२२ माघ २०८२, बिहिबार | February 5, 2026

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा



बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई सम्झना छ । “सडक चाहियो”, “पानी छैन”, “बत्ती कहिले आउँछ ?” यस्ता मागहरू हरेक चुनावमा दोहोरिन्थे । कतिपयले त ती मागहरू चुनाव सकिएसँगै हराउने सूची ठान्थे । तर गुल्मी क्षेत्र नं २ मा ती कागजहरू केवल मागका सूची बनेनन्, विकासका खाका बने ।

गोकर्ण बिष्टका लागि मतदाताका माग चुनावी भाषणका सामग्री मात्र भएनन् । उनले तिनलाई वाचा माने । देशको स्रोत-साधन र अवस्थाका सीमाभित्र रहेर ती वाचाहरू क्रमशः कार्यान्वयन हुँदै गए । कुनै बेला ढलेका बिजुलीका पोल र अँध्यारा घरका तस्बिर बोकेर आलोचना गरिने क्षेत्र आज पूर्ण विद्युतीकरण भएको क्षेत्रमा परिणत भएको छ । अझ निर्वाचन क्षेत्रमा १३२ केभी क्षमताका राष्ट्रिय प्रसारण लाइनका दुई सब-स्टेशन सञ्चालनमा छन्, जसले दीर्घकालीन ऊर्जाको आधार तयार पारेको छ ।

खानेपानी र सडक अभावले सामाजिक सञ्जाल भरिने समय पनि धेरै पुरानो छैन । खरका छाना विस्थापन अभियानको घोषणा हुँदा आलोचकको कमी थिएन । तर अहिले गुल्मी क्षेत्र नं २ मा खरका छाना भएका घर भेटिँदैनन् । त्यो परिवर्तन केवल भौतिक संरचनाको होइन, जीवनशैलीको परिवर्तन हो ।

गुल्मीको विकास यात्रामा मदन भण्डारी राष्ट्रिय राजमार्ग एउटा मेरुदण्ड बनेको छ । रिडी-तम्घास-सिमलटारी हुँदै सौतामारे पुग्ने यो सडकले गाउँ-बस्ती मात्र होइन, सम्भावनाहरू पनि जोडेको छ । रेसुङ्गा नगरपालिका, धुर्कोट, इस्मा, मालिका र मदाने गाउँपालिका छोएर जाने यो राजमार्गले कृषि, उद्योग र स्थानीय व्यवसायलाई नयाँ गति दिएको इस्मा गाउँपालिका-६ का अगुवा कृषक कृष्णप्रसाद घिमिरे बताउँछन् ।

तर यो यात्रा सजिलो थिएन । तम्घास-सिमलटारी खण्डका चार खोलामा पुल नहुँदा गोकर्ण बिष्टले प्रतिनिधिका रूपमा कडा आलोचना खेप्नुपरेको थियो । वर्षायाममा खोलाले बाटो रोक्दा मानिसहरू जोखिम मोलेर यात्रा गर्थे । कतिपय अवस्थामा ज्यानसमेत गएको पीडा स्थानीयले भोगेका छन् । निरन्तर दबाब र पहलपछि हुलाके, धनार्जे, फुलबारी र घमिरखोलामा पक्की पुल बने । आज ती पुलले गाउँ र सहर मात्र होइन, दुई जिल्ला गुल्मी र प्युठानलाई पनि जोडेका छन् ।

“पहिले खोलामा पानी बढ्दा पार गर्ने उपाय हुँदैनथ्यो,” धुर्कोट गाउँपालिका-६ का भरत भण्डारी सम्झिन्छन्, “अहिले बाह्रैमास गाडी चल्छ । पुलले हाम्रो जीवन सजिलो बनाइदिएको छ ।”

पुल मात्र होइन, पानी पनि जीवनको अर्को ठूलो परिवर्तन हो । २०५६ सालको निर्वाचनमा “निस्तीको पानी इस्मामा खुवाउँछु” भन्ने वाचा सुन्दा इस्मा गाउँपालिका-३ की ६६ वर्षीया देवकला पाण्डेले सुनेको हाँसो अझै सम्झिन्छिन् । “त्यो कुरा सपना जस्तै लाग्थ्यो,” उनी भन्छिन्, “अहिले हाम्रो धारामा निस्तीको पानी बग्छ ।”

लिफ्ट प्रविधिमार्फत ‘एक घर एक धारा’ अभियानले खानेपानीको पहुँच हरेक स्थानीय तहमा विस्तार भएको छ । पक्की र झोलुङ्गे पुल, सडक, विद्युत् र खानेपानीसँगै गाउँको दैनिकी फेरिएको छ ।

एमाले केन्द्रीय उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं २ का उम्मेदवार गोकर्ण बिष्ट भन्छन्, “मतदाताकै मागका आधारमा विकास अघि बढेको हो । भौतिक विकास आधार हो, अब सामाजिक विकास र जीवनस्तर सुधारमा जोड दिन्छौँ ।”

गुल्मी क्षेत्र नं २ मा देखिएको परिवर्तन वाचाबाट कामतर्फको यात्रा हो । कागजमा लेखिएका मागहरू आज सडक, पुल, बत्ती र धारामा परिणत भएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  १० : २८ बजे

हिउँले ढाकिएको छाङरू पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक