बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । विगत १३ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको १२ औँ संस्करणको जिल्लास्तरीय अन्तरविद्यालय रनिङ शिल्ड हाजिरीजवाफ (क्विज) प्रतियोगितासहित विभिन्न रचनात्मक कार्यक्रममार्फत स्थापना दिवस मनाउन लागिएको विद्यालयले जनाएको छ ।
मंगलबार विद्यालयको सी-ब्लकमा आयोजित पत्रकार सम्मेलनमा प्राचार्य बाबुराम बन्जाडेले पुस १० गते जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता र पुस ११ गते पुरस्कार वितरण तथा विविध कार्यक्रम आयोजना गरिने जानकारी दिए । उनका अनुसार हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई ७ हजार ५०० रुपैयाँ र तेस्रो हुनेलाई ४ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने र सहभागी टोलीमा कम्तीमा एक जना छात्रा अनिवार्य हुनुपर्ने प्रावधान रहेको प्राचार्य बन्जाडेले बताए । हालसम्म ४० वटा विद्यालयले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराइसकेका छन् ।
गत वर्षको प्रतियोगितामा एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल विजेता बनेको थियो भने न्यू होराइजनले यसअघि लगातार दुई पटक तीन-तीन वर्षसम्म रनिङ शिल्ड जितेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरि बस्यालले सामाजिक सेवाको उद्देश्यसहित विद्यालय स्थापना गरिएको उल्लेख गर्दै विद्यालयले आईएसओ मान्यता समेत प्राप्त गरिसकेको जानकारी दिए ।
विद्यालयका संस्थापक शिव गुरुङले भारतमा अध्ययन गरी प्राप्त अनुभव र ज्ञानलाई स्वदेशमै प्रयोग गर्ने उद्देश्यले स्कलर्स होम स्थापना गरेको बताए । उनले परीक्षा प्रणालीमा पारदर्शिता ल्याउँदै प्रश्नपत्र अभिभावकलाई देखाउने, विद्यार्थीलाई मार्शल आर्ट सिकाउने तथा औपचारिक कार्यक्रमको जिम्मेवारी विद्यार्थीलाई नै दिने अभ्यासको सुरुवात विद्यालयले गरेको जानकारी दिए ।
कार्यक्रममा संस्थापिका लक्ष्मी गुरुङ र उपाध्यक्ष टिकाराम गौतमले वडा नम्बर ९ मा रहेको एकमात्र विद्यालय स्कलर्स होम रहेको बताए । हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १ हजार ५०० विद्यार्थी अध्ययनरत छन् भने बीबीएस तहमा करिब १५० विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयमा १२० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको जनाइएको छ ।



















प्रतिक्रिया