबैभाईहरू एकपछि अर्को गरी गायव भएपछि आफै पानी लिन युधिष्ठिर पुगे । तर, यक्षले युधिष्ठिरलाई पनि चारै भाईलाई सोधेका प्रश्नको जवाफ मागे । जवाफ दिन नसके भाइहरू जस्तै बनाइदिने चेतावनी पछि युधिष्ठिरले यक्षका एक एक प्रश्नको उत्तर दिए । हामी आज पनि यक्षले सोधेको प्रश्नलाई यक्षप्रश्न भन्ने गछौं । महाराज युधिष्ठिरले ऋषि यक्षले सोधेका सबै प्रश्नको सरल उत्तर दिएर महान् पदवीको ग्रहण समेत गरे । यक्षले सोधेका प्रश्नको उत्तर दिन नसकेर अचेत अवस्थामा पुगेका चारै भाइलाई यही अमर कुण्डको पवित्र जल खुवाएर युधिष्ठिरले पुनर्जीवित गरेका थिए । यसर्थ, हिन्दु धर्मावलम्बीहरूका लागि यो स्थल आजपर्यन्त पवित्र छ ।


मन्दिरै मन्दिर

यस क्षेत्रमा मन्दिरै मन्दिर छन् । सतघरा मन्दिर समुहमा रहेका सातवटा मन्दिरमध्ये अहिले चारवटा मन्दिरमात्र अस्तित्वमा छन् । हनुमान मन्दिर, रामसिता मरिन्दर, शिव मन्दिरको पुनर्निर्माण भैसकेको छ । बाँकी मन्दिरको पनि उत्खनन र पुनर्निर्माणको काम गर्दैछ पाकिस्तान सरकारले ।

प्राचिन शिव मन्दिरमा आज पनि पुजाआरधना हुन्छ । हिन्दु पुजारीले दैनिक नित्य पूजा आजा गर्नेगर्छन् । कटासराजको दर्शनका लागि भारतबाट समेत हिन्दुधर्मावलम्बीहरू आउने गरेका छन् । पाकिस्तानकै हिन्दु समुदाय पनि यहाँ आउने गर्छन् । विशेषगरी शिवरात्रीका दिन यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्छ । मेलाको प्रवद्र्धन स्थानीय समितिले गर्छ ।

कटासराज मन्दिर संगीत, कला र विद्याको ठूलो केन्द्र रहेको थियो । आफ्नो उत्कर्ष कालमा मन्दिरमा लगभग १० हजार विद्वान र कलाकार सम्बद्ध थिए । तर ११ औं शताब्दीमा महमुद गजनवीले आक्रमण गरेपछि मन्दिरको वैभव नष्ट भयो ।

कटासराज मन्दिरमा एक विश्वविद्यालय पनि थियो । जहां दर्शनशास्त्र र बौद्ध अध्ययनको ठूलो केन्द्र थियो । नाथ सम्प्रदायका संस्थापक गोरखनाथ एवं चिनिया प्रसिद्ध यात्री ह्वान साङ समेत यो विश्वविद्यालयमा पुगेका थिए । तर, विदेशी आक्रमणकारीले तक्षशिलाको पतन गराए, नजिकै रहेका कारण कटासराजमा सबै विद्धानहरू तक्षसिलाबाट पलायन भएर कटासराजमा आएका थिए । यो क्षेत्रभरि नै विश्वविद्यालय भएको कतिपय इतिहासकारहरू मान्ने गर्छन् ।


भाइचारा सेतु

यसर्थ मान्ने गरिन्छ, कटासराज क्षेत्र हिन्दु र मुस्लिम र बौद्ध समुदायको भाइचारा सम्बन्धको सेतु स्थल पनि हो । विदेशी आक्रमणकारीले समाप्त पारेको वैभवलाई कटासराज क्षेत्र आसपास बस्ने हिन्दु समुदायले पुनः सम्हालेर राखेका थिए । अहिले पनि मुस्लिम समुदायले अल्पसंख्यक हिन्दु समुदायको यो पवित्र मन्दिर संरक्षणका लागि भाइचारा सम्बन्ध स्थापित गरेका छन् ।

भारत र पाकिस्तानबीच विभाजन अघि यस ठाउँमा हिन्दु समुदायको ठूलो बसोबास रहेको थियो । कटासराज हिन्दु समुदायको आस्थाको केन्द्र रहेको थियो । विभाजन पछि हिन्दु समुदाय यहाँबाट विस्थापित भए । विभाजनको मार यस क्षेत्रमा पर्यो । हिन्दु समुदाय विस्थापित भएपछि यहांको वैभव पनि नासिंदै गएको बताउंछन् कटासराजका केयरटेकर एवं पन्जाव विश्वविद्यालयमा हिन्दी र पन्जावी गुर्मुखीका लेक्चरर अजहर अब्बास ।

भारतका तत्कालिन प्रधानमन्त्री अटल विहारी बाजपेयीले पाकिस्तानको भ्रमण गर्दा यो ठाउंमा आएका थिए । खण्डहर मात्र देख्दा वाजपेयी दुखित बनेका थिए । पछि पाकिस्तान सरकारले यो ऐतिहासिक धार्मिकस्थललाई संरक्षण गर्न सुरु गर्यो । अहिले कटासराज क्षेत्रमा पर्खाल लगाउने, पुराना ऐतिहासिक सम्पदाको जिर्णोद्वार गर्ने काम दु्रत गतिमा भैरहेको छ ।

पाकिस्तान सरकारले कटासराजलाई विश्व सम्पदा सूचीमा दर्ताका लागि निवेदन दिएको छ । पाकिस्तान र भारतबीच रहेको तिक्ततापूर्ण सम्बन्धका बीच पनि कटासराज दुई मुलुकका जनताबीच रहेको धार्मिक एकताको सेतु बनिरहेको छ र बनिरहने नै देखिन्छ । मन्दिर र आसपासको क्षेत्रको जिर्णोद्वार जति छिटो हुन्छ, त्यति नै आतुर हजारौं हिन्दु तिर्थयात्री यहाँ आउनका लागि लालायित हुनेछन् । र, यसका लागि पाकिस्तानले कटासराजको धार्मिक महत्वको अन्तराष्ट्रिय स्तरमै प्रचार प्रसार समेत गर्न जरुरी छ ।


तक्षशिला

शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भयो । बुद्धले भारतमा बुद्धत्व प्राप्त गरे र संसारभर शान्ति एवं अहिंसाको प्रचार गरे । बुद्धको प्रचार सर्वव्यापी फैलियो । बुद्धका अनुयायीहरू संसारभर बढे । भारतीय उपमहाद्विपमा बुद्धको महिमा यसरी फैलियो कि, भारतमा आक्रमण गर्न आएका युनानी, पर्सियनहरूले समेत बुद्धलाई भुल्न सकेनन् । बुद्ध धर्मको महिमालाई इस्लाम धर्मावलम्बीहरूले समेत सम्मान गरे । हिन्दु धर्मले बुद्धलाई सधैं नजिकको मानिरह्यो ।

भारत पाक विभाजनपछि हाल पाकिस्तानको राजधानी इस्लामावाद नजिकै रहेको रावलपिण्डी शहरमा तक्षशिला पर्दछ । र, यो ठाउं बुद्ध दर्शन समृद्ध भएको स्थानमा चिनिन्छ । प्राचीन समयमा यही ठाउं बुद्ध धर्मको उन्नयन भएको थियो । पाकिस्तानको पन्जाव प्रान्तमा पर्ने रावलपिण्डीस्थित तक्षशिलामा भारतका चक्रवर्ती सम्राट अशोक र बुद्ध तथा उनीहरूसँग सम्वन्धित ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरू संरक्षण गरेर राखिएको छ ।
पाकिस्तानीहरू तक्षशिलालाई टक्सिला भन्छन् । यहाँ बुद्ध दर्शनसँग जोडिएका सामाग्रीहरू छन् । कुनै समयको समुन्नत सभ्यता बोकेको तक्षशिला संसारभरका कैयौं साम्राज्यको आँखा लाग्दा ध्वस्त भयो । पर्सियन र युनानीले तक्षशिलामाथि बारम्बार नियन्त्रण गरे । भारतकै उज्ज्यैनीहरूले समेत तक्षशिलाको नियन्त्रणको प्रयास गरे । भारतीय उपमहाद्वीपमा वर्चस्व जमाएको तत्कालिन मगध शासकको मौर्य साम्राज्य विस्तार तक्षशिलासम्म पुग्यो । तर, रोचक पक्ष यो छ कि, तक्षशिलामा जति पनि शासकहरूले शासन गरे, उनीहरूले बुद्धसँग जोडिएका कलाकृति, धर्मसंस्कृति र परम्परालाई मास्न सकेनन् । त्यसभन्दा अघि बढेर आ–आफ्नै सभ्यताअनुसार बुद्ध दर्शनलाई स्वीकार गर्न बाध्य भए । पर्सियन र युनानी र मौर्य साम्राज्यले बनाएका बुद्ध दर्शन सम्वद्ध वस्तु एवं मुर्तिहरू उनीहरूकै सभ्यता अनुरुपका पाइएका छन् ।

इस्लामिक गणतन्त्र पाकिस्तानले तक्षशिलाको संरक्षण गरी यस क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको छ ।

तत्कालीन भारतीय उपमहाद्धिपको पिप्लीवनका राजकुमार चन्द्र गुप्त मौर्यले प्राचीन रणनीतिकार विष्णुगुप्त चाणक्यको निर्देशनमा विशाल मौर्य साम्राज्य कायम गरेका थिए । यसलाई अखण्ड भारतको सुरुवाती काल मानिन्छ । त्यतिबेला रहेको अशोक र बुद्ध सम्वन्धी सामग्री हाल तक्षशिला म्युजिएममा रहेको छ । तर, आचार्य चाणक्यको गुरुकुलको भने कुनै निशानी छैन ।

 

समुन्नत तक्षशिला
तक्षशिला मानव विकास सुचकांकमा संसारभरकै उन्नत स्थलमध्ये एक मानिन्थो । तक्षशिलामा रहेका विश्वविद्यालयमा अध्ययन गर्नका लागि संसारभरबाट विद्यार्थीहरू पुग्थे भन्ने विश्वास गरिन्छ । तक्षशिला नगर विद्या र शिक्षाको महान केन्द्रको रुपमा प्रसिद्ध थियो । वैदिक कालको अन्तिम शताब्दीपूर्व यसको ख्याति त्यति धेरै थिएन । तर बौद्ध युगमा यो क्षेत्र विद्याको सर्वमान्य स्थान बन्यो । बनारस, राजगृह, मिथिला एवं उज्ज्येन जस्ता स्थानबाट विद्यार्थीहरू पढ्न आउँथे । विश्वप्रसिद्ध गुरुहरूबाट अध्यययन गर्न पाउंदा विद्यार्थीहरू पुलकित हुन्थे ।

तक्षशिला राजनीति र शस्त्रविद्याको शिक्षाको केन्द्र थियो । यहाँको शस्त्रविद्यालयमा विभिन्न राज्यका राजकुमारहरू राजनीतिक ज्ञान र शस्त्रविद्या सिक्थे । यहाँका विश्वविद्यालयहरूमा आयुर्वेद र कानुनको पनि विशिष्ठ अध्यापन गराइन्थ्यो । विश्वविद्यालयको पाठयक्रममा आयुर्वेद, धनुर्वेद, हस्तिविद्या, व्याकरण, दर्शनशास्त्र, गणित, ज्योतिष, गणना, वाणिज्य, सर्पविद्या, तन्त्रशास्त्र, संगीत, नृत्य एवं चित्रकला आदिको मुख्य स्थान थियो । गौतम बुद्धका समकालीन केही प्रसिद्ध व्यक्तिहरू तक्षशिला विश्वविद्यालयका विद्यार्थी रहेको इतिहासकारहरू दाबी गर्छन् ।

विष्णु गुप्त आचार्य चाणक्यले तक्षशिला विश्वविद्यालयमा स्नातकसम्म अध्ययन गरे । सम्राट चन्द्रगुप्त मौर्यलाई चारक्यले अध्यापन गराए सोही विश्वविद्यालयमा । पछि, चाणक्य र चन्द्रगुप्त मिलेर विशाल मौर्य साम्राज्यको सुरुवात गरे । सम्राट अशोकको वाल्यकालसम्म चाणक्य मौर्य शासनका मुख्य राजनीतिक सल्लाहकारका रुपमा रहेका थिए । दरबारभित्रको षड्यन्त्रमा चाणक्यको बनबास गए । उहीं नै उनले देह त्याग गरे । २३ सय वर्ष पुरानो र सबैभन्दा प्राचीन माणिक राजनीति शास्त्र नै चाणक्य लिखित चाणक्यको अर्थशास्त्र हो । आजपर्यन्त राजनीतिशास्त्रमा चाणक्य नीति उत्तिकै महत्वपूर्ण मानिन्छ ।

 

तक्षशिला आज
इस्लामिक गणतन्त्र पाकिस्तानले तक्षशिलाको संरक्षण गरी यस क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको छ । प्राचिन तक्षशिलाको खण्डहरको खोजी गर्ने काम बृटिश जनरल कनिङ्घमले सुरु गरेका थिए । तर ठोस काम भने सन् १९२१ पछि हुन थालेको थियो । सर जनरल मार्शलको नेतृत्वमा भएको उत्खनन कार्य पाकिस्तानले आज पनि जारी राखेको छ ।

तक्षशिक्षाका कैयौं स्थानको अवशेष निकालिएको छ । भिन्न भिन्न युगमा तक्षशिला नगरमा विदेशी आक्रमणबाट ध्वस्त भएका वस्ती र सभ्यताको खोजी गर्ने क्रममा फेला परेका पुरातात्विक वस्तुहरूलाई तक्षशिला संग्राहलयमा संरक्षित गरेर राखिएको छ । चीनको ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएनले तक्षसीलाबारे वृत्तचित्र बनाएको छ ।

राष्ट्रसंघीय आयोग युनेस्कोले तक्षशिलालाई सन् १९८० मा विश्व सम्पदा सुचीमा सुचिकृत गरेको थियो । सन् २०१० मा तक्षशिलालाई विश्वका त्यस्ता प्राचिनतम् शहरको सुचीमा सुचिकृत गरियो, जुन शहरहरूमा शासकहरूले नृशंश आक्रमण गरेर सभ्यताकै नाश गरिदिए ।

 

तक्षशिला–लुम्बिनी सम्बन्ध
तक्षशिलाको सम्बन्ध नेपालसँग जोडिएको छ । लुम्बिनी र तक्षशिलाको सम्बन्ध रहेको छ । यसैले अनुसन्धानकर्ताहरूले यी दुई महत्वपूर्ण पुरातात्विक स्थलको सम्बन्धको खोजी गर्न थालेका छन् । काठमाडौंस्थित पाकिस्तानी दूताबासले सेन्टर फर एडभान्स स्टडिज इन साउथ एशियासँगको सहकार्यमा लुम्बिनी र तक्षशिला सम्बन्धबारे गतवर्ष काठमाडौंमा सेमिनार गरेको थियो । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले दुई ऐतिहासिक स्थलको सम्बन्धमा थप खोजी हुनुपर्ने बताएका थिए । सो सेमिनारमा नेपाली अनुसन्धानकर्ता प्रा.डा. अरुण गुप्तो र प्रा.डा. संगीता रायमाझीले पुरातात्विक महत्वको लुम्बिनी र तक्षशिलाबीच गहिरो ऐतिहासिक सम्बन्ध भएको तथ्य प्रस्तुत गरेका थिए ।

नेपालको लुम्बिनीको चर्चा सवत्र्र फैलिएको छ । लुम्बिनीबारे विगतमा फैलाइएको भ्रमपूर्ण प्रचार समाप्त भएका छन् । यद्यपी अझै पनि विश्व समुदायलाई लुम्बिनीबारे नेपालले सही ढंगले मार्केटिङ गर्न सकेको छैन । यसैगरी, तक्षशिलालाई पाकिस्तानले भरपुर मार्केटिङ गर्न सकेको छैन । इस्लामिक गणतन्त्रभित्र संरक्षित गरेर राखिएका बौद्ध र हिन्दु दर्शनसम्बद्ध यो ऐतिहासिक स्थलको संरक्षण, थप उत्खनन थप अध्ययन अनुसन्धान र प्रचारको भने अझ बढी आवश्यक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*