१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कोरोनापछि कर्णाली प्रदेशमा थपिए ४५ आईसीयू र २० भेन्टिलेटर



कर्णाली । कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष ९आइसियू० १७ शैया र भेन्टिलेटर छ वटा मात्रै थिए ।

प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर सेवा थिएन । अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरुमा गरी ६२ शैया आइसियू र २६ वटा भेन्टिलेटर थपिएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा हाल २० शय्या आइसियू र सात वटा भेन्टिलेटर जडान गरिएको छ ।

योसँगै अस्पतालमा आइसियूको सङ्ख्या २५ र भेन्टिलेटरको सङ्ख्या १० पुर्‍याइएको छ । सङ्घअन्तर्गत सञ्चालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रदेश सरकारको सहयोगमा पूर्वाधार थप गरिएको छ । यसअघि आइसियू तीन शैया र भेन्टिलेटर पाँच रहेकामा कोरोना महामारी बढेसँगै त्यहाँ आइसियू शैया १० र भेन्टिलेटर छ पुर्‍याइएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना महामारीअघि जुम्ला र सुर्खेतबाहेक कर्णालीका अन्य जिल्लामा आइसियू र भेन्टिलेटर सेवा थिएन । सामान्य बिरामीलाई समेत सुर्खेत पठाउनुपर्ने बाध्यता थियो । हाल डोल्पाबाहेक सबै जिल्ला अस्पतालमा आइसियू र भेन्टिलेटर जडान गरिएको छ । डोल्पामा पनि छिटै जडान गर्ने प्रदेश सरकारको तयारी छ ।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले कोरोना महामारीकै अवधिमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी ३०० शैयाको पूर्वाधार विकास गरिएको जनाएको छ ।

त्यस्तै, हरेक जिल्ला अस्पताललाई कम्तीमा ५० शय्याको लागि भौतिक व्यवस्था हुने गरी स्रोत साधनको व्यवस्थापन गरिएको छ ।
सामाजिक विकासमन्त्री दल रावलले कोरोनाले चुनौती मात्र नभई स्वास्थ्य क्षेत्रमा लगानी गर्ने विशेष अवसर दिएको बताए । ‘स्थापनाको वर्षौंसम्म आइसियू र भेन्टिलेटर नदेखेका अस्पतालले पाँच महिनामै ती सेवा सञ्चालन गरेका छन्,’ उनले भने, ‘गम्भीर बिरामीलाई पनि जिल्लामै उपचार गर्न सकिने वातावरण सिर्जना गरिएको छ, यो ठूलो उपलब्धि हो ।’

मन्त्री रावलले पूर्वाधार निर्माण, औषधि उपकरणसँगै जनशक्ति व्यवस्थापनमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । आइसियू र भेन्टिलेटर पुगेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर छिटै सेवा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका २७ स्थानमा विशेषज्ञ उपचार सेवा शुरु गरिएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा २५ शैया आइसियू, सात भेन्टिलेटर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० आइसियू र छ भेन्टिलेटर, मुगु जिल्ला अस्पतालमा दुई शैया आइसियू र एक भेन्टिलेटर, हुम्लामा पाँच शैया आइसियू र दुई भेन्टिलेटर थप गरिएको छ ।

त्यस्तै कालीकोटमा पाँच शैया आइसियू र दुई भेन्टिलेटर, दैलेखमा पाँच शैया आइसियू र दुई भेन्टिलेटर, जाजरकोटमा दुई शैया आइसियू र एक भेन्टिलेटर र रुकुमपश्चिम मुसीकोट जिल्ला अस्पतालमा दुई शैया आइसियू र एक भेन्टिलेटर सेवा थपिएको छ । सल्यानमा दुई शैया आइसियू, एक भेन्टिलेटर, रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा चार शैया आइसियू र तीन भेन्टिलेटर सेवा सञ्चालनमा ल्याइएको छ ।

प्रदेशमा हाल २० अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र, ३३५ स्वास्थ्य चौकी, एक आयुर्वेद औषधालय र ३०४ बर्थिङ सेन्टर सञ्चालित छन् । यसैबीच, कर्णालीका सबै जिल्लामा सहज अक्सिजन पुर्‍याउने उद्देश्यले सुर्खेतमा ठूलो क्षमताको अक्सिजन प्लान्ट शुरु गर्न लागिएको छ । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले दैनिक ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट शुरु गर्न थालिएको बताए ।

यसअघि प्रदेश अस्पतालमा दैनिक १० देखि १२ सिलिन्डर अक्सिजन उत्पादन हुन्थ्यो । हाल त्यसको क्षमता वृद्धि गरेर ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी काम थालिएको हो । अक्सिजन प्लान्ट शुरु गर्न ठूलो क्षमताको मेसिन ल्याइएको छ । कोरोनाका कारण जडान गर्ने प्राविधिक आइपुगेका छैनन् ।

झण्डै तीन करोडको लगानीमा अक्सिजन प्लान्ट शुरु हुन थालेको हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये जुम्ला र सुर्खेत मात्रै अक्सिजन प्लान्ट छ । रासस

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  १ : ३१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले