काठमाडौँ । २ दिन अगाडी संसदमा नेकपा मोओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्तरोन्नति भएको प्यारापिट र प्लडलाईट हेर्न जान सुझाएका थिए । तर प्रधानमन्त्रीले सुझाएको २ दिनपछि क्रिकेट मैदानमा प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाउने निर्णय गरिएको छ ।
प्रधानमन्त्री ओलीले सम्पन्न भएको काम हेर्न जान भनेको निर्माणको काम तोकिएको मितिमा काम सम्पन्न नभएको भन्दै ठेकेदार कम्पनीलाई सहरी विकास मन्त्रालयले पूर्ववत् सम्झौताअनुसार क्षतिपूर्ति तिराउने निर्णय गरेको हो ।
सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । प्रतिशतको हिसावले दैनिक रु दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए । “प्यारापिट बनाउन रु ४९ करोड २५ लाख र फ्लडलाइट जडानका लागि रु ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो”, उनले भने ।
सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठले यही असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइसकिएको बताए ।
“असार ३० गते निर्माण कम्पनीलाई पूर्वनिर्धारित क्षतिपूर्ति (हर्जना)बारे जानकारी गराइसकेका छौँ । मङ्गलबारदेखि उहाँहरूले दैनिक हर्जना तिरेर काम गरिरहनुभएको छ । काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ”, उनले भने, “यसरी हर्जना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था छ । सो अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था छ ।”
निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिवद्धता जनाएको कंठले जानकारी दिए । उनका अनुसार चार हजार कुर्सी जडान भइसकेका छन् भने छ वटा फ्लडलाइटमध्ये तीन वटा पोल आइसकेका छन् । प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ । फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको कंठले जानकारी दिए ।
सोमबार संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न प्रश्न उठाएपछि ओलीले सामाजिक सञ्जालमार्फत ती प्रश्नहरूको जवाफ दिँदै बनिरहेको प्यारापिट हेर्न जान, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जान सुझाएका थिए । उनले प्यापिट र फ्लडलाईट बनिसकेको बनिरहेको बताएका थिए । प्रचण्डलाई लक्षित गर्दै उनले भनेका थिए, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’
प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले कामलाई न टाइमलाइन तोकेको, न ठोस निर्णय लिएको र न कुनै स्पष्ट प्रतिबद्धता देखाएको आरोप समेत लगाएका थिए । ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन, र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन ।’, उनले भनेका थिए ।


















प्रतिक्रिया