खजुरा । हरेक वर्ष नालाको बहाव सडकमाथि आएर घण्टौं अवरुद्ध हुँदै आएको बाँकेको खजुरारोड स्थित पेडारीनालामा चारलेनको पुल बन्ने भएको छ । २०८३ को बैशाख अगावै पुल निर्माण हुने गरि ठेक्का सम्झौता भएसँगै वषौंदेखि सो सडक प्रयोगकर्ताले भोग्दै आएको समस्या समाधा हुने भएको छ ।
नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३, खजुरा बजार क्षेत्रमा पर्ने पेडारी नालामा चारलेनको पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ ।
वर्षातको समयमा नालाको पानी सडक भएर बग्ने र घण्टौं सडक अवरुद्ध हुने गरेपछि सो स्थानमा पुल निर्माण थालिएको योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लिलाबहादुर भण्डारीले बताए । वर्षातको समय सकिनासाथ निर्माण कार्य सुरु भई वैशाखभित्र पुल निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता सम्पन्न भइसकेको भण्डारीले जानकारी दिए ।
उनका अनुसार पेडारी नाला पुल निर्माणका लागि २०८३ बैशाख १८ गते सम्म सम्पन्न गर्नेगरि नारायणम निर्माण सेवासँग २०८२ जेठ १९ गते सम्झौता भएको हो । भ्याटसहित आठ करोड ९६ लाख रुपियाँमा काम गर्नेगरि नारायणम निर्माण सेवासँग ठेक्का सम्झौता भएको भण्डारीले बताए ।
नयाँ निर्माण गर्न लागिएको पुल २२ मिटर चौडाई र ३४.४ मिटर लम्बाई हुनेछ । यसैगरी पुलको दुबैतर्फ एकतर्फ ८० मिटर र अर्कोतर्फ १०० मिटर एप्रोच सडक पनि निर्माण गरिने छ ।
नेपालगन्जदेखि बर्दियाको सदरमुकाम गुलरीया जोड्ने मुख्यसडक अन्तर्गत पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सहत बढ्नासाथ पानी सडक भएर बगेर यात्रुहरुलाई सास्ती दिनेगरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले बताए ।
ठेकेदारले अलपत्र पारेको १८०० मिटर अझै अन्यौलमा
सोही सडक खण्डको खजुरा बजार क्षेत्रको १८०० मिटर सडक भने अझै अन्यौल अवस्थामा रहेको छ । गजुरमुखी निर्माण सेवाले गुणस्तरहिन सडक बनाएर अलपत्र पारेको सो सडक खण्डको १८०० मिटर सडकको स्तरउन्नतीका लागि अघिल्लो वर्षबाटै पहल गरिएपनि हुलाकी सडक निर्देशनालयले निर्णय अड्काइदिएपछि सडक निर्माण अन्यौल बनेको हो ।
यस क्षेत्रका संघीय सांसद, स्थानीय जनप्रतिनिधिको सिफारिस सहित हुलाकी सडक निर्देशनालयको योजना कार्यालय नेपालगन्जबाट फायल पेश भएपनि निर्देशनालयले फायल सदर नगरिदिँदा सडक निर्माण अन्यौलमा परेको हो । निर्देशनालयबाट स्वीकृत भएसँगै सडक निर्माण प्रक्रिया अगाडि बढाउन सकिने योजना कार्यालय प्रमुख भण्डारीले बताए ।
हुलाकी सडककै मापदण्डमा सडक निर्माणको योजना परेपनि २०७४ सालमा ठेक्का लाग्नेबेला स्वार्थीसमुहको योजनामा सडकलाई १२ मिटर मादण्डमा खुम्चाइएको थियो । १८०० मिटर दायाँ र बाँया चिल्लो सडकमा सवारी साधन हुँइकिँदा खजुरा बजार खण्डको सढक भने खण्डहर बनेको छ ।


















प्रतिक्रिया