२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

लिपुलेक मुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था



दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यासँ गाउँपालिका-१ का छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा अस्थायी मतदान केन्द्र तोकिएको हो ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक विकटता र मौसमी अवस्थाका कारण लिपुलेक मुनिका छाङरु तथा तिङ्करका मतदाता हाल खलङ्गामै बसोबास गरिरहेका छन् । सोही कारण उनीहरूलाई सहज रूपमा मतदान गर्न खलङ्गामै मतदान केन्द्र कायम गरिएको हो ।

छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिङ्करका मतदाताका लागि मोति महिला संघ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको उनले बताए ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कैलाशपति आधारभूत विद्यालयमा ३७५ र मोति महिला संघ आधारभूत विद्यालयमा २४४ मतदाता सूचीकृत छन् । विसं २०७९ को निर्वाचनमा छाङरुमा ३८३ र तिङ्करमा २३४ मतदाता रहेका थिए । यसअघि स्थानीय तह निर्वाचन पनि ती क्षेत्रमै सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए ।

यसपटक गत मङ्सिर महिनामै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि यही माघ ५ गते मतदान केन्द्र खलङ्गामै राख्न माग गरिएको थियो । सो मागलाई मध्यनजर गर्दै अस्थायी मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए । सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ ।

मतदाता सङ्ख्याको विवरण अनुसार यसपटक दार्चुलामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको प्रजिअ पौडेलले बताए ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ८ : १५ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात