बुटवल । कृषि औजार तथा विभिन्न कृषि सामग्री एकै ठाउँमा उपलब्ध हुने गरी बुटवलमा ‘कृषि उद्योग मार्ट’ सञ्चालनमा आएको छ । नेपालमै उत्पादन भएका कृषि सामग्रीलाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेशका कृषकलाई लक्षित गरेर मार्टको सेवा शुरू गरिएको हो ।
बुटवलको मिलनचोकमा स्थापना गरिएको उक्त मार्टबाट देशभरका १६ उद्योगले उत्पादन गरेका कृषि सामग्री उपलब्ध हुने जानकारी सञ्चालक तथा कम्पनीका अध्यक्ष खोजराज कटवालले दिए। उनका अनुसार मार्टमा बीउ-बिजन, विषादी, औजार-उपकरणसहित कृषकलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री उपलब्ध गराइनेछ । साथै प्राविधिकमार्फत सामग्रीको प्रयोगसम्बन्धी तालिम तथा ज्ञान पनि प्रदान गरिने उनले बताए । कृषकले उद्योगकै मूल्यमा सामग्री खरिद गर्न सक्ने सुविधा पनि राखिएको छ ।
मार्टका सञ्चालक डा. गणेश ऐरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘कृषि उद्योग मार्ट’ को अवधारणा अघि बढाइएको बताए । कोशी प्रदेशको इटहरीमा पहिलो शाखा स्थापना गरिसकेको मार्टले सबै प्रदेशमा सेवा विस्तार गर्ने योजना रहेको उनले स्पष्ट गरे ।
उद्घाटन समारोहमा नर्सरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल खरेल, उद्यमी समुन्द्र घिमिरे, प्रेङ्का शाही लगायतले स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनमा जोर दिएका थिए । सबै कृषि सामग्री एकै ठाउँमा उपलब्ध भएसँगै कृषकलाई सेवा लिन थप सहज हुने अपेक्षा व्यक्त गरिएको छ ।


















प्रतिक्रिया