बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर नाइट बुधबार भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहबीच लायन्स डिष्ट्रिक्ट ३२५ ‘पि’ का डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले क्लब सचिवालयको उद्घाटन गर्दै विश्वमा लायनवादको उदय, यसको उद्देश्य र सेवामूलक भूमिकाबारे प्रकाश पारे ।
‘हामी सेवा गर्छौँ’ भन्ने मूल नाराका साथ लायन्स क्लबले स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको गभर्नर भट्टराईले बताए । उनले लायन्सका संस्थापकहरूले सयौँ वर्षअघि देखेको सेवाको सपना आज विश्वभरका लायन्स क्लबहरूको निरन्तर मेहनत र समर्पणका कारण साकार हुँदै गएको उल्लेख गरे ।
भट्टराईले त्रिभुवन विश्वविद्यालयमा लायन्सको पहलमा ब्लड बैंक स्थापना भएको स्मरण गर्दै बुटवलमा पनि ब्लड बैंक स्थापना गर्ने अभियान अघि बढिरहेको बताए । साथै अटिजम क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरी लायन्सले प्रभावकारी काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा क्लबका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले ३९ जना संस्थापक सदस्यसहित स्थापना भएको क्लबले हालसम्म गरेका सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी गतिविधिबारे जानकारी गराए । उनले क्लबमार्फत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको बताए ।
चार्टर नाइटकै अवसरमा क्लबले प्रगति माविलाई १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरी रकम हस्तान्तरण गरेको छ । साथै बुटवलमा ब्लड बैंक स्थापना अभियानलाई तीव्रता दिने, पाठेघरको मुखको क्यान्सर परीक्षण तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने जस्ता योजनामा क्लब सक्रिय रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बुटवल हिलपार्क परिषद्का अध्यक्ष टंक पराजुलीले सामाजिक सेवामा गरिएको कार्य नै व्यक्तिको पहिचान बन्ने उल्लेख गर्दै संस्थापक सदस्यहरूको योगदानका कारण आज क्लबले छुट्टै पहिचान बनाएको बताए । उनले सबैको सहकार्य र समन्वयबाट बुटवलको समग्र विकास सम्भव हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा क्लबमा योगदान पुर्याएका संस्थापक सदस्य, पूर्व अध्यक्ष तथा दिवंगत सदस्यका परिवारलाई सम्मान गरिएको थियो । सामाजिक कार्यमा सहकार्य गर्ने विभिन्न संघ-संस्थालाई पनि सम्मान गरिएको क्लबका सचिव काशीराज ज्ञवालीले जानकारी दिए ।
कार्यक्रममा फस्ट भिडिजी सन्दीप कशौधन, सेकेन्ड भिडिजी मिना पन्थी, एरिया-३ का एरियाचिफ कृष्णप्रसाद पाण्डे, लायन्स क्लब अफ तिलोत्तमा मायादेवीका अध्यक्ष सिता श्रेष्ठ तथा क्लबका द्वितीय उपाध्यक्ष बाबुराम शर्मा चापागाईंलगायतले लायन्स क्लबमार्फत यस क्षेत्रका विभिन्न सामाजिक कार्यमा भएको योगदानबारे धारणा राखेका थिए ।


















प्रतिक्रिया