बुटवल । नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. १ र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले बुटवल र यस आसपासमा रहेका गुल्मेलीहरुका बीच अन्तक्रिया गरेका छन् । नेपाली काँग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिले आज बुटवलमा उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै गुल्मीका लागि नेपाली कांग्रेसका उम्मेदवार द्वय डा. चन्द्र भण्डारी र भुवन श्रेष्ठले पार्टी रूपान्तरण भएको र अब समग्र मुलुकलाई सकारात्मक दिशामा परिवर्तन गर्न कांग्रेस सक्षम बनेको दाबी गरे । उनीहरुले आगामी निर्वाचनपछि गगनकुमार थापा प्रधानमन्त्री बन्ने दाबी गर्दै कांग्रेसलाई विजयी गराउन आग्रह पनि गरे ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. भण्डारीले अहिले सिंगो कांग्रेस एक ठाउँमा उभिएको र देशभर उत्साहको माहोल सिर्जना भएको बताए । उनले यसपटकको निर्वाचनमा कांग्रेसका ११० जना उम्मेदवार नयाँ अनुहार भएको उल्लेख गर्दै पार्टीमा आएको परिवर्तनका कारण जनतामा भरोसा र उत्साह बढेको दाबी गरे ।
“प्रतिनिधिसभा निर्वाचनपछि संविधान संशोधन अपरिहार्य छ, यो अहिलेको आवश्यकता पनि हो,” भण्डारीले भने । उनले संसदमा आफूले रोपेको परिवर्तनको बीउकै परिणामस्वरूप अहिले गगन थापाजस्ता नयाँ नेतृत्व अघि आएको दाबी गरे । कांग्रेसको सरकार बने सुशासन कायम हुने र देश थप बलियो बन्ने उनको विश्वास छ । देशभर रूखमा भोट दिएर कांग्रेसलाई जिताउन उनले मतदातासँग आग्रह पनि गरे ।
नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ का उम्मेदवार श्रेष्ठले विशेष महाधिवेशनपछि कांग्रेस पूर्ण रूपमा रूपान्तरण भएको र नयाँ ऊर्जा र उत्साहका साथ निर्वाचनमा होमिएको बताए । उनले अबको प्रधानमन्त्री गगनकुमार थापा हुने दाबी गर्दै महाधिवेशनपछिको पार्टी एकताले कांग्रेसलाई थप मजबुत बनाएको उल्लेख गरे । “रूखमा मत दिएर देश बदल्न सकिन्छ,” उनले भने ।
कार्यक्रममा कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले कांग्रेसकै नेतृत्वमा देश परिवर्तनको यात्रामा अघि बढेको दाबी गरे । गुल्मीका दुवै क्षेत्रमा कांग्रेस बलियो अवस्थामा रहेको भन्दै उनले जीत सुनिश्चित रहेको पनि बताए ।
गुल्मी–रुपन्देही सम्पर्क समितिका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

















प्रतिक्रिया