जुबा । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण सुडानमा हाल पाँच लाख ५९ हजार ६१५ जना शरणार्थीहरू बसोबास गरिरहेका छन् । ती सबैजना देशभरका २९ स्थानहरूमा रहेका छन् ।
उक्त प्रतिवेदनमा पाँच लाख ५५ हजार ८१४ जना व्यक्ति औपचारिक रूपमा दर्ता गरिएका शरणार्थीको रूपमा रहेका छन् भने तीन हजार ८०१ जना व्यक्ति अझै शरणको खोजीमा छन् ।
शरणार्थीहरूमध्ये सबैभन्दा ठूलो सङ्ख्या छिमेकी देश सुडानबाट आएका छन्, जसको संख्या पाँच लाख २७ हजार ९५१ रहेको छ । त्यसपछि कङ्गो, इथियोपिया, इरिट्रिया, र मध्य अफ्रिकी गणराज्यलगायतका अन्य देशका नागरिकहरू रहेका छन् ।
शरण खोज्ने व्यक्तिहरूको विवरण अनुसार, ३५ दशमलव एक प्रतिशत इरिट्रियाली र ३४ प्रतिशत इथियोपियाली नागरिक छन् । त्यस्तै, युगान्डा, बुरुन्डी र कङ्गोका नागरिकहरू पनि उल्लेखनीय सङ्ख्यामा सङ्ख्यामा रहेका छन् ।
सुडानमा जारी हिंसात्मक द्वन्द्वका कारण प्रभावित व्यक्तिहरू ज्यान जोगाउँदै भाग्न बाध्य भएका छन् । उनीहरूलाई दक्षिण सुडानले अस्थायी रूपमा शरण दिँदै आएको छ ।
प्रतिवेदनअनुसार ती शरणार्थीहरूमध्ये ५१ प्रतिशत महिला छन् भने कूल ७८ प्रतिशत महिला र बालबालिका रहेका छन्, जसले महिला तथा बालमैत्री सेवा तथा सुरक्षाको विशेष आवश्यकता औंल्याएको छ ।


















प्रतिक्रिया