१७ पुस २०८२, बिहिबार | January 1, 2026

अतिक्रमणको चपेटामा पुङ्गीखोला



चितवन । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो ।

महानगरपालिकाले पुङ्गीखोला सीमाङ्कन तथा संरक्षण समितिसमेत बनाएको छ । अहिले यो समितिले सिमाना छुट्याउने काम गरिरहेको छ । आधाभन्दा बढी नापजाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाका नापी अधिकृत विकास देवकोटाले बताए । उनका अनुसार पुङ्गीखोला अतिक्रमण गर्नेमा वडा कार्यालयदेखि विभिन्न क्लब रहेका छन् ।

दियालो फुडल्याण्डले पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको उनले बताए । “हामीले अहिले नै यति भन्न सक्ने अवस्था छैन । प्रारम्भिक अनुमान गर्दा दुई कठ्ठा हाराहारीमा अतिक्रमण भएको छ”, उनले भने । पर्खाल र टपमात्र पर्ने घरहरूको सङ्ख्या धेरै रहेको उनले बताए । खोला र नहरबाट तीन मिटर छाडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ । तर कतिपयले खोलाको सिमानाबाटै घर उठाएका छन् । सीमाङ्कनको काम एक महिनाभित्र सकिने उनले बताए ।

भरतपुर महानगरपालिका–२ स्थित रामकृष्ण टोलका रामकृष्ण गुरुङ २०२५ सालमा लमजुङबाट चितवन झर्दा नारायणगढ क्षेत्रमा फाट्टफुट घर थिए । उनी हाल बस्दै आएको रामकृष्ण टोल छेउबाट पुङ्गीखोला फराकिलो हुँदै बग्दथ्यो । आजभोलि त्यो फराकिलो खोला उहाँले देख्न नपाएको बताउँछन । खोला साँघुरिँदै गएको छ । अहिले मानिसले खोला मिच्दै गएका छन् । “यहाँ यो खोला कहीँ साँघुरो र कहीँ फराकिलो हुँदै बग्थ्यो”, पूर्वशिक्षकसमेत रहेका गुरुङले भने, “अहिले ठुल्ठूला मान्छेले खोला अतिक्रमण गरेर संरचना बनाएका छन् ।” स्थानीय तहले खोलाको जग्गा संरक्षण गर्नुपर्ने उनले बताए ।

भरतपुर महानगरपालिका–११ गणेशधामबाट सुरु हुने यो खोला वडा नं २, ३ र वडा नं ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ । साढे छ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं २ मा मिचिएको छ । रामकृष्ण टोल, जलदेवी टोल, समता स्कुल, दुई नम्बर वडा कार्यालय, मिल्स एरिया, वडा नं ३ को आनन्दमार्गमा खोला बढी मिचिएको छ ।

भरतपुर महानगरपालिका वडा नं २ को वडा कार्यालय पूरै खोलाको जमिनमा पर्दछ । भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाट महानगरपालिकाको कार्यापालिकाको बैठकले पारित गरेपछि भवन निर्माण गरिएको बताए । उनका अनुसार खोला र ऐलानी जग्गा गरेर पाँच कठ्ठाको हाराहारीमा वडाले ओगटेको जग्गा छ । यो खोलाको चौडाइ एक नासको छैन ।

सब्जीमण्डी र लायन्सचोकबाट पश्चिमतर्फको एनपिआइ कलेज क्षेत्रमा नक्साको लगतसमेत भएको छैन । यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत सङ्कलन गर्ने एकखालको मौखिक सहमति भएको छ । अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको नापी अधिकृत देवकोटाले बताए ।

महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको पुङ्गीखोलामा तलाउसहित दायाँबायाँ हरियाली उद्यानसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ । अहिले गणेशस्थानबाट कामसमेत सुरु भएको छ । प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा रु एक करोडको लागतमा तलाउ निर्माण र हरियाली उद्यानसहित सौन्दर्यीकरणका काम गरिएको छ ।

गुरुयोजनामा उद्यान, फुटपाथ, साइकल ल्याण्डलगायतका संरचना बन्नेछन् । खोला अतिक्रमण गरेर बनाइएका सम्पूर्ण संरचाना हटाइने भरतपुर महानगरपालिका प्रमुख नरेन्द्रकुमार राना बताउँछन । “खोला अतिक्रमण कसैले गर्न पाउँदैन । बनेका संरचना छन् भने सबै हटाइन्छ”, उनले भने, “वडाको भवन बनेको भए पनि भत्किन्छ ।” तलाउ निर्माण रु ६६ लाखमा सक्नेगरी कायाक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । तलाउ निर्माणपश्चात खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुने बताइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : ३७ बजे

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरुले नदी

समानुपातिकको बन्दसूची सच्याउन आयोगद्वारा दलका प्रतिनिधिसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्युपछि सुनसरीको लौकहीबजार तनावग्रस्त

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्रमा तनाव उत्पन्न

दुई वर्षमा बन्नुपर्ने वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन

चितवन । पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा