२२ माघ २०८२, बिहिबार | February 5, 2026

अब सबै बस भैरहवा बसपार्कबाट



भैरहवा । भैरहवाबाट अव्यस्थित रुपमा सञ्चालन हुँदै आएको लुम्बिनी सडकको बसपार्क तथा यति होटल अगाडिको बसपार्क अब हटाइने भएको छ । भैरहवामा रहेको सिद्धार्थ बसपार्कलाई जिरो प्वाइन्ट मानी सबै बस अब त्यहीँबाट सञ्चालन हुने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहवरमा आज भैरहवामा बसेको सर्वपक्षीय बैठकले एक बसपार्क नीतिलाई अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ । भैरहवालाई सुन्दर र व्यवस्थित बनाउन भैरहवामा रहेको यति होटल अगाडिको तथा लुम्बिनी सडकको बसपार्कलाई त्यहाँबाट हटाउने, सिद्धार्थ बसपार्कलाई जिरो प्वाइन्ट मानी लामो तथा छोटो दूरीका सबै बस त्यहीँबाट सञ्चालन गर्ने, सिद्धार्थनगर नगरपालिकाले लिँदै आएको करलगायत अन्य सुविधा बसपार्कबाट नै गर्ने तथा एक महिनाभित्र बसपार्कमा शौचालय, खानेपानीलगायत आधारभूत आवश्कता पूरा गर्ने सहमति भएको छ ।

यस्तै लामो दूरीका बस बेलहियामा मात्रै अधिकतम आधा घण्टाको समय दिएर जान दिने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । विसं २०५६ मा करिब १६ बिघा क्षेत्रफलमा निर्माण भएको सिद्धार्थ बसपार्क प्रयोगविहीन अवस्थामा थियो । भैरहवामा सिद्धार्थ बसपार्क, यति होटल अगाडि, लुम्बिनी सडक र बेलहिया गरी चारवटा बसपार्क सञ्चालनमा थिए ।

विसं २०५८ मा यस विषयमा सहमति भए पनि कार्यान्वयन भने हुन सकेको थिएन । बैठकमा सहभागी पश्चिम नेपाल बस व्यवसायी प्रालीका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे र सिद्धार्थ यातायात प्रालीका अध्यक्ष सञ्जिव रोक्काले प्रशासनले सहर व्यवस्थित बनाउन गरेको प्रयासमा आफूहरुले सहयोग गर्ने बताए । उनीहरुले प्रशासनले तोकेको समय अवधिभित्र नै लुम्बिनी सडक र यति होटल अगाडिको पार्किङ हटाएर बसपार्कबाट सञ्चालन गरिने बताए ।

यस्तै बैठकले भैरहवामा पाँच सय रिक्सालाई मात्र दर्तागरी सञ्चालन गर्ने कार्यविधिलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । सिद्धार्थनगर नगरपालिकाले रिक्सा दर्ता गर्न दिएको समय अवधिमा सो सङ्ख्या नपुगेका कारण १५ दिनको म्याद थपगरी दर्ताका लागि आह्वान गर्ने निर्णय भएको छ । नगरपालिकाका भित्री बाटोमा सञ्चालन गर्न चाहने रिक्सा धनीले व्लुबुक, रुट परमिट, चालक अनुमतिपत्र, बिमालगायत कागजात राखी दर्ताका लागि निवदेन दिन सक्नेछन् । दर्ता नभएका अन्य रिक्सालाई भने नगरमा सञ्चालन गर्न नदिने भएको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँनले भैरहवा बसपार्कलाई सञ्चालन गर्न आवश्यक रहेको बताउँदै यसमा सहयोग गरिदिन सबैलाई आग्रह गरे । भैरहवा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थान रहेकाले यसको विकासमा सबैको साथ अपरिहार्य रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : ४१ बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा