२९ असार २०८३, सोमबार | July 13, 2026

खोलो तर्नुछ तपाईंलाई ! हजार रुपैयाँ तिर्न तयार हुनुस



जाजरकोट । भेरी नगरपालिका–४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्यो । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा यादवले एक हजार रुपैयाँ दिएर स्थानीयवासीको सहयोगमा खोला तारेर दल्ली गएको बताए । फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपरेको पीडा यादवले सुनाए ।

३५ किलोमिटर सडकमा अहिले जिपमा जाँदा पनि रु एक हजार भाडा लाग्ने गर्दछ । वर्षायाममा बाटो ठाउँठाउँमा भत्किएको भन्दै रु ४०० मा जान सकिने ठाउँमा अहिले एक हजार भाडा लिन थालिएको छ । बाँके खोला सानो हुँदा रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको सिमबजार र नलगाड नगरपालिकाको कालीमाटीमा सिधा यातायात सेवा हुने गर्छ ।

खोला बढ्ने बित्तिकै बाँके खोलाको दुई किनारामा जिपहरु राखिएको हुन्छ । सोही दुई किनारका काठको फलेकको सहयोगमा खोला पार गरी पारि रहेको अर्को जिपमा बसेर यात्रा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका–८ का विष्णुकुमारी खत्रीले जानकारी दिए ।

बर्सेनि यो ठाउँमा खोलाले दुःख दिने गरेको छ । सोमबार मात्र सोही खोलामा मालवाहक ट्रक फस्दा यातायात सेवा ठप्प भएको थियो ।

जाजरकोट–डोल्पा सडकखण्डको बीचबीचमा १२ खोला छन् । कुनै पनि खोलामा पुल निर्माण भएको छैन । पुल निर्माण नहुँदा तिनै खोलालाई देखाएर यातायात व्यवसायीले चर्को मूल्य असुल्ने गरेका छन् । मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार तिरेर खोला तारेर जानु पर्ने बाध्यता रहेको छ ।

खोलामा पानीको बहाव बढेसँगै यस सडकमा चल्ने खच्चडहरु समेत ठप्प हुने गरेका छन् । ज्यानको बाजी लगाएर खोला तार्दा धेरै पटक घाइते हुनुपरेको खच्चड व्यवसायी मानबहादुर विकले बताए । स्थानीय कमल पुनले भने, “यो खोलामा आफूले थाहा पाउँदासम्म सात जनाको बगेर मृत्यु भइसक्यो । अझै कतिले ज्यान गुमाउने हुन् थाहा छैन ।”

बाँके खोलामा पुल निर्माण शुरु भए पनि पूरा नहुँदा सर्वसाधारणले दुःख पाउँदै आएका छन् । रुकुमपश्चिम, जाजरकोट र डोल्पाका सर्वसाधारण यही खोला तरेर यात्रा गर्छन् । वर्षायाममा खोलाको डर र हिउँदमा धुलाम्य सडकमा यात्रा गर्दा मान्छे नचिनिने अवस्था सिर्जना हुँदै आएको सर्वसाधारणको भनाइ छ । पन्ध्र वर्षसम्म सडकको स्तरोन्नति नहुँदा यात्रुले पीडा भोग्नु परेको हो ।

जाजरकोट–डोल्पा सडकखण्डमा यात्राभन्दा सास्ती बढी भोग्नु परेको छ । नलगाड नदी र धुर्मेखोलामा पुल निर्माण नहुँदा दल्लीबाट तल्लु बगरसम्म अर्को जिप चढेर यात्रा गर्नुपर्ने बाध्यता छ । नलगाड नदी सानो हुँदा काठको फलेकबाट तरेर जाने यातायातका साधनहरु नदीमा पानीको बहाव बढेसँगै ठप्प भएका छन् ।

धुर्मेखोलामा पानीको बहाव बढेसँगै सो ठाउँमा पनि जिपहरु तार्न नसकिएको चालक भीमबहादुर बुढाले बताए । त्यतिमात्र होइन, खलङ्गा–पाँचकटिया सडकखण्ड समेत अवरुद्ध भएको छ ।

यो सडकखण्डको गाराराङ्सीमा पहिरोले सडक अवरुद्ध भएपछि एक महिनादेखि सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायले चासो दिएको छैन । कालीमाटी–बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्रसम्मको सडक भौतिक पूर्वाधार कार्यालयले मर्मतको काम शुरु गरेको छ । -रासस

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ९ : १७ बजे

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल मिडिया

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ