नेपालगन्ज । जेन जी प्रदर्शनका क्रममा गत भाद्र २३ गते प्रहरीको गोली प्रहारबाट मृत्यु भएका जेन जी शहीद द्वय शुलभ र आयुषको नाममा नेपालगन्जमा चोक र मार्ग नामाकरण हुने भएको छ । काठमाडौंमा भएको जेन(जी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का शहीदहरू शुलभ श्रेष्ठ र आयुष थापाका नाममा मार्ग वडाले मार्ग नामाकरण सहित गेट निर्माण गर्ने भएको हो ।
धम्बोझीको प्रहरी गुल्मबाट धम्बोजी वाटरपार्क जाने ठाउँमा शुलभ गेट निर्माण गर्दै सो सडक खण्डको गायत्री मन्दिर सम्मको बाटोलाई शुलभ मार्ग नामाकरण गर्ने निर्णय भएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले बताए ।
त्यस्तै खजुरा रोड शिव मन्दिरदेखि विशाल नगर चोकसम्मको बाटोलाई आयुष मार्ग नामाकरण गर्दै विशाल चोकमा आयुष गेट निर्माण गरिने वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।
वडा नम्बर १ को समितिबाट निर्णय भइसकेको जनाउँदै उनले स्थानीय सरकारकै लगानीमा गेट निर्माण हुने बताए । जेन जी प्रदर्शनका क्रममा २३ गते प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नेपालगन्जमा शुलभ र आयुषको ट्रमा सेण्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।


















प्रतिक्रिया