काठमाडौं । नेकपा (एमाले)ले देशको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा जोड दिएको छ।
जेनजीको आन्दोलनका कारण दुईदिन अघि सत्ताबाट बाहिरिन पुगेको एमालेका महासचिव शंकर पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई यसको नेतृत्वदायी पहलकदमी लिन आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको राजिनामापछि अबको निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान हो। सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनाजस्ता युवा पुस्ताका मुद्दालाई सम्बोधन गर्नुपर्छ। यसका लागि संविधानको मर्मअनुसार सार्थक संवाद र पहलकदमीका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई अनुरोध गर्दछौं।’
एमालेले संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले लोकतन्त्रको रक्षामा रचनात्मक भूमिका खेल्नुपर्ने बताएको छ। ‘यी सबै निकायले आ(आफ्नो स्थानबाट लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा योगदान पुर्याउनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘स्थानीय तहहरूले निर्वाध सेवा प्रवाहको वातावरण बनाउनुपर्छ।’
पार्टीले संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानप्रति प्रतिबद्ध सबै राजनीतिक दलहरूलाई संवाद र सहमतिका लागि आह्वान गरेको छ। ‘हामी सबैलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी कायम गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
स्थिति सामान्य भएपछि पार्टीको बैठक बसी समग्र परिस्थितिको समीक्षा गरिने र आवश्यक निर्णय लिइने एमालेले जनाएको छ। ‘हाम्रो भूमिकाको आत्मसमीक्षा हुनेछ र आगामी कार्यदिशाबारे औपचारिक निर्णय गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।





















प्रतिक्रिया