काठमाडौं । सरकारले बाढीपहिरोबाट घरबार गुमाएका नागरिकका लागि तत्काल राहत र अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले बाढीपहिरोका पीडितहरूलाई सहयोगका कार्यक्रम सार्वजनिक गरेको हो ।
बैठकले घरभत्किएका तथा घरविहीन भएका परिवारलाई स्थानीय तहको समन्वयमा पहिचान गरी तुरुन्तै अस्थायी बसोबासको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
अस्थायी आवास निर्माणका लागि सरकारले प्रति परिवार ५० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । यसमध्ये २५ हजार रुपैयाँ तत्काल उपलब्ध गराइने छ । बाँकी २५ हजार रुपैयाँ एक तहको संरचना बनेपछि मापदण्ड अनुसार वितरण गरिने बताइएको छ ।
साथै, दीर्घकालीन रूपमा स्थायी आवास निर्माणका लागि आवश्यक योजना तयार पारिने पनि बताइएको छ।
त्यसैगरी, विपद्पछि महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै बैठकले स्वास्थ्य मन्त्रालय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी जनचेतना कार्यक्रम, स्वास्थ्य शिविर र मनोसामाजिक परामर्श जस्ता गतिविधि सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


















प्रतिक्रिया