२८ असार २०८३, आइतबार | July 12, 2026

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति



बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको मौसम प्रतिकूल थियो । तर, मौसमको प्रतिकूलतासँगै रुपन्देहीका क्रियाशील पत्रकारहरू भने बिहान आठ बजे नै मङ्गलापुरस्थित बोधी भिल्लामा उपस्थित थिए । अवसर थियो-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको पत्रकार भेटघाट कार्यक्रम। तर पत्रकार भेटघाटमा देखिएको दृश्य मौसमभन्दा पनि बढी धुम्म र चिसो बन्यो ।

‘परिवर्तन’को एजेन्डा बोकेको भनिएको नयाँ राजनीतिक दल, त्यसमा पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालयमा रहेर काम गरिसकेको दाबी गर्ने हाई–प्रोफाइल उम्मेदवार । पत्रकारहरूमा अपेक्षा थियो-नयाँ भनिएको दलका उम्मेदवारले भिन्न, स्पष्ट र जनमुखी एजेन्डासहित आफ्ना योजनाहरू प्रस्तुत गर्नेछन् र उठाइने जिज्ञासाहरूको सहज र तर्कपूर्ण जवाफ दिनेछन्।

कार्यक्रम सुरु हुन लागेपछि सानो हलमा पत्रकारहरूले क्यामेरा र रेकर्डरहरू तयार पारे । तर, पत्रकार भेटघाटका लागि तयार भएर बसेका लम्सालले आफू क्यामेरा र रेकर्डरमा नबोल्ने भन्दै ‘अफ द रेकर्ड’ छलफलको प्रस्ताव राखे । आफैँ पत्रकार बोलाउने र आफैँ क्यामेरामा नबोल्ने प्रस्ताव अस्वीकार्य ठहर गर्दै पत्रकारहरूले त्यसलाई अस्वीकार गरे । निर्वाचनको मुखमा जनताको मत माग्न हिँडेका उम्मेदवारले आफ्ना योजना जनतासम्म पुर्‍याउनुपर्नेमा अभिलेख नराखिने गरी बोल्ने प्रस्तावले पत्रकारहरूलाई अचम्मित बनायो।

पत्रकार भेटघाट अफ द रेकर्ड नहुने स्पष्ट भएपछि लम्साल क्यामेरा सामु त आए, तर उनको प्रस्तुतिमा आत्मविश्वासको कमी स्पष्ट देखियो। आफैँ पत्रकार बोलाउने, तर जनतासामु बोल्न नचाहने प्रस्ताव पत्रकारहरूले अस्वीकार गरे। चुनावको मुखमा मत माग्दै हिँडेको उम्मेदवारले आफ्ना योजना अभिलेखमै नबसोस् भन्ने चाहना देखाउनु ‘नयाँ राजनीति’को कुन पाठ्यक्रममा पर्छ भन्ने प्रश्न उठ्यो।

रास्वपाले लम्साललाई बौद्धिक र अनुभवी उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेको छ । उनी स्वयं पनि बालेन साहको सचिवालयमा बसेर काम गरेको अनुभवलाई आफ्नो मुख्य योग्यता बनाउँदै आएका छन् । तर, अफ द रेकर्ड अस्वीकार भएपछि लम्साल क्यामेरासामु त आए, तर आत्मविश्वास भने कतै हराएको देखियो। जब पत्रकारका प्रश्नहरू तेर्सिन थाले, उनको प्रोफाइल क्रमशः फिक्का देखिन थाल्यो।

पत्रकारहरूको प्रश्न थियो- “तपाईंको उम्मेदवारी किन ? रुपन्देही–१ को समृद्धिका लागि तपाईंका ठोस योजना के-के हुन् ?” जवाफमा लम्सालले शिक्षा, स्वास्थ्य र कृषिमा समस्या रहेको स्वीकार त गरे, तर ती समस्या कसरी समाधान गर्ने भन्ने स्पष्ट दृष्टिकोण वा कार्ययोजनासहितको उत्तर दिन सकेनन्।

उनले अघि सारेका एजेन्डा र उत्तरहरू दशकौँदेखि नेपाली राजनीतिमा दोहोरिँदै आएका अमूर्त र घोकन्ते नाराभन्दा फरक देखिएनन् । बरु उनले बारम्बार एउटै कुरा दोहोर्‍याइरहे- “म बालेन साहको सचिवालयमा बसेको मान्छे हुँ, पार्टीले त्यसैकारण मलाई उम्मेदवार बनाएको हो।”

राजनीतिमा सुशासनको नारा लगाउन सजिलो भए पनि व्यवहारमा उतार्न कठिन हुने यथार्थबीच पत्रकारहरूले रास्वपाको नीति र नेतृत्वबारे पनि प्रश्न उठाए। एक प्रश्न थियो- “सुशासनको कुरा गर्ने बालेन साहले विवादित व्यापारी कमल किशोर मालपानीको गाडी प्रयोग गरेको विषयलाई तपाईं कसरी हेर्नुहुन्छ रु के यो सुशासनकै पाटो हो ?”

अर्को प्रश्न थियो- “प्रदेशसभा सदस्य र राष्ट्रियसभा चुनावमा भोट नहाल्ने आह्वान गर्ने तथा मेयर हुँदा संघीयताको विरोध गर्ने साहले अहिले झापा र जनकपुर पुगेर संघीयता बलियो बनाउनुपर्छ भन्नु अवसरवाद होइन ? यसमा पार्टीको आधिकारिक धारणा के हो ?”

यी प्रश्नहरू सुन्नासाथ लम्सालको अनुहारको भाव फेरियो । गम्भीर राजनीतिक प्रश्नहरूमा उनले ‘पार्टीको विधान हेर्नुस्’ वा ‘उहाँ सुशासनकै पक्षमा हुनुहुन्छ’ जस्ता टालटुले जवाफ दिएर पन्छिन खोजे । थप प्रश्नहरू आउन थालेपछि उनले कार्यक्रम समापनको घोषणा गर्दै हतार–हतार हल छोडे।

उम्मेदवार बाहिरिएपछि पनि माहौल चिसिएको थिएन । भित्र अनुत्तरित रहेका पत्रकारहरूले बाहिर थप जिज्ञासा राख्न खोज्दा लम्सालले ‘अहिले बोल्न मिल्दैन’ भन्दै पन्छिए।

यसै क्रममा उम्मेदवारका राजनीतिक सल्लाहकार भनिएका आशिस सुवेदीले पत्रकारहरूलाई “तपाईंहरू पुरानो माइन्डसेटबाट निर्देशित हुनुहुन्छ” भनेर पाठ पढाए। तर, प्रश्न सोध्नु ‘पुरानो सोच’ भए जस्तै नयाँ राजनीति भने शायद प्रश्नबाट भाग्नु हो भन्ने सन्देश यस टिप्पणीले दियो।

आफैँले बोलाएर बोलचाल गर्न आएका पत्रकारहरूलाई ‘पुरानो सोच’को ट्याग लगाएपछि पत्रकारहरू आक्रोशित बने । नयाँ शक्ति भनेर आएका दलहरूले प्रश्नको सामना गर्न नसक्ने र उल्टै प्रश्न सोध्नेलाई नै पाठ पढाउने प्रवृत्तिले वातावरण थप तनावपूर्ण बन्यो।

केहीबेर चलेको भनाभनपछि रास्वपा जिल्ला सचिवालय सदस्य तथा लम्सालका सचिवालय सदस्य मधु अर्यालले हस्तक्षेप गर्दै माहौल शान्त पार्ने प्रयास गरे ।

‘जान्नेलाई छान्ने’ नारा दिएर चुनावमा होमिएको दलका उम्मेदवार नै प्रश्नबाट भाग्न खोज्नुले गहिरो आशंका जन्माएको छ । नयाँ भनिएका दलहरूले जनताको विश्वास जित्न केवल चर्चित नाम र प्रचारले मात्र पुग्दैन । प्रश्न सामना गर्ने धैर्यता, स्पष्ट योजना र राजनीतिक परिपक्वता अपरिहार्य हुन्छ ।

तर, पत्रकार भेटघाटमा देखिएको प्रस्तुतिले रास्वपाका उम्मेदवार र उनको सचिवालयको अपरिपक्वता र असहजतालाई छर्लङ्ग पारेको छ । नयाँ राजनीतिको दाबी गर्नेहरूका लागि यो घटना आफैँमा गम्भीर चेतावनी बनेर उभिएको छ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ७ : ४१ बजे

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको