काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन सूचीमा समावेश भएका सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा तथा एफसी चितवनका अध्यक्षसमेत रहेका ढकालले फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन् ।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिनले रास्वपाले समानुपातिक सूचीमा समावेश गरेर दिएको अवसरप्रति पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन् । उनले संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मानस्वरूप यसपटक व्यक्तिगत कारणले आफ्नो नाम सूचीबाट फिर्ता लिने निर्णय गरेको प्रष्टिकरण दिएका छन् ।
सचिनले युवाहरूको सामूहिक नेतृत्वमा सुशासनसहित समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहने र आवश्यक परे आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी लिन सधैँ तयार रहने पनि बताएका छन् ।
विदेशमा अध्ययनपछि उतै आकर्षक अवसर हुँदाहुँदै पनि स्वदेश फर्किएर उद्यमशीलता विकासमा लाग्ने अठोटका साथ आफू नेपाल फर्किएको उनले उल्लेख गरेका छन् । आफ्ना पिता चन्द्रप्रसाद ढकालको प्रेरणाले स्वदेशमै उद्यम, रोजगारी सिर्जना र देशको समृद्धिमा योगदान गर्ने लक्ष्यसहित आफू अघि बढिरहेको उनको भनाइ छ ।
ढकालले हाल नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन र युवा रोजगारी सिर्जनाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै विदेशमा अवसर नपाएर वार्षिक पाँच लाखभन्दा बढी युवा पलायन भइरहेको यथार्थप्रति चिन्ता व्यक्त गरेका छन् । विदेशबाट फर्किएर स्वदेशमै केही गर्ने युवाहरूका प्रयासमा साथ र सहयोग गर्ने प्रतिबद्धता पनि उनले दोहोर्याएका छन् ।
व्यवसायिक पृष्ठभूमि भएको परिवारको सन्तान हुनु आफैंमा कमजोरी नभएको उल्लेख गर्दै ढकालले आफूले पारिवारिक नामभन्दा पनि आफ्नै शिक्षा, ज्ञान र नवउद्यममार्फत देशका युवाका लागि उदाहरणीय बन्ने प्रयास गरिरहेको बताएका छन् ।


















प्रतिक्रिया