१४ असार २०८३, आइतबार | June 28, 2026

‘संवत्सर फलका आधारमा विसं २०८२ राम्रो छ’



काठमाडौँ । संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेकामा ज्योतिषशास्त्रीहरूको एक मत रहेको छ ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल र सामुदायिक विकास नेपालले यहाँ संयुक्त रूपमा आयोजना गरेको ‘ज्योतिषशास्त्रीय दृष्टिमा विसं २०८२ कस्तो रहला ?’ विषयक अन्तरक्रियामा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले नयाँ वर्षमा शासक र जनताका बीचको वैमनस्यभाव नाश हुने ग्रहयोग रहेको बताए । २०८२ साल चैतमा भने रौद्र नामको संवत्सर सुरू भई केही नकारात्मकता हुने देखिए पनि वर्ष समग्रमा शुभ फल प्राप्त हुने देखिएको बताए ।

संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले चन्द्रार्क वर्ष परेको २०८२ सालको पहिलो दिनमा अग्निवास र शिववास पनि जुरेका कारण शुभ सङ्केत देखा पर्ने भनाइ राखे । मेष राशिमा सूर्य र तुला राशिमा चन्द्रमा परेर समसप्तक एवं चन्द्रार्क वर्ष हुने यस्तो योग ७२ वर्षमा बन्ने गरेको पनि उनले सुनाए । यस वर्षको असोज, कात्तिक, फागुन र चैत महिनामा केही नकारात्मक हुने ग्रहयोग देखा परे पनि अरू महिना ज्योतिष शास्त्रीय दृष्टिमा राम्रो रहेको बताए ।

ज्योतिष एवं वास्तुशास्त्री शिवप्रसाद पोखरेलले ग्रहको उदय एवं अस्तले पनि शुभाशुभ फल निर्धारणमा फरक पार्ने गरेकाले यस्ता विषयमा ध्यानाकर्षण गराए । नेपालमा नराम्रा घटनाको सङ्केत भीमेश्वरमा आउने पसिनाले पनि गर्ने भएकाले तत्काल शान्ति आदि विधिको प्रयोग गरिनुपर्ने बताए ।

महिला ज्योतिष सङ्घका अध्यक्ष रतिदेवी श्रेष्ठले २०८१ सालमा कालयुक्त नामक संवत्सर परेर केही नकारात्मक घटना भए पनि २०८२ साल लागेसँगै सिद्धार्थी नामक संवत्सर सुरू भइसकेकाले सकारात्मक घटना नै बढी हुने देखिएको बताइन् ।

विश्व ज्योतिष महासङ्घका उपाध्यक्ष चिन्तामणि पोखरेलले नयाँ वर्षमा मध्य पहाडामा राम्रो वर्षा भई उत्पादन बढ्ने बताए । अन्य भागमा तुलनात्मक रूपमा कम वर्षा भई केही समस्या हुने उनले सुनाए । धार्मिक अभियानकर्मी धर्मराज बरालले ज्योतिष र पञ्चाङ्ग क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा आयोजक संस्था धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपालका अध्यक्ष पूर्णप्रसाद मिश्र, सामुदायिक विकास नेपालका अध्यक्ष मनिषा पोखरेल निरौलालगायतले सूर्य र चन्द्रमाको ग्रहण लाग्ने विषय गणित गरेर निकालिएजस्तै प्रामाणिक गणितबाट ज्योतिषी फलादेश हुने गरेकाले यस्तो विद्याको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । ग्रह गणितका आधारमा फलादेश गरिने ज्योतिष वैज्ञानिक विधा भए पनि जोखना हेर्ने शास्त्रका रूपमा मात्र यसलाई लिएकाले त्यस्ता भ्रम चिर्न कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १२ : ४० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट