१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी



काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् ।

गोरखपत्र संस्थानले आज यहाँ आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उनले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न आग्रह गरे । उनले तोकिएको मिति र समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आह्वान गरे । सञ्चारकर्मीले निष्ठापूर्वक भूमिका निर्वाह गरिरहेकाले निर्वाचन हुने वातावरण बनेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।

“सुशासनका लागि पनि निर्वाचन हुनुपर्छ, निर्वाचनले पाँच वर्षसम्म सुशासन कायम गर्ने अख्तियारी दिनेछ । निर्वाचन आचारसंहिता लागू भइरहेको छ, आचारसंहिता उल्लङ्घन भयो, भनी धेरै उजुरी आएका छन्, त्यसमा छानबिन गरेर निर्णयमा पुग्छौँ । सूचना सम्प्रेषण पनि आचारसंहिताभित्र बसेर गर्नुपर्छ, आचारसंहिता अनुसार मत सर्वेक्षण गर्न पाइँदैन, मत सर्वेक्षणका नाममा निर्वाचनअघि यसले जित्छ र उसले हार्छ भनेर लेख्दा जित्नेले हार्ने र हार्नेले जित्ने अवस्था आउने देखिएकाले यसो गर्नुहुँदैन”, उनले भने ।

प्रतिष्ठित व्यक्ति स्वयं संविधानको धारा १९ ले अधिकार दिएको भन्दै मत सर्वेक्षणमा लागेकाले सर्वोच्च अदालतबाट यसअघि यस्तै विषयमा भएको व्याख्या र विश्लेषण हेर्न पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले ध्यानाकर्षण गराए । निर्वाचन पर्यवेक्षकले गर्ने पर्यवेक्षणका विषयमा पनि समाचार सङ्कलन गर्न उनले सञ्चारकर्मीलाई आह्वान गरे ।

फागुन २१ गते हुन लागेको निर्वाचन शताब्दीकै पेचिलो भए पनि यसलाई आयोगले सहज रूपमा सम्पन्न गर्न लागेको उनले जानकारी दिए । चलायमान अवस्थाबाट भाँडिएको देशलाई पुनः चलायमान बनाउन पनि निर्वाचन आवश्यक रहेकामा उनले जोड दिए ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै नागरिक मतदानका लागि जाने र यसअघिको निर्वाचनमा भन्दा बढी प्रतिशत मतदान हुने गरी सञ्चारमाध्यमले मतदाता शिक्षा दिइरहेकाले त्यसलाई अबको एक हप्ता तीव्र बनाइनुपर्नेमा जोड दिए।

विसं २०७९ को निर्वाचनमाभन्दा बढी प्रतिशत मतदान भयो भने सफल भएको मानिने उनको भनाइ छ । गोरखापत्रले ४६ भाषामा समाचार सामग्री प्रकाशन गरिरहेकाले ती सबै भाषामा निर्वाचनसम्बन्धी मतदाता शिक्षाका सामग्री राख्नुपर्नेमा पनि प्रवक्ता भट्टराईले जोड दिए ।

अभिमुखीकरणमा आयोगका सहसचिव राजेन्द्रकुमार केसीले निर्वाचन प्रचारप्रसार मतदाता शिक्षासम्बन्धी प्रस्तुतीकरण दिएका थिए । बढी साक्षर भएको प्रदेशमा मत सदर प्रतिशत बढी हुने गरेको र कम साक्षरता प्रतिशत भएका प्रदेशमा मत बदर बढी हुने गरेकाले यसतर्फ सरोकार भएका निकायले बेलैमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ४ : २७ बजे

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार

विष्णु पौडेलको प्रतिवद्धताले मतदाता आर्कषण, पूरा योजना पूरा गरी नयाँ कार्यान्वयनमा लैजान आग्रह

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नं २ बाट उम्मेदवार