३ चैत्र २०८२, मंगलबार | March 17, 2026

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण



भरतपुर । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे ।

सो अवसरमा उनले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए । “पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो”, उनले भने, “टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौँ ।”

अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरुको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरिएको बताए । “घडेरी सम्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो”, उनले भने, “अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।” उनले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिए ।

गाउँपालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष माया सिलवाल धेरैको आकाङ्क्षा भए पनि बिहान–बेलुका हातमुख जोर्न पनि समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताइन । उनले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिइन ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनले घर नभएका र खरको झुप्रोमा बस्दै आएकाहरूलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बताए । पालिकाले आगमी आवका लागि रु तीन करोड ३० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

वर्षौँदेखि खरको झुप्रोमा बस्दै आएका इच्छाकामना –७ सुन्दरबस्तीका अइतराम प्रजा घामपानीमा अन्यको घर ओत लाग्न जानुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले पालिकाले दुई कोठाको घर निर्माण गरिदिएपछि खुसी लागेको जनाउँदै अब जीवनयापनमा सहज हुने बताए ।

इच्छाकामना–१ कोलभन्ज्याङका अरसल चेपाङ भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताए । उनले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएकामा खुसी व्यक्त गरे । “गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छजनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ”, उनले भने । इच्छाकामनामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ७ : १६ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन