१४ असार २०८३, आइतबार | June 28, 2026

प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि आज पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ ।

यो बैठक पहिलोपटक पूर्वमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

पेरिसडाँडामा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित सहभागी हुनेछन् ।

बिहान ११ बजे बस्ने बैठकका लागि पेरिसडाँडाका कर्मचारीहरुले तयारी पुरा गरेका छन् । बैठक पार्टी कार्यालयको माथिल्लो तलामा बस्नेछ । पार्टी एकीकरणपूर्व माओवादी केन्द्रको महत्वपूर्ण बैठकहरु सोही बैठक कक्षमा हुनेगरेको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी बनेपछिको पहिलो सचिवालय बैठक पेरिसडाँडामै बस्नुमा विशेष राजनीतिक विश्लेषण गर्न सकिन्छ । अध्यक्ष प्रचण्ड कार्यकारी बन्नु र पेरिसडाँडामा बैठक आह्वान गरिनुलाई पार्टीभित्र प्रचण्डको निर्विकल्प कार्यकारीलाई स्वीकार गरिएको अर्थमा बुझ्न सकिने नेकपाका एक जना स्थायी कमिटी सदस्यले विश्लेषण गरे ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले नेकपाको कार्यकारी अध्यक्ष प्रचण्ड बन्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षसम्म सरकारको नेतृत्व गर्ने निर्णय भएको थियो ।

यसअघिका धेरै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुनेगरेका छन् । केही बैठक मात्रै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेका छन् ।

पेरिसडाँडा र पूर्वमाओवादीको साइनो धेरै पुरानो बनिसकेको छ । जसरी पूर्व एमालेका लागि बल्खु कार्यालय महत्वपूर्ण थियो । २०७२ सालको भूकम्पले बल्खु कार्यालय भवन भत्किएपछि एमालेले पासाङ ल्हामु फाउन्डेसनको धुम्बाराहीस्थित भवन भाडामा लिएर केन्द्रीय कार्यालय चलाइरहेको थियो ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि धुम्बाराही र पेरिसडाँडा दुवै कार्यायको स्वामित्व नेकपामा सरेको थियो । तर, पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीलाई बनाइएको थियो भने अन्य विभिन्न जनवर्गीय संगठनहरुको कार्यालय पेरिसडाँडालाई बनाइएको थियो ।

पार्टी एकीकरणपछि केन्द्रीयस्तरका कुनै पनि बैठक र भेलाहरु पेरिसडाँडामा भएका छैनन् । यद्यपी, गत मंसिरमा भएको केन्द्रीय कमिटी बैठकका समुहगत छलफल भने पेरिसडाँडामा भएको थियो ।

सचिवालय बैठक बस्ने भएपछि बिहीबारबाट नै पेरिसडाँडा आसपासमा सुरक्षाकर्मीको उपस्थितिलाई बढाइएको छ । सत्तारुढ पार्टीका शिर्ष नेताहरु सहभागी हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

बैठकको एजेण्डाका लागि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच बिहीबारै छलफल भएको थियो । त्यसअघि अध्यक्षद्वय प्रचण्ड र ओलीबीच सचिवालय बैठक र यसको एजेण्डाबारे छलफल भएको थियो ।

स्थायी कमिटी बैठकपछि नेकपाभित्रको विवाद तत्कालका लागि समाधान भएका कारण अब पार्टीको ध्यान पार्टी एकताको बाँकी रहेका काम पुरा गर्दै संगठन सृदृढिकरण र आगामी चैत्रमा महाधिवेशनमा केन्द्रित हुने बताइएको छ । यद्यपी, स्थायी कमिटीले निर्णय गरेको व्याख्यालाई भने नेताहरुले आफु अनुकुल विश्लेषण गर्न सुरु गरिसकेका छन् ।

 

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ४६ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली