काठमाडौँ । विशेष अदादतले वरिष्ठ पत्रकार शम्भुलाल श्रेष्ठलाई २५ हजार धरौटीमा छाड्न आदेश गरेको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा ’दृष्टि न्युज’ अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग २५र२५ हजार रुपैयाँ धरौटीमा छाडन अदालतले आदेश गरेको हो ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासले बिहीबार उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
दृष्टि न्युजमा गत असार ८ गते ’विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा प्रकाशित समाचारलाई आधार बनाउँदै उक्त समाचारले अदालतको अवहेलना गरेको आरोपमा नवराज सापकोटासहित ५ जनाले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
असार ९ गते विशेषको बृहत् इजलासले सम्पादकसहित ३ जनालाई समाचार नहटाई ३ दिनभित्र बयानमा आउन आदेश दिएको थियो । बयानका क्रममा अध्यक्ष श्रेष्ठले विशेष संवाददाता नरहेको र उक्त सामग्रीको जिम्मेवारी कार्यकारी सम्पादकमा रहने बयान दिएका थिए ।
श्रेष्ठले उल्लेख गरेका साक्षीलाई असार १५ गते बिहान १० बजे बकपत्रका निम्ति अदालतमा पेस गर्न पनि आदेशमा भनिएको छ ।


















प्रतिक्रिया