बुटवल । बुटवलको नयाँगाँउ खानेपानी उपभोक्ता समितिले हालै सम्पन्न १६ औँ साधारणसभा कानुनअनुसार नै सञ्चालन गरिएको र संस्थामा कुनै पनि प्रकारको अनियमितता नभएको दाबी गरेको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक रूपमा उठाइएका आरोपहरू तथ्यहीन रहेको स्पष्ट गरेको हो ।
खानेपानी समितिकी अध्यक्ष मिना जिसिका अनुसार तीन वर्षदेखि रोकिएको साधारणसभा आफू निर्वाचित भएको नौ महिनाभित्रै सम्पन्न गर्नु नै कार्यसमितिको प्रतिबद्धताको उदाहरण हो । उनले भनिन्, “हाम्रो नेतृत्वले छोटो समयमै साधारणसभा सम्पन्न गर्यो। यसका लागि त धन्यवाद दिनु पर्नेमा उल्टै निराधार आरोप लगाइयो ।”
अध्यक्ष जिसिले उपभोक्तामैत्री सुधारका रूपमा पानी शुल्कसमेत घटाइएको जानकारी दिइन् । पहिले १२ हजार लिटर पानीको शुल्क १०० रुपैयाँ रहेकामा त्यसलाई घटाएर ८० रुपैयाँ मात्र राखिएको उनले बताइन् ।
उनले असन्तुष्टि रहने परिषद् सदस्यहरूलाई बाहिर आरोप लगाउनुभन्दा आधिकारिक बैठक र साधारणसभामा सहभागी भएर सुझाव दिन आग्रह गरिन् । “राम्रा सल्लाहहरूलाई आत्मसात् गर्न हामी सधैं तयार छौं,” उनले भनिन्।
समितिका कानुनी सल्लाहाकार लेखनाथ ढकालले पनि साधारणसभा कानुनसम्मत रूपमा गरिएको बताए । ४८०० भन्दा बढी उपभोक्ता भएको संस्थामा उपभोक्तासहितको साधारणसभा गर्न आधाभन्दा बढी उपस्थिति अनिवार्य हुने तर त्यो व्यवहारिक रूपमा असम्भव भएकाले परिषद् सदस्यद्वारा साधारणसभा गर्ने व्यवस्था कानूनमै स्पष्ट रहेको उनले बताए । उनले भने, “बहुमत सदस्यबिना गरिने कामलाई कानुनले मान्यता दिंदैन। यही व्यवस्था माग गर्नेहरूलाई पनि थाहा छ ।”
यस्तै, बँदेल पोखरी टंकी मर्मत उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद भुसालले निर्माण कार्यमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारे। मजदुर अभावका कारण केही समय काम रोकिएको भए पनि अब मर्मत सम्पन्न भइसकेको उनले बताए ।
बुटवल उपमहानगरपालिका-१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्माले उजुरीहरू सामान्य प्रक्रिया भए पनि समितिले कानुनअनुसार काम गर्न नडराउन सुझाव दिए । खानेपानी संस्थाको १६औँ साधारणसभा कात्तिक २६ गते २६ जना परिषद् सदस्यहरूको बहिष्कारबीच सम्पन्न भएको थियो ।
गिरिप्रसाद मरासिनी, बामदेव भुसाल, प्रेम आचार्यसहितका २६ परिषद् सदस्यहरूले आर्थिक अनियमितता भएको आरोप लगाउँदै उपभोक्तासहितको साधारणसभाको माग गरेका थिए ।


















प्रतिक्रिया