१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

शरद् ऋतुमा मनास्लु आरोहण उत्साहवर्द्धक, निमा छिरिङको नयाँ ‘रेकर्ड’



काठमाडौं । शरद् ऋतुमा हिमाल आरोहीहरुको आकर्षण मनास्लु (८,१६३ मिटर)मा देखिएको छ । यही असोज १२ गतेसम्म मनास्लु आरोहणका ३१ समूहका ९५ महिला र २७९ पुरुषसहित ३७४ आरोहीले आरोहणको अनुमति लिएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए ।

निर्देशक गौतमका अनुसार केही आरोहीले मनास्लु आरोहण गरिसकेका छन्भने केहीले तयारी गरिरहेका छन् । उनका अनुसार गत वर्षको यही याममा मनास्लु आरोहणका लागि २८ आरोही समूह थिए । मनास्लु आरोहणका लागि सेभन समिट ट्रेक्स प्रालि, सतोरी एड्भेन्चर प्रालि, इलाइट एक्सपेडलगायतका कम्पनी मनास्लुको आधार शिविर पुगिसकेका छन् ।

हाल मौसम अनुकूल रहेकाले विश्वको आठौँ अग्लो मनास्लुसँगै धौलागिरि हिमाल आरोहण जारी छ । त्यसबाहेक आमादब्लम, मेरापिक, आइल्यान्ड पिकलगायत हिमाल आरोहणका लागि आरोहीहरु गन्तव्यमा पुगेको विभागको भनाइ छ ।

विभागका अनुसार यस याममा विभिन्न ३६ हिमाल तथा पिक आरोहणका लागि नेपालसहित ६७ देशका १५२ महिला र ५१५ पुरुष गरी ६६७ आरोहीले अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार सगरमाथा आरोहणका लागि दुई आरोही समूहले अनुमति पाएका छन् । धौलागिरिमा एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन्भने मकालु र ल्होत्सेमा समान एक समूहले अनुमति पाएको छ । हिम्लुङ हिमालमा छ आरोही समूहका ४८ जनाले अनुमति लिएका छन् ।

शरद् ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि यस याममा आरोहण गर्न उल्लेख्य सङ्यामा आरोही आउने गरेको निर्देशक गौतमको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य ऋषिराम भण्डारीले यस वर्ष समग्र रुपमा मनास्लु आरोहण उत्साहजनक रहेको बताए। सतोरी एडभेन्चर प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका ऋषिराम भण्डारीले ३५ भन्दा बढी आरोही मनास्लु आरोहणमा गएका छन् । आमादब्लमलगायत हिमालमा पनि आरोहीको आकर्षण छ ।

नेपाल पर्वतारोहण सङघका प्रथम उपाध्यक्ष मिङ्मा ग्याबु शेर्पाले पनि मनास्लु आरोहण उत्साहबद्र्धक रहेको बताए। “विगतको भन्दा यो पटक धेरै सङ्ख्यामा आरोही आएका छन् । समग्रमा पर्वतारोहण उत्साहजनक रहेको छ”, उनले भने ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङमा शेर्पाले यस पटक मनास्लु आरोहण राम्रो भएको बताए । उनले भने, “यसपटक मनास्लुमा आरोहीको आकर्षण देखिएको छ, मनास्लु आरोहणमा पठाउने सबै व्यवसायीको आरोहणमा कुनै समस्या भएन । विगतमा जस्ता कुनै किसिमका अप्रिय घटना भएनन् । अहिलेसम्म आरोहण उत्साहजनक छ ।”

उनका अनुसार समग्रमा पर्वतारोहणमा यस याममा उत्साह छ । तर पदयात्रामा केही बुकिङ भने रद्द भएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेका अनुसार यस पटक तुलनात्मक रुपमा कम पदयात्री गन्तव्य गएका छन् । पछिल्लो परिस्थिति सृजना भएपछि सेप्टेम्बरसम्मका लागि मात्रै २५ प्रतिशत बुकिङ रद्द भएको छ । यद्यपि अक्टोबरमा भने उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउने विश्वास गरिएको छ ।

जेनजी आन्दोलनले केही दिन नेपालको पर्यटन आगमन खुम्चिएको थियो । अहिले विस्तारै पर्यटक आगमन बढिरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । आन्दोलन पूर्व दैनिक तीन हजार २०० हाराहारी विदेशी पर्यटक आइरहेकामा विषम परिस्थितिपछि यो सङ्ख्या घटेर दैनिक १६ सयको हाराहारीमा आएको थियो । यद्यपि यस साता भने दैनिक औसतमा २९ सयको हाराहारीमा यात्रु आइरहेका छन् ।

अठार करोडभन्दा बढी रोयल्टी
पर्यटन विभागका अनुसार यस याममा हिमाल आरोहणबाट हालसम्म रु १८ करोड २१ लाख ६८ हजार ६२४ रोयल्टी जम्मा भएको छ । मनास्लुबाट मात्रै १५ करोड रोयल्टी उठेको छ । विभागका निर्देशक गौतमले शरद ऋतुमा मनास्लुसहित विभिन्न हिमाल आरोहणमार्फत हालसम्मकै बढी रोयल्टी जम्मा भएको बताए । विगतमा यस याममा रु सातदेखि आठ करोडको हाराहारी रोयल्टी उठ्ने गरेको थियो ।

मनास्लुमा नयाँ रेकर्ड
निमा छिरिङ शेर्पाले सबैभन्दा कम उमेरमा मनास्लु आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । उनले असोज १२ गते विहान ६ः२४ बजे १६ वर्ष चार महिना १८ दिनको उमेरमा मनास्लु आरोहण गरेका हुन् । साथै मनास्लुमा यस याममा स्पेनका ८६ वर्षका आरोहीले आरोहण गरेर रेकर्ड बनाएका छन् ।

पोल्याण्डका साहसिक पर्वतारोही आन्द्रेज बार्गिएलले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट कृत्रिम अक्सिजन प्रयोग नगरी स्की चढेर हिउँमा चिप्लेटी खेल्दै तल ओर्लिएर रेकर्ड बनाएका छन् । उनी सेभेनसमिट ट्रेक्स प्रालिमार्फत स्कीका लागि सगरमाथा गएका थिए ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लो आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।

लामो आरोहण इतिहास कायम रहेको गोरखामा अवस्थित मनास्लु हिमालको विसं २०७३ मा ६० वर्षे हीरक महोत्सव मनाइएको थियो । नेपालको सुदूरपश्चिम भागमा रहेको मनास्लु जसलाई कुताङ भनेर पनि चिनिन्छ । यो हिमाललाई हृदयको हिमाल पनि भनिन्छ । मानसिरी पर्वतशृङ्खलामा रहेको यो संसारको आठौँ अग्लो हिमाल हो ।

विसं २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर मनास्लु हिमाल र नेपालको चर्चा चुलिएको थियो ।

 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ५ : ५७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा