२६ बैशाख २०८३, शनिबार | May 9, 2026

७६ वर्षिय ईश्वरी कर्माचार्यका दुई कृति एकसाथ लोकार्पण



काठमाडौं । लेखक ईश्वरी कर्माचार्यद्वारा लिखित २ वटा कृतिको एकैसाथ लोकार्पशण गरिएको छ । लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचनका क्रममा वरिष्ठ नागरिक कर्माचार्यका दुई कृति ‘गङ्गाजल’ र ‘प्रत्यागत’ लोकार्पण गरिएको हो ।

पुस्तक लोकार्पणसँगै कार्यक्रममा प्रतिनिधिमूलक प्रतिरोधी स्वरहरू गुन्जिएका थिए । कार्यक्रममा पुस्तक लोकार्पण गर्दै प्राज्ञ परिषद् सदस्य एवम् मूर्धन्य साहित्यकार डा. कृष्णराज अधिकारीले हरेक लेखकले किन लेख्ने ?, कसका निम्ति लेख्ने ?, कसरी लेख्ने र कुन विधा लेख्ने ? भन्ने कुरामा लेख्नु अगावै प्रस्ट हुनुपर्ने बताए । उनले भाव, कल्पना, विम्ब, प्रतीक, अनुभूतिको बेजोड सङ्गम बनाउन साधनाको दरकार हुने तर्क गरे । लेखनले समाजलाई अग्रगति दियो भने त्यो उत्कृष्ट र कालजयी हुने उनको कथन थियो ।

कृतिबारे टिप्पणी गर्दै प्रगतिवादी सर्जक तथा समालोचक डा. हरिप्रसाद सिलवालले कर्माचार्यको उपन्यास ‘प्रत्यागत’को मुक्तकण्ठले प्रशंसा गरे । उनले माटोको प्रेम र रागात्मक प्रेमलाई दुई भागमा विभक्त गर्दै यसमा दुवै कुरा समेटिएको बताए । रागात्मक प्रेममा विफल पात्र देशप्रेममा भने निकै सफल भएको टिप्पणी गरे । सामान्य त्रुटिलाई सामान्यै रूपले अर्थ्याउनुपर्ने भन्दै पुस्तकको सन्देश असामान्य र उच्चस्तरको भएको जिकिर गरे ।

कर्माचार्यकै अर्को कृति ‘गङ्गाजल’को परिचर्चा गर्दै नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा प्रगतिवादी साहित्यकार दिल पौडेलले पुस्तकमा समेटिएका कतिपय विषयले समाजलाई दिग्भ्रमित गर्न सक्ने भन्दै अन्य विषय समुचित भएको बताए । उनले अनुक्रममा राखिएका हरेक शीर्षकको साङ्गोपाङ्ग शल्यक्रिया गरे ।

लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले विधागत रचना वाचन गरिने मासिक कार्यक्रममा यो पटक ‘प्रतिरोधी स्वरहरू’लाई समेटिएको बताए । यसमा सहभागी हुन हेटौंडा र रौतहटबाट पनि कविहरू सम्मिलित भएकोमा कविहरूप्रति कृतज्ञता ज्ञापन गरे । पाँच जना कविले तीन करोड नेपालीको आवाज प्रतिनिधित्व गर्ने दाबी गर्दै समाजको रूपान्तरणको माहोल यस्तै जागरण कविताबाट सम्भव हुने तर्क गरे ।

कृतिकार ईश्वरी कर्माचार्यले आफूले ७६ वर्षको उमेरबाट सिर्जनात्मक कर्मको प्रारम्भ गरेको भन्दै यसबाट अन्य तन्नेरीहरूले पाठ सिक्नुपर्ने धारणा राखे । ‘सम्भवतः मेरी कान्छी श्रीमतीसँग सम्बन्धविच्छेद नभएको भए म यस कर्ममा संलग्न नहुन पनि सक्थेँ होला । यसर्थ उनी पनि मेरो सिर्जनशील कामको नकारात्मक प्रेरक हुन्,’ उनको प्रस्टोक्ति थियो । उपस्थित पाहुनाहरू, परिवारजन र लोमश वाङ्मयप्रति उनी बेसी नै अनुगृहीत भए । प्रकाशक मित्र प्रेसका सञ्चालक उत्तमकुमार श्रेष्ठलाई पनि कर्माचार्यले आभार प्रकट गरे ।

‘प्रतिरोधी स्वरहरू’ अन्तर्गत विशेष कविका रूपमा निम्त्याइएका कविहरू केशव सिलवाल, यश लामा, शोभा दुलाल र दिल पौडेलले समाजलाई सकारात्मक रूपान्तरण गर्न ऊर्जा थप्ने प्रगतिवादी कविता वाचन गरे भने पुरूषोत्तम आचार्यले भने छन्दोबद्ध कविता मात्र वाचन गरेनन् बरू एउटा जनश्रमिक उत्थानको गीत पनि गाए ।

कार्यक्रममा कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, खुसीराम डौलिया, सञ्जय सोती, बलराम विष्ट, गोपालकृष्ण अधिकारी, हरिप्रसाद घिमिरे, तीर्थराज अधिकारी, सुगीता शाह, समाश्री, गोमा चालिसे, दिलकुमारी डङ्गोल लगायतका डेढ दर्जन सर्जकले आआफ्ना रचना पस्केका थिए । यसरी नै समारोहस्थल प्रारम्भ वर्ल्डका झन्डै एक दर्जन बाल स्रष्टाले ‘आमा’लाई केन्द्रविन्दुमा राखेर रचिएका आआफ्ना सिर्जना वाचन गरे ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष उत्तमकुमार कर्माचार्य, कर्माचार्य सेवा समाजका महासचिव मिलन कर्माचार्य तथा सञ्चारकर्मी उत्तमकुमार श्रेष्ठ लगायतका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूले कृति सफलता तथा थप कृति बजारमा ल्याउन शुभकामना दिए ।

कार्यक्रममा लोमश वाङ्मय प्रतिष्ठानकी सदस्य तथा गजलकार अप्सरा के.सी.ले उपस्थित अभ्यागतहरूलाई स्वागत गरेको उक्त कार्यक्रमको सहजीकरण सचिव नवीन पल्लवले गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १ : ३३ बजे

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि

आईएमई र सामसुङ नेपालले गरे वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारहरूलाई सशक्त बनाउने घोषणा

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले