खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् । काँग्रेस, बाँकेको क्षेत्र नम्बर ३ कार्यसमितिले खजुरा बजारमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सहमहामन्त्री राठौरले लोकतन्त्रको प्रवद्र्धन र नेतृत्व विकास दुवैका दृष्टिले एउटै व्यक्ति पटक–पटक एकै क्षेत्रबाट चुनाव लड्नु उपयुक्त नहुने धारणा राखे ।
सहमहामन्त्री राठौरले निर्वाचन घोषणा भएको ३ महिना भैसक्दा पनि सरकारले गर्नु पर्ने शान्ति सुरक्षा लगायत आवश्यक व्यवस्थाको अभावले निर्वाचन सुनिश्चित हुन नसकेको बताए । घोषित मितिमा निर्वाचन गर्नुको विकल्प नदेखिएको अवस्थामा सरकार, सुरक्षा अंग र सम्वद्ध निकायले तत्काल आवश्यक पहलकदमी लिनु पर्नेमा उनले जोड दिए ।
सहमहामन्त्री राठौरले नेपाली काँग्रेस मुलुकको एउटामात्र लोकतान्त्रिक पार्टी भएकाले देश, जनता र व्यवस्थाले जित्ने अवस्था निर्माण गर्नु काँग्रेसका लागि सधैँ प्रतिष्ठाको विषय रहेको बताए । उनले काँग्रेस कमजोर हुँदा लोकतन्त्रमात्र नभै मुलुक नै कमजोर हुने ऐतिहासिक तथ्यलाई मनन् गर्दै आगामी फाल्गुण २१ मा हुने निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण काँग्रेसजन गम्भीर हुनु पर्ने बताए ।
उनले महाधिवेशन पार्टीको आन्तरिक विषय भएकाले महाधिवेशनले पार्टीलाई कमजोर बनाउने अवस्था नआओस्, थप बलियो बनाएर अघि बढाउन मद्दत गरोस् भन्नेमा सबैको चाहना, कामना र भूमिका हुनु पर्ने बताए ।


















प्रतिक्रिया