काठमाडौं । तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप काठमाडौं जिल्ला अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
राजावादीहरूले गत १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएपछि त्यसमा संलग्नहरुमा खोजी गर्ने क्रममा प्रसाई सहित ५३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सोही घटनामा पक्राउ परेको राप्रपा नेता द्वय रविन्द्र मिश्र र धवलशमसेर राणा भने हाजीरी जवानीमा छेटेका छन् ।
उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१५ चैतको दिन प्रसाईंले निषेधित क्षेत्रतर्फ आफैंले मोटर कुदाएर गएका थिए । सरकारले त्यसपछि नै भिड अनियन्त्रित बनेको ठहर गरेको छ । प्रसाईं भने सोही दिन काठमाडौंबाट भागेर भारत पुगेका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
प्रहरीले थपिएको यही अवधिभित्र अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । सरकारी वकिलको कार्यालयले ६० दिनभित्र मुद्दाको अभियोजनपत्र अदातलमा दर्ता गरिसक्नुपर्छ ।


















प्रतिक्रिया