१३ असार २०८३, शनिबार | June 27, 2026

अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाइने



म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ ।

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा आगामी जेठ १६ देखि २२ गतेसम्म हिरक महोत्सव मनाउने कार्यक्रम तय भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

“आरोहणको ७५ वर्षपछि पहिलो पटक सम्बन्धित भूगोलमा महोत्सव मनाउन लागिएको हो”, उनले भने, “हर्गोजको टोलीबाट भएको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तरराष्ट्रियकरण भएकाले हिरक महोत्सव आयोजना गरिएको हो ।”

यसअघि काठमाडौं र पोखरामा कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । महोत्सवको अवसरमा जेठ १६ देखि १९ गतेसम्म नारच्याङदेखि अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा, १९ गते प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्गोजले लेखेर फ्रान्सेली राजदुतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम तय भएको छ ।

जेठ १९ र २० गते अन्नपूर्ण गाउँपालिकाका आठ वटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुख्र्यौली नृत्य तथा झाँकी प्रदर्शनी, खुला नृत्य, २० गते आधार शिविरदेखि नारच्याङसम्म म्याराथन दौड प्रतियोगिता, आधार शिविरमा राखिएका आरोहीका शालिक अनावरण, सङ्ग्रहालय र मौरिस हर्गोज पदमार्गको उद्घाटन, मूल समारोह, सम्मान तथा पुरस्कार वितरण र २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा महोत्सवमा समापन गर्ने कार्यक्रम तय भएको अध्यक्ष पुनले बताए।

अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक भएर महोत्सव गर्न लागिएको हो । महोत्सव व्यवस्थापनका लागि नारच्याङको वडा कार्यालय, सिर्जनशिल आमा समूह, अन्नपूर्ण र जनजागरण युवा क्लबलाई जिम्मेवारी दिइएको छ । गाउँपालिका अध्यक्ष पुनको नेतृत्वमा गठन भएको मूल समारोह समितिले विभिन्न उपसमिति गठन गरेर महोत्सवको तयारी थालेको छ । नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ ।

पदमार्गको प्रचारप्रसार गर्न प्रवेश विन्दुमा पर्ने नारच्याङमा विसं २०७७ मा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको थियो । कास्की र म्याग्दीका दुई वटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ । रासस

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : ५९ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट