बुटवल । बुटवल उपमहानगरपालिकामा करिब १० हजार किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न राष्ट्रव्यापी रूपमा सञ्चालन हुने एचपिभी खोप अभियानमा बुटवलमा ९ हजार ९६१ जना किशोरीहरूलाई खोप लगाइने उपमहानगरपालिकाले जनाएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले खोप कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । उनका अनुसार बुटवलमा माघ २२ गतेदेखि २९ गतेसम्म यो खोप कार्यक्रम सञ्चालन हुँदैछ ।
खोप अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई एचपिभी खोप लगाउने गरी तयारी गरीएको उनले बताए ।
यहाँ खोप लगाउन कुल ८३ वटा खोप केन्द्र निर्धारण गरिएको छ । बुटवल भित्रका ७० वटा विद्यालय, १२ वटा स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा खोप अभियानमा छुटेकाहरुलाई आम्दा अस्पतालमा माघ २८ र २९ गते दुई दिन खोप लगाइने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । बुटवलमा आवश्यक खोपको मात्रासमेत आइसकेको उनले बताए । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन खोप दिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने स्वयमसेवकहरु तथा सरोकारवाला पक्षसँग छलफल तथा अभिमुकिकरणका कार्यक्रमहरु गरिएको उनले बताए ।
नेपालमा एक दिनमा ४ जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेकाले किशोरीलाई खोप लगाउँदा भविष्यमा हुने क्यान्सरबाट बच्न सकिने उपमहानगरपालिका खोप फोकल प्रर्शन कल्पना भुसालले बताइन् ।
शारीरिक सम्पर्कमा आउनुभन्दा पहिला यो खोप लगाउँदा प्रभावकारी हुने भएकाले यो अभियानमा १० देखि १४ वर्ष उमेर समूहका किशोरी छनोट गरिएको उनले बताइन् । बुटवलमा खोप अभियानका लागि १७२ जना स्वास्थ्य स्वयम् सेविका, ७० जना विद्यालयका शिक्षिका तथा नर्स र ४६ जना स्वास्थ्यकर्मी खटिनेछन् ।



















प्रतिक्रिया