९ चैत्र २०८२, सोमबार | March 23, 2026

बहुविवाह विवादबीच रास्वपा उम्मेदवार डा. लेखजंग थापाद्वारा वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक



काठमाडौं । बहुविवाहसम्बन्धी विवाद चर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुपन्देही-३ का प्रतिनिधिसभा उम्मेदवार डा. लेखजंग थापाले वैवाहिक सम्बन्ध विच्छेदको आधिकारिक कागज सार्वजनिक गरेका छन् ।

पार्टीले उम्मेदवार घोषणा गरेपछि थापाको नाम बहुविवाह प्रकरणमा जोडिँदै विभिन्न मिडियामा समाचार प्रकाशन भएपछि उनले सोमबार आफ्नो फेसबुकमार्फत वैवाहिक सम्बन्ध विच्छेदसम्बन्धी कागज सार्वजनिक गरेका हुन् ।

थापाले सामाजिक सञ्जालमार्फत आफ्नो निजी जीवनबारे स्पष्ट पार्दै लेखेका छन्, “एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन् । नियत केमा भर पर्छ भने उसले ती कुरा लुकाउँछ वा पारदर्शी भएर सबैलाई भन्दछ । परिस्थितिका कारण मैले जीवनमा दुई पटक विवाह गरेको कुरा सत्य हो । तर, त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । त्यस सम्बन्धविच्छेदपश्चात पनि मेरो सन्तान छ, जसको म बाबा पनि हुँ ।”

उनले आफूले निजी जीवनका विषयमा पार्टीलाई पूर्वजानकारी गराएको र उम्मेदवार छनोट प्रक्रियामा पार्टी नेतृत्वले कानुनी परामर्श लिएरै अघि बढेको दाबी पनि गरेका छन् ।

यसअघि थापाविरुद्ध बहुविवाहसम्बन्धी समाचार सार्वजनिक भएपछि सामाजिक तथा राजनीतिक वृत्तमा विभिन्न टिप्पणी आएका थिए। थापाले सम्बन्धविच्छेदको प्रमाण सार्वजनिक गरेसँगै विवाद केही न्यून हुने अपेक्षा गरिएको छ ।

रास्वपाभित्र भने यस विषयलाई लिएर छलफल भइरहेको र पार्टी नेतृत्वले आवश्यक परेको खण्डमा थप स्पष्टीकरण दिने तयारी गरेको बताइएको छ ।

थापाले सार्वजनिक गरेको विवरण जस्ताको तस्तैः

रूपन्देही- ३ मा ९६ वर्षकी मेरी‌ बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो। सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला र म आमालाई त्यही कुराहरु देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु।

खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ‌ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरू लाई उत्तर दिँदैछु।

प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला। तर मैले बुझेको छु यो आक्रमण म‌ माथि होइन ,यो बेथिति र विसङ्गतिमा रमाउनेहरू बाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो। त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ।

आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू,एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ। परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो।
मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ।

एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन। दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन्। तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु। यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु।

सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन। सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन।

राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ। पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा म देशमा झाङ्गिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ। देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुशरण गरी टुङ्ग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो। विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन , तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किन्चित चाहन्न ।

म नेता बन्न होइन,देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा कति ठूलो राजनीतिक सुनामी आउँदैछ रुपन्देहीले सुनाउँदै छ । कसले भन्यो रूपन्देही -३ को उम्मेदवार म हो भनेर? रुपन्देही -३ को उम्मेदवार त पुनम,जेबी ,रचना,सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हो। अस्ति नक्खु कारागारमा सभापतिले हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु। तपाईँहरु उम्मेदवार हुनुहोस् मेरो शुभकामना छ ,यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईँहरू त्यसको संवाहक बन्नुपर्छ।

म त्यही यात्रामा अगाडि बढेको छु। रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ। नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ‘उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ‌। तथापि मेरो पार्टीले गर्ने कुनैपनि निर्णयलाई म सहर्ष स्वागत ,स्वीकार र पालना गर्नेछु ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  १० : ४४ बजे

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका