१२ बैशाख २०८३, शनिबार | April 25, 2026

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन



धनुषा । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि सात राजनीतिक दलबीच सहमति कायम हुन नसकेको हो ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको बैठक बसे पनि सहमति जुट्न नसकेको हो ।

जनकपुधामस्थित प्रदेशसभा सचिवालयमा भएको बैठकमा सात दलका नेता तथा प्रदेशसभा सदस्यहरूको उपस्थित रहेको लोसापाका सांसद उपेन्द्र महतोले जानकारी दिए । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल मुख्य दाबेदार देखिएका छन् । यादव र सोनल दुवैले विभिन्न दलहरूसँग संवाद पनि अघि बढाएका छन् ।

मधेस प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुँवरकान्त झाले अन्य सबै दलले सरकारको नेतृत्व सम्हालिसकेकाले अब कांग्रेसको दाबी स्वाभाविक भएको बताए । “प्रदेश प्रमुखले आह्वान गर्नुभएपछि अब सातै दल बसेर नेतृत्वको विषयमा टुङ्गोमा पुग्ने छौँ, कांग्रेसको नेतृत्वमा अब खासै विवाद नहोला,” झाले भने ।

लोसपाका सोनलले यसअघि माओवादी केन्द्र र जनमत पार्टीको चलखेलका कारण आफूले विश्वासको मत प्राप्त नगरेको भन्दै अब सबै मिलेर पुनः आफूलाई मौका दिनुपर्ने बताए । जसपा नेपालका मधेस प्रदेश प्रमुख सचेतक रामआशिष यादवले मुख्यमन्त्रीमा कसलाई समर्थन गर्ने भन्नेमा औपचारिक सहमति नभएको बताए । जसपाका प्रमुख सचेतक यादव पाँच वर्षमा पाँच जना मुख्यमन्त्री बनाउँदा धेरै नकारात्मक सन्देश जाने भएकाले अब सरकार बनाउँदा सात दल एक हुनुपर्ने धारणा राखे ।

लोसपाकी नेत्री एवं प्रदेशसभा सदस्य रानी शर्मा तिवारी भने लोसपा नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेर ढलेका कारण अहिलेको नयाँ कोर्स त्यहीँबाट सुरु हुनुपर्ने बताउँछिन् ।

दलहरूबीच सहमति जुट्न नसक्दा बैठक बिना निष्कर्ष टुङ्गिएको जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले जानकारी दिए । यादवले कांग्रेस र लोसपालाई छुट्टै बसेर सहमति गर्न समय दिएको बताए । उनले आजै अबेर राति भए पनि सात दलको बैठक बस्ने जानकारी दिए ।

प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा, १६८ को २ बमोजिम शुक्रबार ५ बजेसम्म सरकारका लागि दाबी पेस गर्न समयसीमा निर्धारण गरेका छन् । प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभा बैठकमा राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  १० : १९ बजे

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु

वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

नेपाल-बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौं । बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल-बङ्गलादेश

आगलागीमा परी एक जनाको मृत्यु

कैलाली । घोडाघोडी नगरपालिका-१, सुखडस्थित एक लजमा गए राति आगलागी

अवैध संरचना हटाउने अभियान मानवीय ढंगले अघि बढाइने : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा