बुटवल । नेपालको अर्थतन्त्रको ठूलो हिस्सा सीमित ठूला व्यवसायिक घरानाको ‘होल्ड’ (कब्जा) मा रहेकाले देशभरका साना तथा मझौला व्यवसायी माथि उठ्न नसकेको व्यवसायीहरूले गुनासो गरेका छन् । उद्योग व्यापार संघ बुटवलको सातौँ वार्षिक साधारणसभामा रुपन्देहीका अगुवा व्यवसायीहरूले राजनीतिक आन्दोलन र व्यवस्था परिवर्तन भए पनि अर्थतन्त्रमा अपेक्षित परिवर्तन आउन नसकेको भन्दै सरकार र राजनीतिक दलहरूको ध्यान समतामूलक तथा समाजवादी अर्थतन्त्र निर्माणतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले नेपालको कुल बैंकिङ कर्जाको करिब ६० देखि ७० प्रतिशत हिस्सा करिब सय जना ठूला व्यवसायिक घरानामा केन्द्रित रहेको तथ्य प्रस्तुत गरे । उनले देशभर रहेका करिब १८ लाखभन्दा बढी व्यवसायीमध्ये केवल ३० देखि ४० प्रतिशत व्यवसायीले मात्र बैंकिङ कर्जामा पहुँच पाएको बताए । कर्जा लगानीको यस्तो असन्तुलित संरचनाले साना तथा मझौला व्यवसायी फस्टाउन र प्रतिस्पर्धामा टिक्न नसकेको उनको भनाइ थियो ।
संविधानले स्पष्ट रूपमा उल्लेख गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणतर्फ सरकार र राजनीतिक दलहरूको गम्भीर ध्यान नपुगेको महासचिव पराजुलीले गुनासो गरे । उनले आर्थिक नीतिमा संरचनागत सुधार नगरेसम्म निजी क्षेत्र, विशेषगरी साना व्यवसायीको समस्या समाधान नहुने धारणा राखे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निजी क्षेत्र फस्टाए मात्र देशको आर्थिक समृद्धि सम्भव हुने बताए । उनले प्रदेश सरकारहरूको बजेट विकास निर्माणभन्दा बढी आलिशान प्रशासनिक भवन निर्माण, महँगा सवारी साधन खरिद तथा सांसद र मन्त्रीका सेवा-सुविधामा खर्च भइरहेको भन्दै त्यसले नागरिकमा वितृष्णा बढाएको उल्लेख गरे । पाण्डेयले दल र नेताहरू आत्मसमीक्षा गर्दै सुधारतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।
बुटवल मण्डपमा पुस महिनामा लाग्ने व्यापार मेलाका सन्दर्भमा मुख्य चार व्यवसायिक संस्थाबीच लामो समयदेखि देखिएको विवाद आफ्नो कार्यकालमा समाधान भएको बताउँदै पाण्डेयले हरेक वर्ष पालैपालो मेला आयोजना गर्ने सहमति जुटाउन उपमहानगरपालिकाले समन्वयकारी भूमिका खेलेको स्पष्ट पारे । उनले उद्योग व्यापार संघको सचिवालय भवनका लागि जग्गा व्यवस्थापनमा उपमहानगरसँग सहयोगको आग्रहसमेत गरे ।
साधारणसभामा बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाली कांग्रेस बुटवल नगर कार्यबाहक सभापति ज्योति भण्डारी, नेकपा बुटवल संयोजक महेन्द्र भुसाल, एमाले नगर उपाध्यक्ष माधव खनाल, रास्वपा नगर सभापति राजन पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गणेश अधिकारी, नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य गोविन्दराज गैरे, संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जीसी, महासचिव यमलाल मरासिनी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, युवराज पराजुलीलगायतले मन्तव्य राखेका थिए । उनीहरूले जेनजी विद्रोहपछि खस्किएको निजी क्षेत्रको मनोबल उकास्न सरकारबाट विशेष नीति, योजना र कार्यक्रम आवश्यक रहेको बताए ।
साधारणसभाका अवसरमा उद्योग व्यापार संघ बुटवलले उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ । विगत ३० वर्षदेखि बुटवलमा क्रियाशील पत्रकार भुसाललाई नगद २७ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
यस्तै अग्रज पत्रकारहरू डा. बालकृष्ण चापागाईँ, दामोदर खनाल र यानेन्द्र जीसीलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ । संघले व्यवसायी मदनकुमार पुन, बसन्तप्रताप सेन र विष्णुप्रसाद भण्डारीलाई उत्कृष्ट अग्रज व्यवसायीका रूपमा सम्मानसमेत गरेको छ ।


















प्रतिक्रिया