नेपालमा भाषा अभिलेखीकरण

प्रा. डा. दुबि नन्द ढकाल
३० भाद्र २०७७, मंगलवार

विषय प्रवेश

नेपालको २०६८ को जनगणनाले सूचीकृत गरेका १२३ मातृभाषाहरूमध्ये नेपालमा करिव २० भाषाहरू विदेशमा मूल रूपमा बोलिने भाषाहरू

लेखक

समेत समाविष्ट छन् । नेपाली भाषाका भाषिका मानिएका प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा बोलिने करिव केही भाषालाई घटाउने हो भने यो सङ्ख्या करिव ९० जति हुन आउँछ । यी मध्ये भोट–चिनिया परिवारका अधिकांस भाषाहरू लोपवान छन् र भौगोलिक दृष्टिकोणले दुर्गम गाउँबस्तीमा बोलिने र राज्यको पहुँचबाट टाढा रहेका केही भाषाहरूको अध्ययन कम भएको छ ।

भाषा लोप हुनेका विविध कारण हुन्छन् । वक्ताको सङ्ख्या कम हुने भाषा र भाषा पुस्तान्तरण नहुने भाषा सङ्कटमा पर्ने कुरा आफैमा प्रष्ट छँदै छ । नेपालमा बोलिने केही भाषाको प्रयोग पुराना पुस्ताका वक्तामा सीमित छ तर नयाँ पुस्ताले यो भाषा बोल्ना जान्दैनन् । प्राकृतिक प्रकोप, भोकमरी, रोगव्यादी, युद्धले भाषाका वक्ताको मृत्यु भएमा भाषाहरू स्वतः लोप हुन पुग्छन् । औद्योगिकीकरण, शहरीकरण, भूमण्डलीकरण र अर्थतन्त्रको बदलिँदो परिस्थितिले समेत भाषालाई मृत्युको नजिक पु-याउँछ । राज्यको नीतिले त भाषाको प्रयोगमा झनै सीमित बनाउँछ । धेरै वक्ता भएका भाषामा समेत भाषाका कार्यात्मक सम्बन्धको सीमितताले भाषाहरू सङ्कटमा पर्छन । राज्यको भाषा प्रतिको नीति भाषा लोप हुनुको अर्को मुख्यः कारण रहन्छ ।

गोरखा जिल्लाको साविकको ताकुकोट गाविसमा बोलिने बराम भाषामा हामीले काम गर्दा बराम भाषाकी वक्ताले यस्तै अनुभव सुनाएकी थिएन् । उनको परिवार र गाउँछिमेकमा बराम भाषा बोलिँदैनथ्यो । उनले आफ्नो भाषा दिदिबहिनीसँग बोल्न ६–८ महिना पर्खनुपर्ने र आफ्ना भाषामा बोल्दा भावविह्वल समेत हुने गरेको अनुभव सुनाउँदा हामी आश्चर्यचकित भएका थियौँ

पाकिस्तानमा पञ्जावी भाषाका करिव ४७ प्रतिशत वक्ताहरू रहेका छन् । पञ्जावीकै भाषिका मानिने साराइ भाषाका १० प्रतिशत वक्तालाई समेत जोड्ने हो भने त्यहाँ यो भाषा बहुसङ्ख्यक भाषा हुन्छ । राजनीतिक र धार्मिक कारणले त्यो भाषा मूल भाषाका रूपमा प्रयोग हुनबाट बञ्चित गरिएका भाषाको सीमित प्रयोग अवस्थामा पुगेको स्थितिलाई ’मूल भाषाको मृत्यु’ भन्नो संज्ञा दिइने गरिन्छ । भाषा लोप हुनुका अन्य कारणहरूमा बसाइँसराइँं, अन्य भाषाका वक्ताहरू सँगको सम्पर्कले निम्त्याउने द्विभाषिकता तथा बहुभाषिकता, अन्तर्भाषिक विवाह जस्ता कुराहरू पर्दछन् । आधुनिकीकरण, वक्ताको आफ्नै मातृभाषाप्रतिको नकारात्मक दृष्टिकोणले पनि भाषा प्रयोग खुम्चिँदै र क्षयीकरण भएर अन्ततः भाषाको प्रयोग रोकिने स्थिति हुन्छ ।

नेपालमा बोलिने कम वक्ता भएका केही भाषाहरू सङ्कटापन्न अवस्थामा छन् भने अरू केही भाषाहरू निकै सङ्कटापन्न अवस्थामा रहेका छन् । गोरखा जिल्लाको साविकको ताकुकोट गाविसमा बोलिने बराम भाषामा हामीले काम गर्दा बराम भाषाकी वक्ताले यस्तै अनुभव सुनाएकी थिएन् । उनको परिवार र गाउँछिमेकमा बराम भाषा बोलिँदैनथ्यो । उनले आफ्नो भाषा दिदिबहिनीसँग बोल्न ६–८ महिना पर्खनुपर्ने र आफ्ना भाषामा बोल्दा भावविह्वल समेत हुने गरेको अनुभव सुनाउँदा हामी आश्चर्यचकित भएका थियौँ । यस्ता भाषाहरूमा काम गर्ने चरणमा भाषा दक्षताका साथ बोल्न सक्ने वक्ता पाउनु नै अहोभाग्य मानिन्छ । सङ्कटापन्न अवस्थामा रहेका भाषाका वक्ताहरूका मष्तिष्कमा सुषुप्त अवस्थामा रहेको उनीहरूको भाषिक ज्ञान र अनुभव संचार गर्न सक्दै यस्ता सामग्रीहरूको सङ्कलन नगर्ने हो भने यस्ता भाषिक सामग्रीहरू संसारबाटै लोप हुने स्थितिमा पुग्दछन् । संरक्षण नगरेका खण्डमा यस्ता वक्ताहरूको मृत्यु पछि यी भाषाका अभिलेख कतै सुरक्षित रहँदैनन् । यसकारण भाषाका वक्ताहरूले आफ्ना कथा, स्मरण, दैनिक जीवनसँग सम्बन्धित सामग्रीहरू सङ्कलन गर्न सक्दा यस्ता भाषाका सामग्रीहरूको संरक्षण र यसमा रहेको ज्ञान जीवित राख्न सकिन्छ ।

 

भाषा अभिलेखीकरण
अन्तर्राष्ट्रिय स्तरमा भाषा अभिलेखीकरण भिन्न विधाका रूपमा स्थापित भएको छ । हाइमेलम्यानले अभिलेखीकरणले “कुनै निश्चित भाषिक समुदायका भाषाको व्यापक अभिलेखन (रेकर्डिङ्) गर्दछ” भनेका छन् । प्रविधिको सुलभताले यो काम सहज भएको छ । भाषा अभिलेखीकणका केही आफ्ना चरणवद्ध प्रकृया छन् । प्रारम्भिक तथ्याङ्कको सङ्कलन गर्नु, यसलाई लेखनप्रणालीमा उतार्नु (ट्रान्स्क्राइबिङ), अनुवाद र तथ्याङ्कको प्रारम्भिक तहको विश्लेषण गर्नु यसअन्तर्गत पर्दछन् । यसमा उपलब्ध तथ्याङ्कलाई डिजिटल अभिलेखालयमा राख्नु् सम्मको कार्यको अपेक्षा तथा कल्पना गरिएको हुन्छ । अभिलेखीकरणमा सङ्कलित तथ्याङ्कलाई कालान्तरमा विश्लेषण र प्रयोग गर्न सकिन्छ । हाइमेलम्यानले ‘अभिलेखीकरण भाषाविज्ञान’ र ‘वर्णनात्मक व्याकरण’ को भिन्नता छुट्याउँछन् ।

वर्णनात्मक भाषाविज्ञानले व्याकरण लेखन तथा अनुसन्धानमूलक प्रकाशनमा जोड दिन्छ र मूलतः यो प्राज्ञिक कृयाकलापमा केन्द्रित हुन्छ भने अभिलेखीकरणले कुनै भाषाका दैनिक जीवनमा प्रयोग गरिने मौखिक विधाहरूको प्रतिनिधिमूलक तथ्याङ्क सङ्कलन गर्छ, स्थानीय भाषाभाषीसँग सहकार्य गर्छ र उनीहरूको संस्कृतिको समेत अभिलेखन गर्छ । यसरी भाषा अभिलेखीकरणको संसारभरिका भाषाको तथ्याङ्कको डिजिटल सङ्ग्रह गर्ने वृहत लक्ष रहेको हुन्छ । यसले भाषामा उपलब्ध कथ्य विधाहरूको श्रव्य–दृश्य सामग्री सङ्कलन गर्ने लक्ष राखेको हुन्छ । यही पृष्ठभूमिमा नेपालको भाषा अभिलेखीकरणको स्थितिका बारेमा विवेचना गरिएको छ ।

 

भाषा अभिलेखीकरणका चरण
नेपालमा बोलिने भाषाहरूको काम सन् १९७० को दशकपछि सुरु भए पनि खास अर्थमा भाषा अभिलेखीकरणको काम सन् २००० पछि भएको देखिन्छ । नेपालका भाषाको प्रारम्भिक अभिलेखीकरणसँग सम्बन्धित काम भने धेरै भाषामा भएका छन् । स्वदेशी तथा विदेशी अनुसन्धाताले विश्वविद्यालयको उपाधि हासिल गर्नका लागि नेपालका भाषाहरूमा व्याकरण लेखनमा संलग्न रहँदै गरेका छन् । केही भाषाका यी प्रारम्भिक अभिलेखीकरणले नेपालका भाषिक विविधता संरक्षणका लागि गरिने प्रयासहरूमा महत्वपूर्ण योगदान गर्दछन् । नेपालमा बोलिने भाषाहरूको संरक्षण, सम्बर्धन र सशक्तिकरणका लागि यी प्रयासहरू निरन्तर गर्नु पर्ने आवश्यकता समेत रहेको छ ।

त्रिभुवन विश्वविद्यालय, भाषाविज्ञान केन्द्रीय विभागले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँग मिलेर २८ ओटा भाषाको प्रारम्भिक अभिलेखीकरण सम्पन्न गरेको थियो । यी प्रतिवेदनमा प्रत्येक भाषाको प्रारम्भिक व्याकरणको रूपरेखा, आधारभुत शब्दकोश र केही पाठहरू सङ्कलित छन् । यसरी अभिलेखीकरण भएका भाषाहरूमा – गुरुङ, लोहोरुङ, शेर्पा, मेवाहाङ, बराम, हायु, भुजेल, कुसुन्डा, पहरी, मेचे, बाहिङ, ब्याँसी, खाम्चि (राउटे), काइके, दुरा, मुगाली, थकाली, बाहिङ, दुमी, राजी, कोइ, सन्थाली, किसान, राजबंशी, कुमाल, दनुवार पर्दछन् । यीमध्ये केही भाषाका शब्दकोश (शब्दसङ्ग्रह) प्रकाशित भएका छन् ।

 

महत्वपूर्ण उपलब्धी
संसारभरिका अभिलेखीकरणका लागि अनुदान दिने संस्थाहरूको आर्थिक सहयोगमा नेपालमा पनि अभिलेखीकरणका काम भएका छन् । जर्मनीमा रहेको डोबेसको भोल्स्वागेन फाउन्डेसनको लोपोन्मुख भाषाहरूको अभीलेखीकरण कार्यक्रमअन्तर्गत पूर्वी नेपालमा बोलिने पुमा र छिन्ताङ् भाषाको अभिलेखीकरण कार्य सम्पन्न गरिएको थियो । त्रिभुवन विश्वविद्यालय र जर्मनीको लेइप्जिक विश्वविद्यालयको सहकार्यमा भएको भाषा अभिलेखीकरणलाई नेपालमा पहिलो अभिलेखीकरण कार्य मान्न सकिन्छ । यस परियोजना अन्तर्गत भाषा अभिलेखीकरण, भाषा सिकाई तथा यी जातिहरूको संस्कृति अध्ययन भएको थियो । यस परियोजना अन्तर्गत सङ्कलित सामग्रीहरू जर्मनीस्थित म्याङ्क्स प्लाङ्क इन्स्टिच्युट अफ साइकोलिङ्गुइस्टिक्समा सुरक्षित छन् ।

विभिन्न संस्थासँगको आवद्धतामा गरिएका अभिलेखीकरणबाट प्राप्त सामग्री सुरक्षित रूपमा सङ्ग्रहको व्यवस्थाको लागि नेपालमा डिजिटल अभिलेखालयको व्यवस्था हालसम्म गरिएको छैन । अन्तर्राष्ट्रिय स्तरमा भने यस्ता डिजिटल सङ्ग्राहलयहरू सन् १९५० को दशकबाट नै सुरु भएका छन् ।

लन्डन विश्वविद्यालयको लोपोन्मुख भाषाको अभिलेखीकरण आयोजना (इन्डेन्जर्ड ल्याङ्वेज डकुमेन्टेसन प्रोग्राम)को सहयोगमा नेपालका करिव १५ भाषाको अभिलेखीकरण सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयले गोरखामा बोलिने बराम भाषाको अभिलेखीकरण अन्तर्गत ३२ घण्टाको विश्लेषण सहितको पाठसङ्ग्रह सङ्कलन गरिएको छ । यस कार्यमा म स्वयं पनि अनुसन्धाताका रूपमा सहभागी थिएँ । यसबाट सङ्कलित सामग्री लोपोन्मुख भाषाको अभिलेखालय (इन्डेन्जर्ड ल्याङ्वेज आर्काइभ)मा संरक्षण गरिएको छ । लन्डन विश्वविद्यालयको यही कार्यक्रमअन्तर्गत विभिन्न विश्वविद्यालयमार्फत ग्याल्सुम्दो, कागते, काइके, कोइ–राइ, मगर, मेवाहाङ, नार–फू, पुमा, सेके, सुरेल, तामाङ, याख्खा जस्ता केही भाषामा भाषा अभिलेखीकरणका काम सम्पन्न गरिएका छन् र यसका सामग्री लोपोन्मुख भाषाको अभिलेखालयमा रहेका छन् । यस संस्थाले उपलब्ध गराएका कार्यक्रममा भाषाको श्रव्यदृष्य सामग्रीको विश्लेषणका साथै व्याकरण, शब्दकोश, पाठ्यसामग्री, जातीय परिचय, संस्कृतिको परिचय जस्ता सामग्रीहरूको निर्माण गरिएको छ ।

संयुक्त राज्य अमेरिकास्थित नेशनल साइन्स फाउन्डेसनको लोपोन्मुख भाषाको अभिलेखीकरण (इन्डेन्जर्ड ल्याङ्वेज फन्ड)को सहयोगमा गण्डकी प्रदेश अन्तर्गतको मनाङ जिल्लामा बोलिने मनाङ गुरुङ, नार–फू, मनाङे र ग्याल्सुम्दो भाषाका सामग्रीको सङ्कलन र विश्लेषण गरिएको छ । त्यसैगरी नेपालमा सन् २०१५ को महाभूकम्पपश्चात भूकम्पमा स्थानीय बासिन्दाले गरेको अनुभवको अभिलेखन गर्नका लागि यही संस्थासँग गरिएको अर्को अध्ययनमा उत्तरी गोरखामा बोलिने कुके (कुताङ घले), चुम्, नुब्रि, मनाङ जिल्लामा बोलिने ग्याल्सुम्दो, नार–फू, गुरूङ् र मुस्ताङ जिल्लामा बोलिने लोवा भाषाका सामग्रीहरूको सङ्कलन र प्रारम्भिक तहको विश्लेषण गरिएको छ । यी सामग्रीहरू भर्जिनिया विश्वविद्यालयको टिबेटन एण्ड हिमालयन पुस्तकालयको ‘शान्ति’ (साइन्सेज, ह्युमानिटिज एण्ड आर्ट्स् टेक्नोमलोजि इनिसिएटिभ्स) मा सुरक्षित राखिएको छ।

इन्डेन्जर्ड ल्याङ्वेज फन्डअन्तर्गत राजी (पूर्वीया), झाँगड र थामी भाषाको काम भए पनि राजी भाषाको मात्र डिजिटल सामग्री निर्माण गरिएको छ । यसैगरी मानवशास्त्रीय तथा भाषावैज्ञानिक अध्ययनका लागि फाइरबर्ड फाउन्डेशनको आवद्धतामा ल्होमी, नुब्री, लोवा, कुसुन्डा, बान्तवा, खाम्ची (राउटे), थामी, याम्फु जस्ता केही थप भाषाको काम भएको छ । भाषासंचार परियोजना अन्तर्गत नेपाली भाषाको डिजिटल पाठसङ्ग्रहलाई समेत यहाँनेर स्मरण गर्नु पर्ने हुन्छ । आधुनिक प्रविधिको प्रयोग गरेर नेपालमा करिब ३० भाषाको डिजिटल सामग्री उपलब्ध छ र यो सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ ।

नेपालमा हाल भाषाविज्ञान केन्द्रीय विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र भाषा आयोगको गठन पश्चात यसले प्रारम्भिक अभिलेखीकरणका कामहरूलाई निरन्तरता दिइरहेका छन् । केही गैरसरकारी संस्थाहरू पनि यसमा संलग्न रहेका छन् ।

 

अभिलेखालयको खाँचो
विभिन्न संस्थासँगको आवद्धतामा गरिएका अभिलेखीकरणबाट प्राप्त सामग्री सुरक्षित रूपमा सङ्ग्रहको व्यवस्थाको लागि नेपालमा डिजिटल अभिलेखालयको व्यवस्था हालसम्म गरिएको छैन । अन्तर्राष्ट्रिय स्तरमा भने यस्ता डिजिटल सङ्ग्राहलयहरू सन् १९५० को दशकबाट नै सुरु भएका छन् । नेपालमा सङ्कलित सामग्री छरिएर रहेका छन्, अनुसन्धाताका कम्युटरमा थन्किएका छन् । मदन पुरस्कार पुस्तकालयले चाहिँ भाषाका डिजिटल सामग्री संरक्षणको प्रवन्ध मिलाएको छ । विदेशी डिजिटल अभिलेखालयमा यस्ता सामग्री संरक्षण गर्न निकै महङ्गो पर्दछ । यसका लागि अनुसन्धाता आँफैले खर्चको व्यवस्था मिलाउनुपर्ने हुन्छ । नेपाली अनुसन्धातालाई यो सम्भव छैन भन्दा हुन्छ ।

नेपालको बहुभाषिकताको संरक्षण गर्नका लागि राज्यस्तरबाट ठूलो धनराशीको लगानी भैरहेको वर्तमान परिप्रेक्षमा नेपालमा पनि भाषाका सामग्रीहरूको सङ्कलन गर्ने, संरक्षण गर्ने र पुस्तौँ पुस्तासम्म ती सामग्रीहरूको प्रयोग गर्न सकिने सम्भावनाको प्रवन्ध मिलाउन डिजिटल अभिलेखालयको स्थापना जरूरी छ । भाषाविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयमा यससँग सम्बन्धित अनुभव भए पनि यसका लागि आर्थिक साधनस्रोत भने उपलब्ध छैन । यसतर्फ सरोकारवाला निकायहरूको ध्यान पुग्नेछ भन्ने कुरामा म विश्वस्त छु ।

-लेखक भाषा विज्ञान केन्द्रीय विभाग त्रि.वि.का प्राध्यापक हुन्  dndhakal@gmail.com 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*