२५ चैत्र २०८२, बुधबार | April 8, 2026

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’



मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ । बागवानीमा उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले घमीमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो ।

यसका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुर्याएको शीतोष्ण बागवानी विकास केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । त्यहाँ बागवानी केन्द्र मार्फाको शाखा फार्म स्थापनाका लागि आठ सय एक रोपनी जग्गा सरकारको नाममा दर्ज भइसकेको र अब केही महिनाभित्र बागवानी केन्द्रको नाममा लालपुर्जा प्राप्ति गर्ने प्रक्रिया टुङ्ग्याइने केन्द्र प्रमुख आत्रेयले बताए ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउलगायतका शीतोष्ण फलफूल तथा सागसब्जीहरूले विस्तारै उचाइतिर फल्ने क्रम सर्दै गइरहेकाले उपल्लो मुस्ताङको घमीमा बागवानीको सेटलाइट फार्म स्थापना गर्नुपर्ने अवस्था आइपरेको केन्द्र प्रमुख आत्रेयले उल्लेख गरे। मुस्ताङको तल्लो भेकमा उत्पादन हुने स्याउ, ओखर, आरु, आरुबखडा, खुर्पानी, कागजी बदाम, अङ्गुरलगायत फलफूल जलवायु परिवर्तनका कारण माथि लेकतिर उत्पादन हुन थालेका छन् । यिनै शीतोष्ण फलफूल तथा सागसब्जी बालीलाई जोगाउन उपल्लो मुस्ताङमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो ।

उपल्लो मुस्ताङमा केन्द्रको शाखा विस्तार भएमा त्यहाँका किसानलाई ठूलो टेवा पुग्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए ।

‘उपल्लो मुस्ताङका किसानलाई फलफूल तथा तरकारीको बीउ र बिरुवा ढुवानी गर्न निकै समस्या छ, ढुवानी खर्च पनि महँगो पर्न जान्छ’, अध्यक्ष विष्टले भने, ‘माथि नै बागवानीका शाखा स्थापना भएपछि उपल्लो भेकका किसानले सजिलै बिरुवा पाउने अवस्था हुन्छ, यो हामीहरूका लागि अवसर र खुसीको कुरा पनि हो ।’

उपल्लो मुस्ताङमा फार्म स्थापना गर्न पालिका र स्थानीय समुदायले जग्गा प्राप्तिका लागि बागवानी केन्द्रलाई निरन्तर सहजीकरण गरिरहेको बताए ।

केन्द्रका नाममा जग्गाप्राप्ति प्रक्रिया टुङ्गिनेबित्तिकै कार्यालय स्थापना र फार्म विस्तार गर्ने प्रक्रिया अघि बढाइने बागवानी विकास केन्द्रले जनाएको छ । उपल्लो मुस्ताङको घमीमा फार्मका लागि तीनवटा कित्ता रहेको र त्यहाँ विभिन्न फलफूल तथा तरकारीका बीउ तथा बिरुवा उत्पादन गर्न विभिन्न ब्लक निर्माण गरिने जनाइएको छ ।

केन्द्रले बर्सेनि किसानलाई पुस र माघमा स्याउलगायतका फलफूलका बिरुवा वितरण गर्ने गर्छ । तर त्यस समय उपल्लो मुस्ताङका किसान जाडो छल्न बेँसी झर्ने भएकाले त्यहाँ चैत, वैशाखमा मात्र स्याउका बिरुवा रोपण गर्ने गरिन्छ । उक्त समस्यालाई समाधान गर्न पनि उपल्लो मुस्ताङमा स्थापना हुने सेटलाइट फार्मले योगदान पुर्याउने केन्द्रको भनाइ छ ।

उपल्लो मुस्ताङमा ठूलो मात्रामा कृषि क्षेत्र विस्तार गर्न सकिने प्रचुर सम्भावना रहेको र मुस्ताङलाई अबको सयौँ वर्षसम्म पनि स्याउकै राजधानी भनेर चिनाउनका लागि पनि त्यहाँ स्थापना हुने फार्मले त्यहाँका किसानलाई थप उत्प्रेरित गराउने विश्वास केन्द्रले लिएको छ ।

करिब ३०-३५ वर्षअघि मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते र कुञ्जो क्षेत्रमा राम्रो स्याउ उत्पादन हुने गथ्र्यो, तर जलवायु परिवर्तनका कारण अहिले उक्त स्थानमा स्याउखेती हुन छाडेको पनि वर्षौँवर्ष भइसकेको छ । जलवायु परिवर्तन र बढ्दो तापमानका कारण उक्त स्थानमा स्याउको सट्टामा समशीतोष्ण हावापानीमा हुने किबीफल उत्पादन हुन थालेको छ ।

मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र २०२३ सालमा स्थापना भएको हो । फार्म स्थापनापश्चात मुस्ताङमा व्यावसायिक स्याउखेती प्रारम्भ भएको केन्द्रको भनाइ छ ।

मार्फाको बागवानी विकास केन्द्रले मुस्ताङका स्थानीय किसानलाई फलफूल तथा तरकारीको गुणस्तरीय बीउ र बिरुवा उत्पादन गरी बिक्री गर्ने गर्छ । हाल केन्द्रको कुल एक सय ९६ रोपनी जग्गा छ । जसमा मार्फामा एक सय ७५ रोपनी, घाँसामा २० रोपनी र जोमसोममा एक रोपनी जग्गा छ । केन्द्रले मार्फामा चारवटा ब्लकमा फलफूलका बिरुवा तथा तरकारी तथा सागसब्जीका बीउ उत्पादन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : २० बजे

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान

बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल