२६ माघ २०८२, सोमबार | February 9, 2026

एनपीएल फाइनल आज : सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच उपाधि भिडन्त



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा तय हुँदैछ । फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । लिग चरणका २८ खेल र प्लेअफका तीन खेलपछि उपाधि विजेता तय गर्ने निर्णायक खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

सुदूरपश्चिम रोयल्सले प्रतियोगिताभरि सन्तुलित र प्रभावशाली प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । लिग चरणमा लगातार पाँच खेल जित्दै प्लेअफमा स्थान बनाएको सुदूरपश्चिम केवल एक खेलमा पराजित भयो । लिग चरणको अन्तिम खेलमा विराटनगर किङ्ग्ससँग हार व्यहोरे पनि पहिलो क्वालिफायरमा त्यही विराटनगरलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम सीधै फाइनलमा प्रवेश गर्‍यो । गत संस्करणमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।

कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सशक्त देखिएको छ । टोलीले लिग चरणमा काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स र चितवन राइनोजमाथि प्रभावशाली जित निकालेको थियो । व्यक्तिगत प्रदर्शनतर्फ विनोद भण्डारीले ८ खेलमा सर्वाधिक २६४ रन बनाएका छन् । आरिफ शेखले १८०, कप्तान ऐरीले १४९, इशान पाण्डेले १२७ र हरमित सिंहले १२३ रन जोडेका छन् ।

बलिङमा अविनाश बोहराले १६ विकेट लिँदै प्रतियोगिताकै दोस्रो सर्वाधिक विकेट लिने बलर बनेका छन् । हरमित सिंहले १२, स्कट कुगेलाइनले १० र कप्तान ऐरीले ८ विकेट लिएका छन् । फिल्डिङतर्फ पनि कप्तान ऐरीले १० क्याच तथा एक डाइरेक्ट हिट रनआउट गर्दै प्रभावशाली प्रदर्शन गरेका छन् ।

अर्कोतर्फ, कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणमै बाहिरिएको थियो । तर यस संस्करणमा निरन्तर सुधारिएको प्रदर्शन गर्दै लुम्बिनी उपाधि नजिक पुगेको छ । सुरुआती खेल जितेपछि लगातार तीन खेलमा पराजित भए पनि अन्तिम तीन खेल जित्दै लुम्बिनीले प्लेअफमा स्थान बनायो । इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको मध्य चरणमा विदेशी खेलाडी र टोली संयोजनमा गरिएको परिवर्तनले लुम्बिनीलाई सकारात्मक प्रभाव पारेको देखिएको छ । मध्यक्रमको ब्याटिङ बलियो बन्दै गएको छ भने बलिङ आक्रमण पनि सशक्त देखिएको छ । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ९ खेलमा २६० रन बनाएका छन् । अस्ट्रेलियाली डी’आर्सी शर्टले २४२ रन जोडेका छन् भने निरोशन डिक्वेलाले पाँच खेलमा १२६ रन योगदान दिएका छन् ।

बलिङतर्फ शेर मल्लले १४ विकेटसहित टोलीका सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । नामिबियाली बलर रुबेन ट्रम्पलम्यानले १२ विकेट लिँदै विपक्षी ब्याट्सम्यानलाई सुरुवातदेखि नै दबाबमा राखेका छन् । कप्तान रोहित पौडेलले पनि ७ विकेट लिएका छन् ।

यसरी फाइनल खेल सुदूरपश्चिम रोयल्सको स्थिर र सन्तुलित प्रदर्शनको सामना लुम्बिनी लायन्सको उतार-चढावपछि आएको मजबुत पुनरागमनसँग हुनेछ । दुवै टोलीका खेलाडीहरूको फर्म र रणनीतिले फाइनललाई अत्यन्तै रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको यस प्रतियोगितामा आठ टोली सहभागी थिए । आज फाइनल जित्ने टोलीले पहिलो पटक एनपीएल ट्रफी उचाल्नेछ । प्रतियोगिताको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५१ लाख, तेस्रो स्थानले २५ लाख र चौथो स्थानले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ७ : १८ बजे

कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न कांग्रेस उपभापति शर्माको आग्रह

चितवन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी

जाँचबुझ आयोगको समयावधि २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज