५ चैत्र २०८२, बिहिबार | March 20, 2026

गण्डकीमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुनःदेखियो



कास्की । गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको सङ्क्रमण पुनः देखिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने सो रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ ।

सङ्क्रमण फैलिँदै जाँदा ठूला तथा साना बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको छ । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ । निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाईँ भट्टराईका अनुसार पछिल्लो सङ्क्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोखरामा १३ गरी कुल एक सय १२ बङ्गुरको मृत्यु भएको छ ।

“अफ्रिकन स्वाइन फिभर अत्यन्त सङ्क्रामक तथा उच्च मृत्युदर भएको रोग हो । हालसम्म रोगविरुद्ध भ्याक्सिन उपलब्ध छैन”, महानिर्देशक भट्टराईले भने, “जैविक सुरक्षा एकमात्र विकल्प हो, त्यसैले सचेतनामा केन्द्रीत भएका छौँ ।”

गण्डकी प्रदेशमा गत वर्ष साउन २९ गते पहिलोपटक सङ्क्रमण ‘आउटब्रेक’ भएको थियो । यस रोगका कारण प्रदेशमा हालसम्म १६ हजार पाँच सय ५४ वटा बङ्गुर मरेको निर्देशनालयको तथ्याङ्क छ ।

कास्की जिल्लामा मात्र १५ हजार तीन सय ८८ वटा बङ्गुरको मृत्यु भएको छ । निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले रोगका कारण किसानले रु ५० करोड हाराहारीमा क्षति व्यर्होनुपरेको बताए । “किसानले हामीलाई जानकारी गराएअनुसारको क्षतिको विवरण हो, यसभन्दा बढी पनि क्षति पुगेको हुनसक्छ”, श्रेष्ठले भने ।

निर्देशनालयले रोग पुष्टि भएका क्षेत्रमा स्थलगत अध्ययन, थप सर्भिलेन्सका कार्य, फार्मको निःसङ्क्रमण तथा विभिन्न माध्यमबाट रोगसम्बन्धी जनचेतनामूलक सामग्री प्रचारप्रसारको कार्य भइरहेको जनाएको छ । कास्कीमा यस वर्ष बङ्गुरको सङ्ख्या कम भएकाले मृत्यु सङ्ख्या कम देखिएको निर्देशनालयले जनाएको छ ।

कास्कीमा अघिल्लो वर्ष करिब ५० हजार बङ्गुर थिए । अफ्रिकन स्वाइन फिभर देखिएपछि बङ्गुरको सङ्ख्या घटाउन आग्रह गरेपछि ब्गुरपालक किसानले ९० प्रतिशतसम्म बङ्गुरको सङ्ख्या घटाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताए ।

जिल्लामा हाल पाँच हजारको हाराहारीमा बङ्गुर रहेकाले मृत्यु सङ्ख्या पनि कम देखिएको उनको भनाइ छ । “अघिल्लोपटक पनि किसानलाई फार्ममा बङ्गुर घटाउनुहोस् भनेका थियौँ । तर किसानले एकैचोटी बेच्न समय कुर्दासमेत क्षति बढी भयो”, पाण्डेले भने, “अहिले सङ्ख्या नै कम भएकाले क्षतिको विवरणसमेत कम छ । ठूला फार्ममा निरन्तर झकझकाइरहेका छौँ ।” बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग रोगी सुँगुर, बङ्गुर, बँदेल, जङ्गली बँदेलसँगको सम्पर्कबाट, किर्नाको टोकाइ, मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट र होटल तथा भोजभतेरबाट ल्याइएका जुठो खानाका कारण सर्ने र फैलिन सक्ने बताइन्छ । पशु स्वास्थ्य अधिकृत सुरेश श्रेष्ठले रोगको सङ्क्रमण हुँदा पशुमा उच्च ज्वरो आउने, शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिनेजस्ता लक्षण देखापर्ने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : ४२ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको