३ जेष्ठ २०८३, आइतबार | May 18, 2026

‘सङ्क्रमणकालीन न्याय निरुपणका लागि राजनीतिक सहमति आवश्यक’



ललितपुर । सङ्क्रमणकालीन न्याय निरुपणका लागि शीर्ष तहमा राजनीतिक सहमति आवश्यक रहेकामा सरोकारवालाहरुले जोड दिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज यहाँ आयोजित ‘सङ्क्रमणकालीन न्याय र पीडितको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्राप्ति विषयक’ अन्तरक्रियामा विज्ञ, मानवअधिकारकर्मी, द्वन्द्वपीडित, कानुन व्यवसायीलगायतले द्वन्द्वकालमा भएका घटनाबाट पीडितलाई न्याय, परिपूरण र पीडकलाई दण्ड दिने विषयमा राजनीतिक तहमा सहमति भई न्यायिक निरुपणको बाटो खुल्नुपर्ने धारणा राखेका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तको कार्यालयको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार शाखा प्रमुख प्रदीप वाग्लेले सङ्क्रमणकालीन न्याय देशको आवश्यकता र समस्याअनुसार फरकफरक हुनसक्ने बताए । “सबै पीडितले परिपूरण पाउनुपर्छ, पीडितको अवस्थाको आधारमा पाउनुपर्ने विशेष परिपूरणलाई अझै जोड दिनुपर्छ, द्वन्द्वको दिगो व्यवस्थापनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग आवश्यक छ”, उनले भने ।

राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त मनोज दुवाडीले विसं २०५२ मा सशस्त्र द्वन्द्व सुरु हुँदा सरकारलाई बुझाइएको ४० बुँदे मागमध्ये दुई तिहाइ माग आर्थिक सामाजिक विषयवस्तुमा आधारित रहेको बताउँदै विसं २०६३ को शान्ति सम्झौतामा पनि यी कुराहरु उल्लेख भएको स्मरण गराए ।

उनले राष्ट्रिय मानवअधिकार आयोगलाई प्राप्त अधिकारअनुुसार ७८ प्रतिशत उजुरीका निर्णय गरेर रु ३२ करोड क्षतिपूर्ति दिन सिफारिस गरेको र सिफारिसका आधारमा सरकारले रु सात करोड विनियोजन गरेको बताए ।

त्यसैगरी आयोगकै अर्का आयुक्त डा सूर्य ढुङ्गेलले सामूहिक प्रयासबाट सङ्क्रमणकालीन न्याय निरुपण प्रक्रिया सम्पन्न हुने धारणा राखे ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव खेमराज ज्ञवालीले सङ्क्रमणकालीन न्याय विश्वका लागि चुनौतीको विषय भएको बताउँदै न्यायिक निरुपणका सन्दर्भमा राज्यका लागि एउटामात्रै व्यक्तिले चाहँदा पनि धेरै काम गर्नसकिने उल्लेख गरे ।

उनले आयोगका कर्मचारी तहबाट नियमावली र कार्यविधि बनाउने प्रयास भइरहेको जानकारी दिए । पदाधिकारी आएपछि समयबद्ध रुपमा काम गर्ने उनले प्रतिबद्धता जनाए ।

द्वन्द्वपीडित सुमन अधिकारीले द्वन्द्वपीडितले उपचार नपाएर मर्नुपर्ने अवस्था रहेको विषयप्रति ध्यानाकर्षण गराए । उनले सङ्क्रमणकालीन न्यायिक निरुपणमा पीडितको सन्तुष्टिलाई ध्यान दिइनुपर्ने, आर्थिक सामाजिक अधिकारका विषयलाई ध्यान दिएर परिपूरणको व्यवस्था गर्न माग गरे।

अर्का द्वन्द्व पीडित धर्मराज न्यौपानेले पीडितले न्याय नपाएको अवस्था रहिरहेसम्म दिगो शान्ति र स्थायित्व कायम हुन नसक्ने धारणा राखे ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : ३९ बजे

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम