१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मल नपाएर तड्पिएका किसानलाई साल्ट ट्रेडिङको त्राण, युरिया मल वितरण सुरु



काठमाडौं । यसपाला निकै राम्रो पानी पर्यो । किसानहरु औधी खुशी भए । समयमै पानी परेपछि मानो उब्जाएर मुरी फलाउने समयलाई उनीहरुले उपयोग गरिहाले । त्यसो त बीऊ छर्ने बेलादेखि नै मौसमले किसानलाई साथ दिएकै थियो ।

साथ नपाएको यौटा मात्रै चिज थियो खोजेको बेलामा मल नपाउनु । मल बिना नै किसानले बीऊ छरे । असारमा खेत रोपे । कृषि विज्ञहरुका अनुसार रोपेको ३० देखि ३५ दिनभित्र खेतमा मल हाल्नुपर्छ । अनिमात्र माटोको उत्पादकत्व बढ्छ । खेती राम्रो हुन्छ ।

रोप्ने बेलासम्म पनि मल नपाएका देशभरका किसान गोडमेल गर्ने बेलासम्म मल पाउने आशामा तड्पिएका थिए । आशा गरिएको समय घर्किएपछि नै भएपछि अब भने किसानका लागि केही राहत हुनेभएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको पहिलो लटको २५ सय मेट्रिक टन युरिया मल वीरगन्जस्थित गोदाम आइपुगेको छ ।

लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएको रहेको २५ सय टन रासायनिक मल (युरिया मल) वीरगन्ज आइपुगेको हो । सो मललाई साल्ट ट्रेडिङले वितरण समेत सुरु गरिसकेको छ । यो मलले मल अभावमा छट्पटिएका किसानको पीडामा थोरै भएपनि मल्हमपट्टी लाग्ने भएको छ ।

मंगलबार राति आइपुगेको मललाई कत्ति पनि ढिलाई नगरी साल्ट ट्रेडिङले वितरण समेत सुरु गरिसकेको छ । मल आउने वित्तिकै वितरणको प्रक्रिया मिलाइसकेको साल्ट ट्रेडिङले बुधबार मात्रै २३० मेट्रिक टन मल भैरहवा सेक्टरमा पठाएको छ । भैरहवा सेक्टरले पश्चिमका जिल्लाहरुमा समेत समानुपातिक मल वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन वीरगन्जका प्रमुख अजोस लामिछानेले बताए । लामिछानेले खबरकुराँसग भने, ‘बुधरबारबाट अनलोडिङ सुरु गरेका छौं । भैरहवा सेक्टरमा २३० टन पठाइसक्यौं । आज (बिहीबार) पनि हामीले वितरण गर्दैछौं । त्यसका लागि ३०–४० वटा ट्रकको खोजी गरिरहेका छौं ।’ २५ सय टनमा लमसम ५० हजार बोरा हुन्छ ।

‘लकडाउन र निषेधाज्ञाका कारण मालवाहक ट्रकहरु समेत पाउन मुस्किल परेको छ तर हामी कत्ति पनि ढिला नगरी किसानलाई मल वितरण गर्न हतारिएका छौं’, लामिछानेले भने, ‘मललाई केन्द्रको निर्देशनअनुसार प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका जिल्लामा मल पुर्याउँदैछौं ।’

अहिले तत्कालै सिन्धुलीदेखि महेन्द्रनगरसम्मका १९ जिल्लामा मल पुर्याउने साल्ट ट्रेडिङ कर्पोरेशनको योजना रहेको छ । लामिछानेले भने, ‘अर्को २५ सय टन मल पनि आइपुग्दैछ । अहिले पठाउन नसकिएका जिल्लामा त्यो मल पठाउँछौं ।’

साल्ट ट्रेडिङ कर्पोरेसनको वीरगञ्जका गोदामहरूमा मल राख्ने काम सुरु गरिसकिएको छ । बारा पर्सा र रौतहटका लागि १६ गाडी मल वीरगन्जकै गोदामबाट वितरण गर्ने योजना साल्ट ट्रेडिङको रहेको छ । स्थानीय कृषि सहकारीहरूलाई शुक्रबारदेखि मल वितरण गरिने योजना रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन वीरगन्ज प्रमुख लामिछानेका अनुसार अहिले तत्कालको लागि ३० देखि ५० बोरा एक सहकारीलाई दिने लक्ष्य रहेको छ । जिल्लाको कोटामा कति मल पर्छ त्यहीअनुसार वितरण गरिन्छ ।’

मल वितरणको तालिका कृषि मन्त्रालयले नै मिलाएको हो । मन्त्रालयको समन्वयमा साल्ट ट्रेडिङले कुन कुन जिल्लामा मल पठाउने भनेर तालिका बनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरेको यो युरिया रासायनिक मलमा सरकारको एक हजार २४७ रुपियाँ २६ पैसा प्रतिबोरा अनुदान रहेको छ । एक हजार ९४७ रुपियाँ २६ पैसा औसत मूल्यमा आयात गरिएको यो युरिया मलको ५० किलोग्रामको बोरालाई किसानले औसत मूल्य सात सय रुपैयाँमा पाउन सक्छन् । सरकारको अनुदान रकमका कारण किसानले औसत मूल्य न्यून भएपनि कतिपय सहकारीहरुले भने बढी मूल्य लिनेगरेका छन् ।

यो सिजनका लागि साल्ट ट्रेडिङ कर्पोरेसनले २१ हजार पाँच सय मेट्रिक टन युरिया मल आयातको कोटा पाएको थियो । मल्टि कमोडिटिज नामक आयातकर्ता कम्पनीले मल ल्याउने जिम्मा लिएको थियो । सोही मल अहिले वीरगन्ज आउन सुरु भएको हो । जोशी विज हाउसले १० हजार ५०० मेट्रिक टन मल ल्याउँदै छ । यसमध्येको जोशी विज हाउसले ल्याउँदै गरेको साल्ट ट्रेडिङका लागि २५ सय मेट्रिक टन मल भोलि (शुक्रबार) वीरगन्ज पुग्ने बताइएको छ ।

पूर्वका जिल्लाहरुका लागि सिधै ट्रकबाटै मल आयात भएको छ । मल्टि कमोडिटिजमार्फत ल्याइएको २ हजार मेट्रिक टन युरिया ट्रकबाटै विराटनगर पुगेको छ । लामो समय कलकत्तामा अड्किएको मल नेपाल भित्रिन सुरु गरेपछि अब भने किसानहरुका लगि केही राहत मिल्ने भएको छ ।

 

डीएपी भिज्यो

त्यसो त, सिर्सिया बन्दरगाहमा आइपुगेको डीएपी मलको ठूलो परिणाम पानीले भिजेर प्रयोगहीन अवस्थामा पुगेको छ ।

साल्ट ट्रेडिङले आयात गरेको २४ हजार ७२५ मेट्रिक टन डीएपी मध्ये कर्पोरेशनको गोदाममा १७,९२५ मेट्रिक टन मल प्राप्त भैसकेको छ । बाँकी ६ हजार ८०० मेट्रिक टन मल भिजेर काम नलाग्ने अवस्थामा पुगेको हो । कर्पोरेशन आयात गरेको डीएपी मल २ खेपमा (१२ हजार ५०० र १२ हजार २२५ मेट्रिक टन) ल्याइएको थियो ।

बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण कलकत्तामा मल भिजेको बताइएको छ । । नेपालमा आयातित उक्त क्षतिग्रस्त मल भारतमा व्यवस्थापन गर्न नमिल्ने भएका कारण नेपाल भित्र्याउनुपर्ने नै भएका कारण आपूर्तिकर्ताले मल नेपाल ल्याइएको स्पष्ट पारेको छ ।
तर, प्रयोगबिहीन अवस्थामा पुगेको मलमा आफ्नो कुनै दायित्व नरहने साल्ट ट्रेडिङले स्पष्ट पारेको छ ।

क्षति भएको मलको परिणाको लागि आपूर्तिकर्ता आफैले बीमा दाबी गरी क्षतिपूर्ति प्राप्त गर्ने भएकाले सरकार र कर्पोरेशनलाई कुनै हानी नपुग्ने र कुनै किसिमको दायित्व पर्ने अवस्था नरहेको साल्ट ट्रेडिङले कृषि तथा पशुपंक्षी मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

कर्पोरेशनका अनुसार तोकिएको गुणस्तरयुक्त मल मात्र बुझिलिने र सोही परणामको मात्र भूक्तानी गर्नेगरी व्यवस्था मिलाएको छ । क्षतिग्रस्त मलको सुरक्षित व्यवस्थापन गर्ने काम समेत आपूर्तिकर्ताकै पहलमा हुनेछ ।’

मल व्यवस्थापन गर्नेगरी भन्सार जाँचपासको व्यवस्था मिलाउन साल्ट ट्रेडिङले सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया बन्दगरगाहलाई समेत आग्रह गरेको छ ।

 

कृषि सामाग्रीको मल आउँछ कहिले ?

हुन त, सबैभन्दा धेरै परिणाममा मल आयात गर्ने जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडले पाएको थियो । तर, कम्पनीले मल ल्याउनै सकेको छैन । कृषि सामाग्री कम्पनी लिमिटेडसँग सम्झौता गरेको कम्पनी शैलुङ इन्टरप्राइजेजले मल ल्याउने पहल नगरेकै कारण मल समयमा आएन । शैलुङ इन्टरप्राइजेज सडक निर्माणमा चरम लापरवाही गर्दै आएको ठकेदार सारदा अधिकारीको कम्पनी हो ।

अहिलेसम्म पनि शैलुङले ल्याउने भनेको मल कता छ, स्वयं कृषि सामाग्री कम्पनी लिमिटेडलाई नै थाहा छैन । जवाफ दिने तालुकदार मन्त्रालय भने साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याउँदै गरेको र ल्याएको मललाई देखाएर उम्कने गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  ११ : ४४ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष